Engineeer Khabar

जाजरकोटको शिवालय गाउँपालिका स्मार्ट बन्दै

जाजरकोट, १३ असोज : बढ्दो सूचना प्रविधिको प्रयोगसंगै जाजरकोटको  शिवालय गाउँपालिका प्रविधिमैत्री बन्दै गएको छ ।

गाउँपालिकाले गाउँपालिकाभित्र इन्टरनेट सेवा विस्तार गरेको छ । वर्डलिङ्क इन्टरनेट सेवामार्फत यहाँका सबै वडामा निःशुल्क इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिनुभयो । अहिले सबै ठाउँमा इन्टरनेट जोडेर निःशुल्क रूपमा सेवा दिइरहेको अध्यक्ष शाहीले बताउनुभयो ।

गाउँपालिकाले करीब रु ७ लाख लागतमा इन्टरनेटको टावर जडान गरी यहाँका विद्यालय, वडा कार्यायलय, स्थानीयवासी र गैरसरकारी कार्यालयमा समेत सेवा विस्तार गरिएको उहाँको भनाइ छ ।

विद्युत र इन्टरनेटका अभावमा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरेको गाउँपालिकाले इन्टरनेट जडानसँगै अब स्थानीयस्तरमै काम गर्न थालेको छ । पहिलो पटक निःशुल्क इन्टरनेट सेवा पाउँदा यहाँका स्थानीय खुशी भएको स्थानीय पूर्णबहादुर महतराले बताउनुभयो । दुई वर्षसम्म निःशुल्क इन्टरनेटसेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.