Engineeer Khabar

१३ बुँदे निष्कर्ष सहित जल तथा ऊर्जा बहस चौतारीको दोस्रो कार्यक्रम सम्पन्न

भाद्र २९, ललितपुर ।

जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (विक्यान) र पुल्चोक क्याम्पस अन्र्तगत रहेको सेन्टर फर इनर्जी स्टडिजबीचको सहकार्यमा जल तथा ऊर्जा बहस चौतारी प्रस्तुती शृखंला अन्तर्गत मिति २०७५ साल भदौ २९ गते इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सेन्टर फर इनर्जी स्टडिजको सभाहलमा दोस्रो कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा नेपाल विद्युत प्राधिकरण, भार प्रक्षेपण केन्द्र, स्यूचाटारमा लामो समयसम्म सिस्टम व्यवस्थापनमा काम गर्नु भएका इन्जिनियर श्री सुशिल पौडेल ज्यूले केन्द्रीय प्रसारण लाईनको सञ्चालन एवं नेपालको विद्युत प्रसारण लाईन गुरुयोजनाको बारेमा आफ्नो कार्यपत्र पेश गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तोता इन्जिनियर श्री सुशिल पौडेल ज्यूले नेपालको विद्युत प्रसारण एवं व्यवस्थापनको वर्तमान अवस्था, वर्षा र हिउँदमा विद्युत व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र भारतबाट आयातित विद्युतको अवस्था, विद्युत वितरणमा प्रसारण लाईनको क्षमताको कारणले तत्कालै आउन सक्ने समस्याका क्षेत्रहरु एवं राष्ट्रिय प्रसारण ग्रीड कम्पनीबाट हालै गरिएको विद्युत प्रसारण गुरुयोजनाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका बरिष्ठ इन्जिनियर शिवराम केसी, जलविद्युत विज्ञ एवं विकासकर्ता विजयमान शेरचन, बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक राम प्रसाद धिताल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अरविन्द मिश्र, जलविद्यत विज्ञ विष्णु शर्मा नेपाल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर श्री सागर ज्ञवाली, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र अन्र्तगत ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमका सौर्य ऊर्जा विज्ञ जीवन कुमार मल्लिक लगायत विज्ञहरुले कार्यपत्रको विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष श्री गुणराज ढकाल ज्यूले जल तथा ऊर्जा बहस चौतारी मार्फत नेपाल सरकारलाई रचनात्मक सुझाव दिन सकिने र यस क्षेत्रका विविध विषयहरुमा यस्ता बहसहरु निरन्तर चलाउनुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्नु हुँदै सौर्य ऊर्जा विज्ञ जीवन कुमार मल्लिक ज्यूले ऊर्जा मिश्रण अन्र्तगत सौर्य ऊर्जा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र विकेन्द्रित मोडलमा विद्युत प्रसारण ग्रीडहरु विकास गनुपर्ने धारणा राख्नु भएको थियो ।

सेन्टर फर इनर्जी स्टडिज, पुल्चोक क्याम्पसका निर्देशक डा. श्रीराज शाक्य ज्यूले यसरी चलाईने बहसहरुले नेपाल सरकारले राखेका लक्ष्यहरु प्राप्तीमा सहयोगी भूमिका निर्वाह गर्ने, विद्युतीय सवारी साधनको व्यापक उपयोगिताबाट नेपालले धेरै फाईदा लिन सक्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रमको समापन मन्तव्य राख्दै जल तथा ऊर्जा परामर्शदाता संघ नेपालका अध्यक्ष श्री खिमानन्द कँडेल ज्यूले नेपालको विद्युत प्रसारण लाईनको वर्तमान अवस्था, नेपाल सरकारले चालेका कदमहरु एवं कार्यपत्रमा उठेका विविध प्रसंगहरुको बारेमा आफ्नो धारणा राख्नु हुँदै आगामी दिनमा पनि जल तथा ऊर्जा बहस चौतारी कार्यक्रम मार्फत निरन्तर बहस चलाउने जानकारी गराउँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

यस कार्यक्रममा जल तथा ऊर्जा बहस चौतारी कार्यक्रमका सल्लाहकार श्री प्रदिप गंगोल ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन जल विद्युत विज्ञ, बुढीगण्डकी जलविद्युत आयोजनाका पूर्व कार्यकारी प्रमुख इन्जिनियर गोपाल बस्नेत ज्यूले गर्नुभएको थियो ।

कार्यक्रमको निष्कर्ष :

(१) नेपालको विद्युत प्रसारण एवं वितरण व्यवस्थापनमा निजी क्षेत्रबाट उत्पादित विद्युत र भारतबाट आयात भैरहेको विद्युतको हिस्सा बढ्दै गईरहेको छ ।

(२) बर्षादको समयमा कम र हिउँदको समयमा भारतबाट आयातित विद्युतको हिस्सा बढी रहेको छ ।

(३) भारतबाट आयातित हुने अधिकांश विद्युतमा हाल नेपाललाई चाहिने समयमा उपयोग गरिएको विद्युतको मात्र महसुल तिर्नुपर्छ ।

(४) राष्ट्रिय प्रसारण ग्रीड कम्पनीबाट हालै तयार गरिएको गुरुयोजना अन्र्तगत नेपालको प्रसारण लाईनलाई विभिन्न पाँच भागमा वर्गीकरण गरिएको, पूर्व पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र नदी बेसीनलाई आधार बनाएर तयार गरिएको छ ।
(५) वर्तमान अवस्थामा काठमांडौको मध्य भागमा र वुटवल क्षेत्रमा माग बढी हुँदा विद्युत प्रसारण लाईनको कारणले प्रयाप्त विद्युत आपूर्ति गर्न समस्या आउन सक्ने भएकोले तत्कालै सुधारको योजना लागू गर्नुपर्ने देखिन्छ ।

(६) तराईका विभिन्न क्षेत्रहरुमा भारतबाट विद्युत आयात भैरहेको छ ।

(७) भोल्टेज व्यवस्थापनको कारणले गर्दा बुटवल क्षेत्रमा ठूलो जलविद्युत आयोजनाको आवश्यकता हुनुको साथै दीर्घकालीन रुपमा जलाशययुक्त आयोजनाको देशमा आवश्यकता रहेको छ ।

(८) विकेन्द्रित मोडलमा विद्युत ग्रीड विकास गरेर देशमा सम्पूर्ण स्थानीय तहमा केन्द्रीय प्रसारण लाईनको पहुँच विस्तार गर्न सरकारले कदम चाल्नु आवश्यक छ ।

(९) भुकम्पीय जोखिम, वातावरणीय जोखिम, अन्र्तराष्ट्रिय सम्बन्ध लगायतका विषयहरुलाई मध्यनजर गर्दै ऊर्जा मिश्रण अन्र्तगत सौर्य ऊर्जा लगायत अन्य ऊर्जाका स्रोतहरुको विकास गर्दै लैजाने नीति सरकारले अवलम्बन गर्नुपर्छ ।

(१०) केन्द्रीय प्रसारण लाईनमा आवद्ध गर्न नसकिने क्षेत्रहरुमा उपयुक्त वैकल्पिक ऊर्जा प्रविधि मार्फत विद्युतीकरण गर्नुपर्छ ।

(११) तराई क्षेत्रमा चिनी कारखाना लगायतका उद्योगहरुबाट उत्पादन हुन सक्ने विद्युतको उपयोग गरी तराई क्षेत्रको भोल्टेज व्यवस्थापनमा उपयोग गर्न सकिन्छ ।

(१२) विद्युत प्रसारण र वितरण लाईन विस्तारको लागि प्रयाप्त साधन स्रोतको व्यवस्थापन आवश्यक छ ।

(१३) सरकारले अध्ययन र अनुसन्धानको क्षेत्रमा अधिकतम लगानी गरी निजी क्षेत्र, विश्वविद्यालय एवं देश विदेशमा काम गरिरहेका विज्ञहरुको अनुभवलाई उपयोग गर्न सक्नुपर्छ ।

फोटो ग्यालरी

Leave A Reply

Your email address will not be published.