Engineeer Khabar

रसुवागढी र सान्जेनले माघभित्र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने

काठमाडौं– रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीले आगामी माघभित्र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्थानीयभन्दा अघि सर्वसाधारणलाई सेयर निष्कासन गर्न पाउने व्यवस्था गरेपछि दुई कम्पनीलाई सजिलो भएको हो । दुई कम्पनीले रसुवामा १ सय ११ मेगावाटको रसुवागढी र ५७ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेका छन् । रसुवागढीले १ करोड २ लाख ६३ हजार १ सय १५ कित्ता र सान्जेनले ५४ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् । सेयर निष्कासनको स्वीकृति लिन रसुवागढीले गत मंसिर २८ गते सेबोनमा प्रस्ताव पेस गरेको छ ।

सान्जेनले यसै साता प्रस्ताव पेस गर्ने जनाएको छ । त्यहाँबाट स्वीकृत भएर आउन करिब एक महिना लाग्ने र यसपछि १५ दिनको सूचना निकालेर सेयर निष्कासन गर्ने दुवै कम्पनीको योजना छ । सबै प्रक्रिया पूरा गरेर माघभित्र सर्वसाधारणले सेयर किन्न आवेदन दिन पाउने सान्जेनका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । सेबोनको नियमअनुसार सर्वसाधारणलाई जारी गरेको ६ महिनाभित्र स्थानीयका लागि पनि सेयर निष्कासन गर्नुपर्छ । सेबोनले गत कात्तिक १२ गते तेस्रो पटक संशोधन गरेको निर्देशिकामा भनिएको छ– कुनै सूचीकृत जलविद्युत कम्पनीको कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्वका सहायक कम्पनीले विशेष परिस्थितिमा आयोजना प्रभावित स्थानीयलाई भन्दा पूर्व सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्न चाहे बोर्डले त्यस्ता कम्पनीलाई स्थानीयलाई भन्दा पूर्व सर्वसाधारणलाई सेयर निष्कासन गर्ने अनुमति दिन सक्ने छ ।

दुवै कम्पनीलाई आयोजनामा लगानी गर्ने पुँजी संकलन गर्नुपर्ने हुँदा उनीहरूको सजिलोका लागि पनि बोर्डले नियम संशोधन गरेको थियो । उल्लेखित नियमका आधारमा सर्वसाधारणबाट रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ र सान्जेनले ५४ करोड ७५ लाख रुपैयाँ संकलन गर्नेछ । निष्कासन गर्न लागेको सेयर कम्पनीहरूले आयोजनामा लगानी गर्ने स्वपुँजीको १५ प्रतिशत हिस्सा हो । दोस्रो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरिने रसुवागढीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले बताए । स्थानीयका लागि रसुवागढीले सय रुपैयाँ अंकित ६८ लाख ४२ हजार १ सय कित्ता र सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

दुवै कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, संस्थापक र ऋणदाता संस्थाका कर्मचारीलाई छुट्ट्याइएको २४ प्रतिशत सेयर निष्कासन गरी बाँडफाँड गरिसकेका छन् । दुवै आयोजनामा ५० प्रतिशत ऋण र ५० प्रतिशत स्वपुँजी लगानी छ । अहिलेसम्म रसुवागढीको करिब ६७ प्रतिशत र सान्जेनको ६५ प्रतिशत निर्माण पूरा भएको छ । रसुवागढी १५ अर्ब १८ करोड रुपैयाँ र सान्जेन ७ अर्ब २४ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

Source: Urja Khabar

Leave A Reply

Your email address will not be published.