Engineeer Khabar

स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा

बुटवल, १० पुस: विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले ‘विपद् तथा जलवायु उत्थानशील’ योजना तयार गरेको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को सहकार्यमा उपमहानगरपालिकाले सो योजना तयार पारेको हो ।

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले उक्त योजनाको आज सार्वजनिक गर्दै विपद्को सामनाका लागि सबै सरोकारवालाका बीचमा सहकार्यको खाँचो रहेको बताउनुभयो ।

विपद् व्यवस्थापन तथा पूर्वतयारी र क्षति न्यूनीकरणका लागि राज्यका संयन्त्र मात्रै पूर्ण नरहेकाले यसमा सबै पक्षको सहयोग र सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उहाँले योजनाको प्रभावकारी कार्यान्वयनका लागि समुदायले समेत दायित्व बोध गर्नेगरी कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जोखिमका क्षेत्रहरु पहिचान गरी त्यसको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बुटवलमा तर्जुमा गरिएको विपद् व्यवस्थापनको स्थानीय योजना मुलुककै पहिलो रहेको दाबी गर्दै विपद् जोखिम व्यवस्थापन ऐन र तीनै तहका सरकारका कानून र दायित्वलाई मध्यनजर गर्दै योजना बनाइएको धारणा व्यक्त गर्नुभयो ।

बुटवलको विपद् व्यवस्थापनका लागि रु ४५ करोड ७८ लाख बराबरको बजेट अनुमान गरिएको छ ।

स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाअन्तर्गत जनचेतना तथा क्षमता अभिवृद्धि, जोखिम न्यूनीकरण र आपत्कालीन पूर्वतयारी शीर्षकमा उक्त बजेटको अनुमान गरिएको हो ।

सहजकर्ता रेडक्रस केन्द्रीय कार्यालयका प्रकाश अर्यालले प्रस्तुत गरेको विवरणअनुसार जनचेतना कार्यक्रमका लागि रु तीन करोड २९ लाख, जोखिम न्यूनीकरणका लागि रु ३७ करोड ९२ लाख र आपत्कालीन पूर्वतयारीका लागि रु तीन करोड ५७ लाखको बजेट अनुमान गरिएको छ । (रासस)

Leave A Reply

Your email address will not be published.