Engineeer Khabar

संभावित नमूना हरियाली प्राकृतिक पर्यटकीय शहर “पूर्वी बागलुङ”

0

भाद्र ६, ललितपुर

(लेखक जल तथा ऊर्जा परामर्शदाता संघ नेपालका वर्तमान अध्यक्ष एवं विभिन्न सामाजिक अभियानहरुमा समेत संलग्न हुनुहन्छ । )
खिमानन्द कँडेल

मध्यपहाडी लोकमार्गको निर्माणले तीव्रता पाईरहँदा र यस सडकखण्डलाई प्रमुख प्राथमिकतामा राखेर नेपाल सरकारले भौतिक पूर्वाधार विकासलाई अगाडि बढाउँदै गर्दा पहाडी क्षेत्रमा नयाँ नयाँ शहरहरु बन्न सक्ने संभावनाहरु देखिँदैछन् ।

मध्यपहाडी लोकमार्ग खण्ड अन्र्तगत नेपाल सरकारले देशका विभिन्न दश स्थानहरुलाई नमूना शहर बनाउने कार्यक्रम अगाडि सारेतापनि मुलतः व्यापार व्यवसायको बढी संभावना र ब्यापक बसाई सराईृ भई बस्ती बिस्तार भएका केही स्थानहरुलाई मात्र नमूना शहरको रुपमा अगाडि सारेको देखिन्छ । नमूना शहर निर्माण गर्दा यसको लागि चाहिने प्रयाप्त उपयुक्त भूगोल, शहर निर्माणले ठूलो क्षेत्र र समुदायको आर्थिक विकासमा पार्ने व्यापक प्रभाव र पृथक पहिचान दिन सक्ने खालको शहर निर्माणमा खासै ध्यान दिएको देखिँदैन । मुलतः रणनीतिक व्यापारिक केन्द्रहरु र स्थानीय रुपमा बजार विस्तार हुँदै गएका क्षेत्रहरुलाई राजनीतिक शक्ति केन्द्रको प्रभाव र अनुकुलताको आधारमा नमूना शहरको रुपमा घोषणा गरिएको देखिन्छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत विश्वकै प्राकृतिक हरियाली पर्यटकीय शहरको रुपमा विकास गर्न सक्ने संभावित शहर हो पूर्वी बागलुङ उपत्यका । यस लेखमा पूर्वी बागलुङ उपत्यकालाई नमूना शहर बनाउन सकिने आधारहरुलाई चर्चा गर्ने प्रयास गरिएको छ ।

(१) पूर्वी बागलुङको कालीगण्डकी नदी देखि थामनेटासम्म झण्डै ३० किलोमिटर सडकखण्ड मध्यपहाडी लोकमार्गमा रहेको र संभवत आगामी एक वर्षभित्रमा सबै सडकखण्ड कालोपत्रे हुने अवस्थामा रहेको छ । यस सडकखण्डबाट पूर्वी बागलुङका अधिकांश गाउँ र बस्तीहरुमा सहायक सडकहरु समेत पुगिसकेका छन् ।

(२) पूर्वी बागलुङका साविकका ११ वटा गाविसहरु (हालको बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिका) हरुको बीचबाट झण्डै ६० किलोमिटर लामो सडकखण्ड गएको छ । यो सडकलाई व्यवस्थित गर्दा यस क्षेत्रको आर्थिक विकासमा यस चक्रपथले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

(३) यस उपत्यकाको उच्च पहाडी क्षेत्रमा झण्डै ७० किलोमिटर लामो सडकखण्डको ट्रयाक पनि धेरै छोटो र कम समयमा कम लागतमा खोल्न सकिन्छ । यस सडकखण्ड अन्र्तगत जैमुनी नगरपालिका र बरेङ गाउँपालिका,दक्षिण बागलुङ, गुल्मी हुँदै लुम्बिनी सम्म जोडिने रणनीतिक स्थानहरु बलेवा र गाजको दह क्षेत्र पर्दछन् । यसै गरी उत्तरी क्षेत्र अन्र्तगत म्याग्दी र मुस्ताङ जोड्ने रणनीतिक महत्वका बागलुङ बजार, ओखले र रिजालचोक पर्दछन् भने नेपालको पश्चिम क्षेत्र जोड्ने मध्यपहाडी लोकमार्ग यही उपत्यकाको पश्चिम भागमा पर्ने घोडावाँधे र थामनेटा क्षेत्रबाट गएको छ ।

(४) यो उपत्यकाले विस्तारै देश तथा विदेशका पर्यटकहरु आकर्षित गर्दैछ । यस उपत्यकाको पूर्वी क्षेत्रमा कालीगण्डकी नदी, प्रसिद्ध कालिका मन्दिर पूर्वी प्रवेशद्धारको रुपमा रहेका छन् । यसै गरी मुक्तिनाथ बाबाको नामबाट चिनिने स्वामी कमल नयन आचार्य ज्यूको पहलमा बनिरहेको सर्बसिद्धिधाम पञ्चकोटले यस क्षेत्रलार्ई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विश्वव्यापी परिचय दिन थालिसकेको छ । भकुण्डेको भ्यू टावर र बलेवा एअरपोर्टले पूर्वी क्षेत्रलाई सजाएका छन् ।

(५) पश्चिमी क्षेत्रमा सुन्दर शिवधुरी, घोडावाँधे र थामनेटा क्षेत्रबाट देखिने सुन्दर हिमालहरुको दृश्यले जो कोहीको पनि मन पगाल्न सक्छन् । यहाँ बरिपरी रहेका सुन्दर बस्तीहरु, जंगल, पश्चिममा गल्कोट नगरपालिका र पूर्वमा पूवी बागलुङ एवं पर्वत क्षेत्रको अवलोकन गर्ने स्थानको रुपमा यस क्षेत्रले परिचय बनाईसकेको छ ।

(६) दक्षिणी क्षेत्रमा गाजको धुरीको काखमा रहेको गाजको दह, सुन्दर गाजको धुरी, गाजदेखि भकुण्डेसम्मको उच्च पहाडी क्षेत्रबाट चारैतिर देखिने हिमशृंखला र मनोरम दृश्यहरु कम लोभ लाग्दा छैनन् ।

(७) उत्तरी क्षेत्रमा झुलेनीको धुरी ओखले, संसारकोट जस्ता सुन्दर प्राकृतिक थुम्काहरुले भविष्यमा करोडौं पर्यटकहरुलाई आकर्षण गर्नेछन् । यहाँबाट ताराखोला, म्याग्दी र मुस्ताङ एवं विशाल क्षेत्रको प्राकृतिक सुन्दरता अबलोकन गर्न सकिन्छ ।

(८) यस उपत्यकामा कालीगण्डकीको किनारा र सुन्दर पहाडहरुको शृंखलाबाट झण्डै १३० किलोमिटर चक्रपथको ट्रयाक झण्डै झण्डै सकिने क्रममा रहेको छ । बेनी, तातोपानी, धम्जा, रिजालचोक, गाजदह, बरेङ, पुर्तिघाट, बलेवा, बेनी विश्वकै सुन्दर पर्यटकीय चक्रपथ बन्ने संभावना रहेको छ । यस चक्रपथले संभावित नमूना हरियाली प्राकृतिक शहर पूर्वी बागलुङको भूगोेललाई पश्चिममा गल्कोट, दक्षिणमा जैमुनी र बरेङ, उत्तरमा ताराखोला एवं म्याग्दी जिल्लाको ठूलो भूगोललाई समेट्न भूमिका निर्वाह गर्नेछ ।

(९) यो क्षेत्र भारत र चीन जस्ता विश्वका दुई ठूला आर्थिक रुपमा सम्पन्न देशहरुलाई जोड्ने कालीगण्डकी कोरिडर र संभावित बेनी, धम्जा, गाजदह, बरेङ पुर्तिघाट पहाडी पर्यटकीय सडकको बीच भागमा पर्ने भएकोले ठूलो संख्यामा पर्यटकहरुलाई आकर्षण गर्न सकिने व्यापक संभावना रहेको छ । पश्चिममा म्याग्दीको दर्बाङ, अर्मन, ताराखोला, गल्कोट, वामी टक्सार हुँदै वडिगाड खोलाको किनारसम्म क्षेत्रको समेत परिकल्पना गरेर विशाल शहरको रुपमा समेत यो क्षेत्रलाई विकास गर्न सकिने संभावना रहेको छ ।

(१०) यस उपत्यका र आसपासका क्षेत्रका जनताहरु हाल नेपाल र विदेशका विभिन्न शहरहरुमा विभिन्न पेशा तथा व्यवसाय गरी बसिरहेका र यो पंक्ति नेपाल सरकारले दीर्घकालीन योजना अनुसार अगाडि बढेमा ठूलो लगानी यस क्षेत्रमा भित्रिने निश्चित छ ।

(११) यस क्षेत्रको बीच भागमा रहेको बागलुङ बजारदेखि झण्डै २० किलोमिटर पश्चिम भागमा रहेको (शिवालय, रामकोट) त्रिपुरेश्वर महादेव मन्दिर, कालीगण्डकी नदीको किनारमा रहेको कालिका मन्दिर र बागलुङ बजारको शिरमा रहेको सर्वसिद्धिधाम पञ्चकोट एवं अन्य धार्मिक महत्वका क्षेत्रहरुको मार्फतबाट यस उपत्यकालाई विश्वका हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्रको रुपमा विकास गर्न सकिने संभावना रहेको छ ।

(१२) पूर्वी बागलुङ उपत्यकामा मनोरम दृश्य देखिने उच्च पहाडी क्षेत्रको झण्डै ६० किलोमिटर लामो पूर्खाहरुले बनाएको प्राकृतिक पैदलमार्ग रहेको छ । यस पैदलमार्ग वरिपरी पहाडी क्षेत्रमा लामा लामा पर्खालहरु (स्थानीय रुपमा बान्नो भनेर चिनिन्छ), चौतारी, पोखरी, मन्दिर एवं धार्मिक स्थलहरु रहेको छन् । त्यसैले यस पैदलमार्गमा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न ठूलो भूमिका खेल्दैछ ।

(१३) यस क्षेत्रमा हाल पर्यटन विकासको लागि होम स्टे प्रवर्धनको लागि भकुण्डे, रेश, कादेश लेखानी, उपल्लो विहुँ, फापरखेत, ओखले धम्जा लगायतका क्षेत्रमा होम स्टे अभियानहरु शुरु भएका छन् । होम स्टे अभियानले पर्यटन व्यवसाय प्रवद्र्धन गरी यस उपत्यका र आसपासको क्षेत्रलाई नमूना हरियाली पर्यटकीय शहरको रुपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

(१४) यस उपत्यकाका केही स्थानहरुमा एअरपोर्ट र सयौं स्थानमा हेलिप्याडको सहजै निर्माण गर्न सकिने भएको र हाल बलेवा एअरपोर्ट समेत सञ्चालनमा रहेको छ ।

(१५) यो उपत्यकामा पहाडी शृंखला अन्र्तगत बाक्लो जंगल समेत रहेकोले अन्र्तराष्ट्रिय स्तरको बनस्पति र जैविक विविधता अध्ययन केन्द्रको रुपमा यस उपत्यकालाई विकास गर्न सकिन्छ ।

(१६) यस क्षेत्र र आसपासका विशाल बाँझा जमिनहरुमा अर्गानिक खेती अन्र्तगत आलु, किवी, चिया लगायतको व्यवसायिक खेतीको संभावना रहेको र हाल चिया र किवी खेतीको समेत शुरुवात भएको छ ।

(१७) हाल शहरी क्षेत्रको उकुसमुकुस, दुर्गन्ध, गर्मी, महँगी र अव्यवस्थित शहरीकरणको वेथितिबाट जनताहरु वाक्क भएको अवस्थामा यस खाले अवधारणा सरकारले अगाडि सार्दा वैकल्पिक शहरको विकल्प जनताहरुलाई उपलब्ध मात्र हुने नभई नेपालको पर्यटन उद्योग विकासमा पोखरा उपत्यका भन्दा राम्रो प्राकृतिक हरियाली शहरको रुपमा यस उपत्यकालाई विकास गर्न सकिन्छ ।

(१८) नेपालको मध्य भागमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडर आसपासमा रहेको यस उपत्यका नेपालको जस्तै नक्सा भएको बागलुङ जिल्ला भित्र रहेको नेपाल भित्रको नेपाल परिचय बनाईसकेको अवस्थामा पूर्वी बागलुङ क्षेत्रलाई नेपालको वैकल्पिक राजधानीको रुपमा विकास गर्न सकिने संभावना समेत रहेको छ ।

(१९) नेपालको मध्यभागमा रहेको र यसले समग्र धौलागिरी क्षेत्र, प्रदेश नं ४ र नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकोले नेपाल सरकारले यो संभावनालाई उपयोग गर्ने प्रचुर संभावना रहेको छ ।

(२०) यो क्षेत्र पोखरा, काठमांडौ, नेपालको तराई क्षेत्र र विदेशमा पलायन भएका लाखौं मानिसहरुको उद्गम स्थल भएकोले यस क्षेत्र प्रति लाखौं पेशा तथा व्यवसायमा स्थापित जनताहरुको भावनात्मक सम्बन्ध समेत जोडिएको छ ।

(२१) सबैभन्दा महत्वपूर्ण पक्ष सरकारको अत्यन्त कम लगानीमा यस उपत्यकालाई शहरको रुपमा विकास गर्न सकिन्छ ।

(२२) यसरी वैकल्पिक शहरहरुको परिकल्पना गरि नेपाल सरकार अगाडि बढ्दा काठमांडौ, पोखरा, वुटवल, चितवन लगायतका शहरहरुमा बढेको व्यापक जनघनत्वलाई वैकल्पिक शहरको विकल्प प्रस्तुत गर्दै देशको समानुपातिक आर्थिक विकासमा यस उपत्यकालाई नमूना शहरको रुपमा विकास गर्नु सान्दर्भिक हुनेछ ।

त्यसैले संभावना नै संभावना बोकेको बागलुङको यस पूर्वी बागलुङ उपत्यकालाई केन्द्रविन्दु बनाएर नमूना प्राकृतिक हरियाली शहरको रुपमा विकास गर्न सबैको सकरात्मक र रचनात्मक भूमिकाको आवश्यकता रहेको छ ।

फोटो फिचर

 

 

 

लेखक खिमानन्द कँडेल सामाजिक अभियन्ता एवं बरिष्ठ इन्जिनियर हुनुहुन्छ र काँठेखोला ५ विहुँकोट, बागलुङका स्थाई बासिन्दा हुनुहुन्छ ।

फेसबुक/ इमेल : khimanandakandel@yahoo.com

Leave A Reply

Your email address will not be published.