स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने
काठमाडौँ, ६ मङ्सिर: अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।
मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
हाल देशभर कूल ७५३ स्थानीय तह छन् । ती केन्द्रमा हाललाई करारमा अधिकृतस्तरका कर्मचारी रहनेछन् । केन्द्रमा करारमा कर्मचारी नियुक्त गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृतिसमेत दिइएको छ ।
बैठकले विश्वविद्यालय अनुदान आयोगका अध्यक्षमा इलामका प्रा डा भीमप्रसाद सुवेदीलाई मनोनयन गरेको छ । गत कात्तिक २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई सो पदमा नियुक्त गरेको हो । यस्तै गरीबी निवारण कोषका उपाध्यक्षमा निर्मलकुमार भट्टराईलाई नियुक्त गरिएको छ भने राष्ट्रिय खेलकूद परिषद्का सदस्य फत्तबहादुर गुरुङलाई सो पदबाट हटाउने निर्णय गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।
हरेक वर्ष नोभेम्बर २५ लाई देशभर लैङ्गिक हिंसाविरुद्धको अभियान दिवस तथा मङ्सिर ११ गतेलाई सामाजिक सुरक्षा दिवस मनाउने निर्णय पनि गरिएको छ । यस वर्ष सामाजिक सुरक्षा दिवस कार्यक्रमको शुभारम्भ आगामी मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगका लागि राष्ट्रिय रणनीति तर्जुमा गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन तथा सिन्धुपाल्चोक जिल्लाको माङ्खा र राम्चेबीचको जुरेमा २०७१ साल साउन १७ गते गएको पहिराबाट पीडित परिवारका लागि नेपाल बैंक लिमिटेड चौतारा शाखामा सङ्कलित राहत रकम वितरणका लागि फुकुवा गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । ती पहिरोपीडितलाई भूकम्पपीडितले पाउनेजति नै रकम वितरण गरिनेछ । बैठकले नेपाली सेनालाई अन्तरराष्ट्रिय सैन्य खेलकूद परिषद्को सदस्यता लिन स्वीकृति प्रदानसमेत गरेको छ । (रासस)