Engineeer Khabar

हवाई सेवा सञ्चालन गर्ने निर्णयको स्वागत

पोखरा, ९ पुस: पर्यटकीय नगरी पोखराबाट बाराको सिमरा र मनाङको हुम्दे विमानस्थलसम्म सिधा हवाई सेवा प्रदानका लागि गण्डकी प्रदेश सरकारले गरेको पहलकदमीको पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ ।

बाराबाट आएका व्यवसायी तथा सरकारी अधिकारीसँग प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको छलफलमा पोखरालाई ती दुई क्षेत्रसँग जोड्ने निर्णय गरिनु यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्वागतयोग्य भएको सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । उहाँका अनुसार आगामी पुस २४ देखि हुम्दे विमानस्थल र माघ १५ बाट सिमरा विमानस्थलसँग पोखराबाट सिधा हवाई सेवा जोडिन लागेको हो ।

प्रदेश सरकारले चालू आवकोे नीति तथा कार्यक्रममा पर्यटकीय नगरी पोखरालाई सात वटै प्रदेशसँग हवाई सेवामार्फत जोड्ने विषय उल्लेख गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले जनप्रतिनिधिसँग बसेर गरेको छलफलमा उल्लिखित दुई विमानस्थलसम्म हवाई सेवा पोखराबाट सञ्चालन गर्ने निर्णय गरेका थिए ।

अध्यक्ष तुलाचनले झापाको भद्रपुर र नेपालगञ्जबाट समेत पोखरालाई सिधा हवाई सेवामार्फत जोड्न सरकारसँग माग गर्नुभएको छ । आन्तरिक उडान विस्तारका साथै भारतका केही मुख्य शहरसम्म हवाई सेवामार्फत पोखरालाई जोड्न सके सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  (रासस)

Leave A Reply

Your email address will not be published.