Engineeer Khabar

पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ : मन्त्री महासेठ

काठमाडौँ, ६ पुस: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको शुरुआती चरणदेखि नै अनुगमन गरिने बताउनुभएको छ ।

मन्त्रालयले आज आयोजना गरेको दोस्रो चरणको पुल निर्माण तथा सुधार कार्यक्रममा मन्त्री महासेठले यसअघि निर्माण भएका पुलको गुणस्तरीय नहुनुको मुख्य कारण निर्माण सकेपछि अन्तिम चरणमा मात्र गरिने अनुगमन रहेको भन्दै त्यसलाई सच्याइने बताउनुभयो । पुल निर्माणको लागि जिम्मा लिएको कम्पनीलाई आफ्नो कामप्रति जिम्मेवार भएर प्रभावकारी रुपमा लागि पर्न मन्त्रीले निर्देशन दिनुभयो ।

मन्त्रालयका सचिव मधुसुधन अधिकारीले निर्माण गर्ने इञ्जिनीयरलाई निर्माणसम्बन्धी तालीम दिएर अब निर्माण हुने पुल लामो समयसम्म सञ्चालन गर्न सकिने गरी दिगो बनाउनुपर्ने बताउनुभयो ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले नयाँ पुल निर्माणसँगै भएका पुराना पुल मर्मतको काम पनि त्यतिकै आवश्यक रहेकोमा जोड दिनुभयो । विश्व बैंकका प्रतिनिधि ओस्नी क्युले पुल निर्माण तथा मर्मत कार्य निर्धारित समयमै सकिनेमा आफू ढुक्क रहेको धारणा राख्नुभयो । यस कार्यक्रमअन्तर्गत मुख्य राजमार्गका निर्माण भएका पुलको मर्मत र निर्माणको काम पर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो ।

पञ्चवर्षे योजनाअनुरुप २०१८ डिसेम्बरदेखि २०२३ जुलाइसम्म यो कार्यक्रम रहने छ । यस अवधिमा कतिवटा पुल निर्माण र मर्मत गरिन्छन् भन्ने अहिलेनै एकिन भने भएको छैन । वार्षिक १० वटासम्म पुल निर्माण सम्मन्न हुने गरेको विभागका पुल महाशाखा प्रमुख दीपक भट्टराइले जानकारी दिनुभयो ।  (रासस)

Leave A Reply

Your email address will not be published.