Engineeer Khabar

एउटा इन्जिनियरको डोल्पा यात्रा

0

ई. खिमानन्द कडेल, 
कर्णाली अञ्चलको पहिलो यात्राको रुपमा नेपालकै सवैभन्दा ठुलो जिल्ला डोल्पाको भ्रमणमा म २०६३ असोजमा जाने मौका पाएँ । हिँडेर जानु भनेको धेरै गारो कुरा रहेछ त्यहाँ । यातायातको भरपर्दो साधन भनेको नेपाल वायु सेवा निगम र यती एअरलाईन्सका पूराना जहाज त कहिलेकाही पूराना मोडलका रसियन हेलिकप्टरहरु उड्दा रहेछन् त्यो पनि केवल पैशा हुनेहरुको लागि मात्र । म पनि एउटा प्राविधिकको नाताले त्यहाँ जाने अवसर पाएँ नत्र सल्यानको सल्लीवजारवाट हिँडेर जानु पर्दो रहेछ । सल्यानवाट रुकुम र जाजरकोट जिल्ला पार गरेर ठुली भेरी नदीको किनारै किनार हिड्यो भने वल्ल वल्ल चार पाँच दिनमा जिल्लाको सदरमुकाम दुनै पुगिनेरहेछ । माथिल्लो डोल्पा त कति दिनमा पुगिन्छ त्यसको कुरा नै नगरौ्र । तीन चार दिनको कठोर यात्रा गरे पछि मात्र उपल्लो डोल्पा पुगिन्छ भन्ने सुनियो र त्यो त आफ्नो लागि सम्भव पनि थिएन । दुनैमा र जुफालमा केही पर्यटकहरु पनि देखिए तर निकै कम मात्र ।

मेरो कल्पनामा डोल्पा एउटा नितान्त हिमाली जिल्ला हो जस्तो लागेको थियो र सोचेको थिएँ त्यहाँ केवल भोटे र शेर्पाहरुको मात्र वस्ती छ भनेर । तर म जव पहिलो पटक हेलिकप्टरवाट दुनैमा ओर्लिएँ , त्यहाँ नितान्त भिन्न प्रकारका अनुहार देखिए र भोटे र शेर्पा झण्डै देखिएनन् भन्दा पनि हुन्छ । हेलिकप्टरवाट झर्दा देखिएका दृष्यले सारै रमाइलो र खेतीयोग्य भूमिका फाँट जस्ता देखिएका दृष्यहरुमा झरेपछि यथार्थता पाइएन । तर आफ्नै गतिमा चीसो हावा र कलकल गर्दै वगेको ठुली भेरी नदीले भने सवैको मन तान्दो रहेछ । हेलिकप्टर पनि नदीको वगरमा अवतरण गरिदोरहेछ । हामी त्यसपछि ठुली भेरी नदी तरेर दुनै वजार तिर लाग्यौं । नदीको किनारामा कतै कतै ठुला ठुला रुखहरु देखिएपनि सयौ मिटर माथि सम्मको पहाडमा पनि कतै हरियाली देखिएन । घाँस पनि जवरजस्ती पलाएको जस्तो भान हुन्थ्यो ।

हिमाली जिल्ला भएकोले पक्कै पनि हिउँ त धेरै नै देख्न पाईएला जस्तो लागेको थियो तर हामी दुनैको खोचमा परेर होला शुरुमा त हिमाल पनि देखिएनन् तर यसो पूर्वी कुनामा एउटा हिमाल र पश्चिमतिर मुश्किलले एउटा दुईटा हिमाल देखियो । विशेष गरेर माघ महिना पछि जुफाल वरपर सम्म नै हिउँ हुन कुरा स्थानीय मानिसहरुवाट सुनियो । नेपालगंजमा एक दुई दिनको पर्खाई पछि वल्लतल्ल डोल्पा आउन सफल भएका थियौं । त्यस पछि हामी सरासर ध्ध्ँ को डोल्पा स्थित एन एम सी पीको कार्यालयमा गएर केही छिन वस्यौं । त्यसपछि हामी खाजा खानको लागि वजार तिर निस्कियौं । खाजाहरुमा चाउमिन तथा ममहरु वढी चल्दो रहेछ । विस्तारै चीसो पनि वढ्दै थियो र हामीले पनि टन्न पेट भरिने गरी म म खायौं ।

हतारहतारमा हेलिकप्टर उड्ने अगाडि केही कुखुराको मासु वोकेर हिँडेकाले तरकारीको सोच वनाएका थिएनौं । खाजा खाने क्रममा नै मासु सकिएपछि दालसंग मात्र खान खानु पर्यो ताकी त्यहाँ तरकारी खासै किन्न पाइँदो रहेनछ । यसरी पहिलो दिनमा नै त्यहाँको जीवनका समस्याको वारेमा सहजै अनुमान लगाउन सकियो । पहिलो पटकको डोल्पा यात्रा नयाँ स्थान र साथीहरु , जे होस पहिलो दिन यसरी नै वित्यो ।

आफ्नो मुख्य काम भेरी नदी भन्दा पारीको त्रिपुराकोट गाउँमा वत्ती पुर्याउनु भएकोले भोलिपल्ट विहानै उठेर हामी जुफाल नजिकैको मोतिपुर गाउँतिर लाग्यौं । झण्डै डेढ घण्टाको तेर्सो वाटो हिँडेपछि जुफालको उकालो शुरु हुने रहेछ र हामी रमाईलो गर्दै केही समय पछि मोतिपुरमा पुग्यौं । सदरमुकाम दुनैवाट जुफालसम्म मोटर गुड्न सक्ने खालको कच्ची सडक वनाईएको रहेछ र विजुलीको पोल पनि दुनै वाट जुफालसम्म नै गएका रहेछन् । दुनैको जैरीघाटमा निकालिएको साना जलविद्युत आयोजनाले दुनै लगायत जुफालको सम्पूर्ण क्षेत्रलाई विजुली पुर्याएको रहेछ । झण्डै २०० किलोवाट क्षमताको आयोजनामा दुईटा मध्य एउटा टर्वाइन मात्र चल्दा पनि विजुली अझै वचेको जानकारी जिल्ला स्थित प्राविधिकवाट वुझियो । त्यसवाट त्यो क्षेत्रमा खासै उद्योग धन्दा नभएको् सहजै अनुमान गर्न सकिन्थ्यो ।

Dolpa Airport
तस्बिर: जुफाल एअरपोर्टमा यात्रुहरु ओर्लदै

 

उकालो चढ्दै जाँदा वारी पारी विभिन्न स्थानहरुमा झुप्प झुप्प वस्तीहरु देखिन थाले र अलि माथि डाँडाहरुमा वनजंगल पनि देखिए । आकाशवाट हेर्दा देखिने सुन्दर फाँटहरु केवल निर्जर मरुभुमि नै रहेछन् र त्यहाँ खासै खेती हुन सक्ने सम्भावना देखिएन । हामी मोतीपुरको वाविरो प्रा विको पांगडमा पुग्यौं र त्यहाँवाट हामी जानुपर्ने गाउँहरु राम्रो संग देखिन्थे । हेर्दा नजिकै देखिए पनि गाउँहरु पुग्न चाहीँ नदी तरेर जानुपर्ने भएकोले टाढै थियो । त्यहाँवाट वल्ल वरीपरीका वस्ती र वनजंगल अनि पुछारमा वगिरहेको नदीले हामीलाई आनन्दित तुल्यायो । हामी गाउँमा आउने पक्का भएपछि हामीलाई काममा सघाउनको लागि दुई जना युवाहरु हामीहरु भएको स्थानमा आईसकेका रहेछन् । एकछिन त्यहाँका प्रावि शिक्षकसंग कुराकानी गरियो र थकाई मारियो ।

यत्तिकैमा एकजना सानो वालकले घाँटीमा वुढावुढीले लगाउने जस्तो माला लगाएर कक्षा कोठा वाहिर जाँदै थिए र त्यहाँ विद्यार्थी कक्षा कोठा वाट वाहिर जाने क्रममा यस्तो माला लगाउने चलन रहेछ । धेरै जसो विद्यार्थीको खुट्टामा चप्पल थिएनन् जुत्ताको त कुरै छोडौं ।

वाविरो प्रावि वाट नै हाम्रो काम शुरु हुने भएकोले हामीले सर्वेको कामलाई त्यहाँवाट शुरु गर्यौ । ठुली भेरी नदीको किनारा सम्म पुग्यौं । त्यहाँवाट पारी तर्नको लागि पुल नभएकोले हामी पुनः फर्केर पुरानै वाटो फर्कियौं । विकट स्थान भएकोले जहाँ पायो त्यही खाना खान पाइने त संभावना नै थिएन । विस्तारै हावा चल्न थाल्यो । हावा पनि निकै जोड संग चल्दो रहेछ । दिउसो मध्यान्ह घाम पछि विशेष रुपमा हावा चल्नु त्यहाँको सामान्य प्रकृया नै रहेछ ।

गाउँवाटै आएका ठीटाहरुले विहानै सुक्का रोटी , तरकारी , अण्डा र स्याउ गरेर खानाको वन्दोवस्त साथ त्यहाँ आएका रहेछन् । थकाई पनि लागि सकेकोले मस्त संग खाना खायौं । खानामा छट्टै आनन्द थियो । त्यो भन्दा पनि वढी त्यो खानामा गरिएको मेहनत र त्यो पनि दुई तीन घण्टा टाढाको गाउँवाट तयार गरेर ल्याएको खाना थियो । हामी एउटा झोलुगें पुल तरेर। ठुली भेरी नदीको दायाँ किनारातिर लाग्यौं । हावा जोड संग चलिरहेको थियो ।

ठूली भेरी नदीको किनारमा मध्यान्हको चर्को हावाका वीच

कतिपय स्थानमा वालुवा मात्र भएकोले हिड्न गारो पर्दथ्यो । खोला पारीवाट सम्मो नै जस्तो लागे पनि वास्तविकता फरक रहेछ । हामीले उकालो पहाड कटाएर गाउँमा वत्ती लानु थियो । विस्तारै विस्तारै हामी उकालो चढ्दै गयौं र त्यहाँ रुखको नाम निशाना थिएन र घाँस पनि सुकिसकेको थियो । त्यहाँवाट चिप्लियो भने झण्डै वाँच्ने आशा कमै हुन्थ्यो र पनि हामी विस्तारै भीरमा काम गर्दै उकालो चढ्यौ्र । एक जना प्राविधिक साथी भरत वहादुर ढकाल मोटो भएकोले खासै हिड्न सक्नुभएन र म उहाँलाई साथ दिँदै उहाँको पछि पछि हिँडे । वल्ल तल्ल उकालो चढेपछि ठूला ठूला रुखहरुको किनारामा अति वाक्लो वस्ती नै रुम भन्ने गाउँ रहेछ । त्यहाँ धेरै गाउँलेहरुले हाम्रो प्रतिक्षा गरिरहेका थिए र यसोे गरेर हामीले पहिलो दिनको चूनौतीपूर्ण काम सकायौं ।

डोल्पाको समग्र भु वनोटलाई हेर्यो भने एक प्रकारको मरुभुमि जस्तो लाग्दछ र यो गाउँ भने नितान्त फरक रहेछ । डोल्पामा यति ठुला गोलाईका रुखहरु होलान् भनेर सामान्य मानिसले कल्पना पनि गर्न सक्दैन । डोल्पा नपुगेका मानिसले त अनुमानको भरमा भन्न सक्लान , साँच्चिकै जुफाल एअरपोर्ट झरेर जो कोहीले पनि दुनै सम्म झर्यो भने यस्ता सुन्दर ठाउँहरु होलान् भनेर भन्न सक्दैन । हामीले रुमलाई सारै राम्रो र जोडेर वनाईएका सुन्दर गाउँको रुपमा लियौं ।

त्यहाँ भएका कुनै पनि ठूला रुखहरुलाई काट्यो भने भगवान रिसाउने र सम्पूर्ण गाउँको नै विचल्ली हुने भन्ने परम्परागत मान्यता त्यहाँ रहेछ । झण्डै ४०, ५० वटा जति सल्लाका रुखले साँच्चिकै त्यो गाउँलाई सुन्दर वनाएका रहेछन् ।

सर्वेको उक्त दिनको काम सकेर हामी त्यही गाउँमा वास वस्ने पक्का भयो । हाम्रो अध्ययन टोली ८ , १० जनाको भएकोले दुईवटा घरहरुमा हामीलाई सुत्ने वन्दोवस्त मिलाईएको रहेछ । दिनभरको कडा कामले हामी थकित भएका थियौं र वेलुका गाउँलेले वनाएको मीठो खाना खाएर हामी सुत्न तिर लाग्यौं । डोल्पा चीसो ठाउँ भएर पनि होला , झिंगाहरु किचनमा प्रशस्त मात्रामा हुँदा रहेछन् र सफा नै भए झिंगाको कमी हुँदो रहेनछ । झिंगा देखि घीन मान्ने मान्छे डोल्पा गएर काम गर्न नसक्ने नै रहेछ र ती झिंगाको प्रवाह नगरी पेटभरी खाना खानुमा भने सारै नै मजा रहेछ । विशेष गरेर चीसोले गर्दा पनि होला खाना नमीठो होला त भन्नु नै पर्दोरहेनछ । ती घरहरुको वनोटमा पनि आफ्नै कथा लुकेको स्पष्ट हुन्थ्यो । घरहरु ढुंगा र माटोका गारोले वनाईएका हुँदा रहेछन् र अनौठो र नयापन चाही घरका छानाहरुमा देखियो । काठको सिलिङ् भन्दा माथि ढुंगा विशेष गरेर एक फिट जति माटोको ढिस्कोले छानो पुरिँदो रहेछ । घरहरु एक आपसमा जोडिएका नै हुन्थे र अति वाक्लो वस्ती यहाँको प्रमुख विशेषताको रुपमा पाईयो ।

डोल्पा
तस्बिर: त्रिपुराकोटको सुन्दर रुम गाउँ ठूला ठूला रुख , वाक्लो वस्ती र हरियालीको साथमा

यस्ता घरहरु वन्नुमा स्पष्ट रुपमा वैज्ञानिक आधारहरु भएको प्रष्ट हुन्थ्यो । वेला वेलामा वर्षेनी हिउँ परिरहने भएकोले घरहरु वाक्ला हुन्थे ताकी एक घरमा वालेको आगोले अरु घरहरुलाई पनि तताउने काम गरोस, छानाहरु माटोका सम्मो परेका हुन्थे ताकी यसलाई आगनको रुपमा पनि प्रयोग गर्न सकियोस र हिउँ परेपनि सजिलै संग हटाउन सकियोस् । पक्कैपनि हामी जती उचाई तर्फ जान्छौं त्यहाँ वाक्ला घरहरु हुने कुरामा शंका रहेन ।

वाल्यकालमा डोल्पा भनेपछि पक्कैपनि भोटे र शेर्पाहरुको वाहुल्यता रहेको जिल्ला हो जस्तो लागेको थियो र जिल्ला भरी नै उनीहरुको वाहुल्यता होला जस्तो लागेको थियो । तर हामी गएका गाउँमा कतै पनि भाटे र शेर्पाहरु हामीले भेटेनौं । त्यहाँ मिश्रित प्रकारको नमुना पहाडी समाज हामीले पायौं ।

अर्को दिन विहान स्थानीय जनतासंग आयोजनाको वारेमा छलफल गर्यौ । उक्त गाउँमा विजुली पुर्याउने हाम्रो प्रमुख उद्देश्य भएकोले हामीले आयोजनाको प्राविधिक पक्ष र यसका फाईदा वेफाईदाको वारेमा गाउँलेहरुसंग छलफल गर्यौ । गाउँलेहरु विकास प्रति अत्यन्त सकरात्मक भएको सहजै अनुमान गर्न सकिन्थ्यो । वैठक सकिएपछि मधु गाउँ तर्र्फ हामी अगागि वढ्यौं । यो गाउँमा पनि मोतिपुर वाट तानिने विद्युत प्रसारण लाईनवाट वत्ती वाल्ने हाम्रो योजना थियो । हाम्रा एकजना स्थानीय कर्मचारी रणवहादुर को घरमा खाना खाएर हामी अर्को आयोजना स्थलतिर लाग्यौं ।

 

दिउसोको समय थियो । डोल्पामा प्रशस्त हावा चल्ने रहेछ विशेष गरेर १२ , १ वजे पछिको समयमा । त्यसैले गाउँलेहरुले विहान सवेरै उठेर खेतीपातीको काम गर्दा रहेछन् । रुखविरुवाहरु झण्डै नभएका नांगा डाँडाहरुमाहावा चलेपछि धुलोको त कुरै नगरौं । त्यो दिन हामी वगरमा पुग्यौं र वास पनि त्यहीँ भयो ।

तस्बिर: त्रिपराकोटवाट उत्तर पश्चिममा देखिएका सुन्दर हिमालको दृष्य

नेपालकै प्रमुख शक्तिपीठको रुपमा मानिने त्रिपुरासुन्दरी मन्दिरको नजिकमा हामी वसेका थियौं र भोलि विहान नै मन्दिरको दर्शन गरेर काम शुरु गर्ने हामीले सल्लाह गर्यौ । अति सुन्दर र ढिस्को भएको स्थानमा मन्दिर वनाईएको रहेछ । जव हामी मन्दिर नजिकै पुग्यौं एक जना सानो भाईले दमाहा वजाउन थाले । जो कुनै पनि नयाँ मान्छे र भक्तजन मन्दिरमा आएपछि दमाहा वजाउने चलन रहेछ । उक्त मन्दिरको दर्शनले आफूले चाहेको कुरा पूरा हुने विश्वास त्यहाँ रहेको पाईयो । सम्पूर्ण साथीहरु एक एक गरेर मन्दिरको दर्शन गर्यौ र पुजारीको आर्शिवाद दिने तरिका भने वढो गजवको रहेछ । दर्शालुको नामै पढेर रमाईलो तरिकाले आशिर्वाद दिँदारहेछन् । जिन्दगीमा मैले कहिले पनि मन्दिरमा पैसा चढाएको थिईन र यसपाली भने मैले केही पैसा चढाएँ र त्यो पनि पुजारीको आशिर्वाद दिने तरिकाले ताने जस्तो लाग्यो ।

यो मन्दिरको छुट्टै विशेषता रहेछ । जिल्लामा आउने झण्डै सम्पूर्ण कर्मचारीले सरुवा हुँदा वा सरुवा होस भनेर यो मन्दिरको अनिवार्य दर्शन गर्दा रहेछन् । शक्तिपीठ भएको नाताले यहाँ चाड वाडको अवसरमा जनावरहरुको वली दिने प्रथा कायमै रहेछ । वेला वेलामा समाजका ठुला ठालु भनाउँदा मानिसहरु यहाँ आएर आशिर्वाद लिँदा रहेछन् भन्ने कुरा हामीले त्यहाँको यात्रावाट थाहा पायौं ।

हामी भन्दा पहिले डोल्पा पुगेका एक जना साथी भरत थिए । उहाँले पनि हामीलाई मज्जाले हसाउनु भयो । पहिलो यात्रामा त मैले मन्दिरको दर्शन गरेको थिईन तर यसपाली पनि फेरी यहाँ आउनमा पक्कै पनि मन्दिरले ताने जस्तो लाग्यो मलाई भने उहाँले भन्दै हुनुहुन्थ्यो ।

त्रिपुराकोट डोल्पा जिल्लाका सुगम ठाउँ मध्यमा पर्दोरहेछ । ठूली भेरी नदीको किनारमा र सदरमुकाम दुनैवाट नजिकैमा पर्ने भएकोले नजिकैका जिल्लावाट पनि मानिसहरु यही गाउँको वाटो भएर दुनैतिर जाँदा रहेछन् । रुकुम तथा जाजरकोटवाट भरियाहरु भारी वोकेर आउने तथा खच्चडहरुले नियमित जसो ओहोरदोहोर गर्ने यहाँको अर्को विशेषता रहेछ ।

नदीको किनारको दायाँ भागमा अवस्थित यस गाविसको वगर भन्ने गाउँमा धान फल्ने खेत नै रहेछ । वर्षको तीन वाली राम्रो संग खेती हुने यो ठाउँ धेरैजसोको लागि महत्वपूर्णं ठाउँ रहेछ । सिंचाईको पनि व्यवस्था भएकोले सुख्खा याममा पनि खेतका गराहरुमा पानी लगाईएको दृष्य स्पष्ट देख्न सकिन्थ्यो ।

यहाँका मानिसको कृषि प्रमुख व्यवसाय हो । गाई वस्तु , भेडा वाखा्र पाल्नु तथा खेतीपातीमा निर्भर रहनु यहाँको दिनचर्या जस्तै हुन्छ । हिमाली भेगमा जडीवुटीको प्रशस्त संभावना भएको हुनाले वैशाख जेठ जस्तो गर्मी समयमा गाउँका वलिया र अनुभवी युवाहरु अग्ला अग्ला पहाडमा यार्सागुम्वा टिप्नको लागि जाँदारहेछन् । यार्सागुम्वाको अन्र्तराष्टिय वजारमा राम्रो मुल्य भएकोले यहाँको मानिसको यो सामान्य आयको माध्यम पनि रहेछ । यसरी टिपेको यार्सागुम्वा तिव्वती व्यापारीहरु मार्फत चीनतिर जाने गर्दो रहेछ । यार्सागुम्वा झण्डै ४००० मिटर भन्दा माथिका पहाडहरुमा मात्र पाईने भएकोले थुप्रै चुनौतीहरुलाई स्वीकार्दै त्यहाँ जानुपर्ने रहेछ । धेरै अग्ला हिमालमा अक्सिजनको कमी हुने भएकोले कतिपय मानिसलाई लेक लाग्ने संभावना हुँदोरहेछ । लगातार हिउँ परिरहने र गर्मी यामका एक दुई महिना मात्र हिउँ पग्लने भएकोले यस्ता पहाडहरुमा रुखहरु हुँदैनन् भन्दा पनि हुन्छ । त्यो वाहेक अप्ठेरा भीरहरु हुँदै यात्रा गर्दा कहिलेकाही ज्यानै गुमाउने सम्मका घटनाहरु पनि हुने गर्दा रहेछन् ।

माथिल्लो भेगमा वस्ने मानिसको जंगली जनावरहरुको अवैध चोरी शिकारी गर्ने अर्को पेशा नै हुँदो रहेछ । त्रिपुराकोटको कम उचाइको गाउँ भएकोले यस्ता कृयाकलापहरु खासै नभएपनि माथिल्लो भेगमा वस्ने मानिसहरुले कस्तुरी , मृग र नाउर जस्ता जनावरहरुलाई मारेर तिनीहरुको हाड , छाला आदि बहुमुल्य चीजहरु वेच्ने सामान्य कुरा रहेछ । हामी पुगेको गाउँ भन्दा माथि भीरहरुमा प्रशस्त नाउरहरु पाईने स्थानीय वासिन्दाहरुले वताईरहेका थिए ।

विकासको दृष्टिकोणले हेर्ने हो भने डोल्पा अत्यन्त पछाडि छ । जुफाल विमानस्थल र जैरीघाट साना जलविद्युत आयोजना वाहेक अन्य अर्थपूर्ण भौतिक संरचनाहरु हामीले केही पनि पाएनौं । जुफाल विमानस्थल पनि अत्यन्त दयनीय अवस्थामा छ र गा्रभेल मात्र गरिएको अवस्थामा देखिन्छ । जैरीघाट साना जलविद्युत आयोजनाले भने जिल्ला सदरमुकाम र जुफाललाई विद्युत आपूतिं गरिरहेको छ ।

डोल्पाको विकास किन हुन सकिरहेको छैन भनेर अव अध्ययन गर्नु जरुरी भएको छ । विकासको नाममा यहाँ कैयन सरकारी तथा गैरसरकारी संस्थावाट पहलहरु भएका छन् । तर यस्ता पहलहरुलाई एकीकृत अभियानको रुपमा अगाडि लैजानु पर्दछ । शिक्षा , स्वास्थ्य र खानेपानी वाहेकका अन्य विकास अभियानमा राष्द्रको नै स्पष्ट नीति आवश्यक छ ।

सर्व प्रथम मोटरवाटोलाई कुनै पनि हालतमा डोल्पाको् दुनै सम्म पुर्याउनु पर्दछ । ठूली भेरी नदी को किनारै किनार भएर यहाँ मोटरवाटो ल्याउन संभव छ र सरकारी स्तरमा पनि यहाँ सामान्य अध्ययन नभएका भने होईनन् । सडकको अभावमा यहाँको वाहिरी दुनियाँ संग सम्पर्क हुन सकेको छैन र हामीले जती कुरा गरे पनि यहाँका संभावनाहरु आझेलमा परेका छन् । एक वोरा सिमेन्टलाई डोल्पाको सुगम गाउँमा पुर्याउनको लागि झण्डै चार देखि छ हजार जति पर्छ जवकी नेपालमा पाईने कुनै पनि महंगो एक वोरा सिमेन्टलाई चार पाँच सयमा किन्न सकिन्छ । एक जना मानिस नेपालगंजवाट त्यहाँ पुग्नको लागि झण्डै पाँचहजार लाग्छ र यदी मोटर वाटो भएको भए पाँच सय जतीमा आनन्द संग पुग्न सकिन्थ्यो । भाडाको त कुरै नगरौं , महंगो मुल्य तिरेर नेपालगंज सम्म जानको लागि पनि कहिलेकाहीँ हप्तौं कुर्नु पर्दछ र कति विरामीले यहाँको एअरपोर्टमा नै आफ्नो जीवन गुमाएका छन् । यसको मुल्य त्यहाँका जनतालाई कति होला भन्ने वुझ्न नयाँ कोही पनि अनुहार एक दुई पटक डोल्पा पुगे पछि स्पष्ट हुन्छ ।

म आफ्नो दोश्रो यात्राको क्रममा मधु गाउँमा जाँदै थिएँ । वाटोमा स्थानीय स्कूल पर्ने भएकोले थुप्रै विद्यार्थीहरु विद्यालय जाँदै थिए । यत्तिकैमा एकजना ८, १० वर्षे वालक केही भेडा र वाख्रा लिएर चराउन हिँडेका रहेछन् । मैले उक्त वालकसंग कुरा गर्दा चाल पाईहालेकी भेडा र वाख्राको भरी पेट हुनु नै उनको लागि आनन्द थियो । दौरा , सुरुवाल , टोपी अनी हातमा सानो लठ्ठी थियो । भेडा , वाखा उनका साथी थिए र उनी कहिले पनि विद्यालयमा गएका रहनछन् । यस्ता वालवालिका डोल्पामा हामीले प्रशस्त भेट्न सक्छौं । त्यसैले यहाँको विकास गर्नको लागि यस्ता वालकको हातमा लठ्ठी हैन कापी र कलम हुनुपर्छ , भेडा र वाख्रा हैन रमाईला साथी हुनुपर्छ ।

समस्या आफैमा समस्या हैन र यसले समाधानको ढोकालाई खोलिदिन्छ । डोल्पामा संभावना नै नभएका चाहीँ हैनन् । नेपालकै सवैभन्दा ठूलो जिल्ला भएको र हिमाली भेगमा स्याउको लागि अनुकुल हावापानी भएकोले यो क्षेत्रमा स्याउ उत्पादनको प्रचुर संभावना रहेको छ । त्रिपुराकोटमा त खासै स्याउ देखिएनन् तर अन्य गाविस हरुमा प्रशस्त स्याउ हुने कुरा स्थानीय वासीवाट वुझ्न सकिन्थ्यो । सिजनमा प्रशस्त स्याउ फल्ने भएकोले मानिस साथ साथै जनावरले पनि स्याउ खाने स्थिति यहाँ रहेछ । वजारको संभावना नभएकोले यस्ता स्याउको अहिले केही पनि मुल्य छैन । तर जव यहाँ पक्की मोटरवाटो निर्माण गर्न सकिनेछ तव डोल्पाले नेपालकै अर्थतन्त्रमा राम्रो भूमिका खेल्ने निश्चित छ ।

पर्यटन व्यवसाय पनि यहाँको संभावनाको रुपमा रहेको छ । जुफाल एअरपोर्टमा केही पर्यटकहरुलाई दिनहुुुँ देख्न सकिन्छ । राजनैतिक अन्यौलताले र यातायातको कठिनाईले पर्यटकहरु यहाँ आउन रुचाउँदैनन् । भारत र चीनमा भएको आर्थिक परिवर्तनले राम्रो संग विकास गर्न सके यो क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटनको प्रचुर संभावना रहेको छ । पर्यटन संग सम्वन्धित दीर्घकालीन शोचका साथ डोल्पा जिल्लालाई हेरिनुपर्दछ र मोटरवाटोको निर्माण अभियानलाई छिटो भन्दा छिटो गरिनुपर्छ ।

Leave A Reply

Your email address will not be published.