Engineeer Khabar

एरोस्पेस इन्जिनियरिङ, अब बाट नेपालमै !!!

असार १९ गते www.entrance.ioe.edu.np मा प्रकाशित प्रवेश परिक्षा सम्बन्धी सूचना अनुसार,इन्जिनियरिंग अध्ययन संस्थानमा संचालित कार्य्रकमको सूचिको ११औ नम्बरमा एरोस्पेस इन्जिनियरिङ(प्रस्तावित)राखिएको सूचना अनुरुप नै यसै शैक्षिक शत्र २०७५/७६ देखि नेपालमै पहिलो पटक त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत इ.अ.सं.को केन्द्रीय क्याम्पस पुल्चोक क्याम्पसमा एरोस्पेस इन्जिनियरिङ कार्यक्रम शुरु हुने कुरा पक्का पक्कि भएको छ । अघिल्लो बिभिन्न चरणको छलफल पश्चात आज मिति (श्रावण २९) मा “शैक्षिक बर्ष ०७५/०७६ देखि स्नातक तहमा Aerospace Engineering कार्यक्रम संचालन गर्ने” बिषयमा बसेको क्याम्पस प्रशासन, विध्यार्थी संगठन एवम स्वतन्त्र बिद्यार्थी युनियनबिचको बैठकमा विध्यार्थी संगठन एवम स्वतन्त्र बिद्यार्थी युनियनलाई जानकारी गराउदै ४ बुदे छलफल तथा निर्णयहरु गरिएको, स्वतन्त्र बिद्यार्थी युनियन,पुल्चोकका सभापति रोसन थापा मगरले इन्जिनियरखबरलाई जानकारी गराए ।

स्रोतका अनुसार यसैबर्ष देखि पुल्चोक क्याम्पसमा मेकानिकल इन्जिनियरिङ अन्तर्गत एरोस्पेस इन्जिनियरिङको कार्यक्रमको सुरुवात गर्न लागिएको हो जसमा ४८ जना बिद्यार्थी संख्या हुनेछन । नेपालमा पछिल्लो क्रममा एरोस्पेस इन्जिनियरिङको माग समेत बढदै गएको हुनाले सोही माग पूर्ति गर्नको लागि यो कार्यक्रम संचालनमा ल्याइएको हो । साथै यसै आर्थिक वर्ष ०७५/०७६ भित्र Aerospace को कक्षा संचालनको लागि आवश्यक भवन निर्माण, भवनको नक्शा, डिजाइन र स्पेसिफिकेसन तयार गरि Tender प्रकृयामा जाने निर्णय गरिएको स्रोतले जनाएको छ । त्यस्तै गरि दोश्रो वर्षमा आवश्यक हुने ल्याब र ल्याब इक्युपमेन्टको ब्यवस्था २ वर्ष भित्र सम्पन्न गर्ने गरि सो कार्यको Tender प्रकृया तत्काल थालनी गर्ने भएको छ ।

पुल्चोक क्याम्पसमा मेकानिकल इन्जिनियरिङ अन्तर्गत एरोस्पेस इन्जिनियरिङ पढ्नको लागि निम्न बमोजिमको शुल्क प्रस्तावित गरिएको छ ।
चार बर्षको लागि :
नियमित तर्फ (Regular): साबिकको नियमित शुल्क + ३०,०००/-
पूर्णशुल्क तर्फ (Full-Pay Including Retention & Others) : ६,००,००० /- (छ लाख )


के हो एरोस्पेस इन्जिनियरिङ ?

एरोस्पेस, “एरो” अर्थात हवाइ र “स्पेस” अर्थात अन्तरिक्ष दुई शब्द मिलेर बनेको छ । यस एरोस्पेस इन्जिनियरिङमा हवाइ तथा अन्तरिक्ष सामाग्री निर्माण गर्ने बारे पढाई हुन्छ । एरोस्पेस इन्जिनियरिङ को बिशेषत दुईवटा जोडिने हाँगाहरु छन् : एरोनोटिकल र आस्ट्रोनोटिकल । विश्व भर हवाइ सामाग्रीको डिजाइन, निर्माण र उड्डयन प्रबिधि सम्बन्धि अध्ययन गराइने यस कार्यक्रमको धेरै नै माग हुँदै आएको छ जसको अध्ययन खर्च समेत निकै महङ्गो हुने गरेको पाइन्छ । बिशेषत: उडान भर्दा हवाई साधनमा पर्ने तापक्रम फेरबदल, बायु, वेग प्रवाह, स्टकचरल लोड लगायतको प्रभाव अध्ययन संग-संगै त्यसमा आवश्यक प्रविधिको समिश्रण सम्बन्धी पक्षहरुलाई पनि यस एरोस्पेस इन्जिनियरिङमा हेर्ने गरिन्छ ।

नेपालमा भने यस बिषय अहिले सम्म कतै पनि अध्यापन नभएको र प्रथम पटक अध्यापन हुन गईरहेको छ । बर्षेनी इन्डियन एम्बेसी, चाइनिज एम्बेसी लगायत अन्य छात्रवृत्तिहरुमा नेपाली बिधार्थीहरु एरोनोटिकल इन्जिनियरिंग पढ्न जाने क्रम बढ्दो छ । यसको अध्ययन पस्चात नेपालको बायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना तथा अन्य निजि कम्पनीमा राम्रो अवसर पाउन सकिने आंकलन गर्न सकिन्छ ।

इन्जिनियरिङ अध्ययन संस्थानले २०७५ सालको इन्जिनियरिङ प्रबेश परीक्षा यहि श्रावण १८ देखि श्रावण ३० गतेसम्म गराइरहेको छ जसको नतिजा बिगतको ट्रेन्ड हेर्दा एक हप्ता भित्र अर्थात भाद्रको पहिलो हप्तामा आउन सक्ने सम्भावना छ । नतिजा पश्चात,केन्द्रीय भर्नाप्रणाली अनुरुप भर्नाको तालिका प्रकाशित हुने र मेरिट अनुसार भर्ना प्रक्रिया अगाडी बढ्नेछ ।


तस्बिर: “श्रावण २९ गतेको बैठकको छलफल र निर्णय”, अनेरास्ववियु पुल्चोक क्याम्पस कमिटीका अध्यक्ष सौरभ प्रसाईबाट उपलब्ध |

Leave A Reply

Your email address will not be published.