सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र्र निर्माणको तयारी
काठमाडौँ, ३० पुस: काठमाडौँ उपत्यकाका तीन स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण शुरु भएसँगै ललितपुरको सुन्दरीघाटमा केन्द्र निर्माणका लागि छलफल शुरु गरिएको छ ।
उपत्यकामा फोहरपानी व्यवस्थापन गर्दै नदी सफा राख्न चार ठाउँमा प्रशोधन केन्द्र निर्माणको योजना रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
यसअघि गुहेश्वरी, सल्लाघारी र बालकमुारीको कोड्कु खोलामा आयोजनाले केन्द्रको निर्माण शुरु गरिसकेको छ । दुई साता पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले कोड्कु खोलामा केन्द्रको उद्घाटन गर्नुभएको थियो ।
सुन्दरीघाटमा केन्द्र निर्माणका लागि स्थानीयवासी अहिलेसम्म सकारात्मक नरहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । स्थानीयवासीलाई केन्द्र निर्माण गर्दा त्यस वरपर दुर्गन्ध फैलने चिन्ता छ । स्थानीयवासीलाई केन्द्रले बाहिर दुर्गन्ध नपैफलने विश्वास दिलाउन सके मात्र काम अगाडि बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार यस्ता केन्द्रबाट प्रशोधन भएको पानीले दुर्गन्ध नफैलने र प्रशोधन भएको पानी विभिन्न काममा प्रयोग गर्न सकिने कुरा बुझाउनु जरुरी छ । उहाँले भन्नुभयो, “महानगरपालिका र वडा कार्यालय स्थानीयवासीलाई केन्द्र निमाण गर्दा त्यस ठाउँमा नकारात्मक असर गर्दैन भन्ने बुझाउन लागेका छौँ ।”
निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले यस्ता केन्द्रको निर्माण सम्पन्न हुँदा उपत्यकामा ठूलो समस्याका रुपमा रहेको फोहरपानीको समस्या समाधान हुने बताउनुभयो । काठमाडौँ उपत्यकामा मेलम्ची भित्रिएपछि यहाँ फोहरपानीको समेत मात्रा बढ्नेछ । उहाँले भन्नुभयो, “यी केन्द्रले फोहरपानी प्रशोधन गर्छ र खोला पनि सफा बनाउँछ ।” (रासस)