Engineeer Khabar

फोहोरलाई मोहर बनाउदै गण्डकी ऊर्जा

0

काठमाडौं– पोखरामा निर्माण भएको गण्डकी ऊर्जा प्लान्टले आगामी चैतदेखि बायोग्यास उत्पादन गर्ने भएको छ । ४५ टन फोहोर प्रशोधन हुने प्लान्टबाट दैनिक २ सय सिलिण्डर बायोग्यास उत्पादन हुन लागेको हो । पोखरा महानगरपालिकाको वडा नम्बर–३२ मझुवामा स्थानीय युवा उद्यमी मिलेर प्लान्टको निर्माण गरेको गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङले बताए ।

उनका अनुसार प्लान्टमा अहिले गाई भैंसीको गोबर, कुखुराको सुली र बंगुरको खोरबाट निस्किएको फोहोर भर्ने काम भइरहेको छ । भरिएपछि चलाउन सुरु गरिनेछ । प्लान्टबाट उत्पादन हुने ग्यास स्थानीय उद्योग र रेष्टुरेन्टमा खपत हुने पनि गुरुङले बताए । ‘घरायसी प्रयोजनमा खपत गर्ने हो भने ८ हजार घरधुरीमा प्लान्टको ग्यास वितरण गर्न सकिन्छ,’ उनले  भने, ‘तर घर घर पुर्याउनु पर्ने पाइप लाइन विस्तार गर्नेबारे सरकारको स्पष्ट नीति नहुँदा दैनिक उत्पादन हुने ग्यास सिलिण्डरमा भरेर बिक्री गर्न योजना बनाएका छौं ।’

ग्यास उत्पादनसँगै प्लान्टबाट दैनिक १२ देखि १५ टन मल पनि उत्पादन हुने गुरुङको दाबी छ । मल बिक्रीबाटसमेत गण्डकी ऊर्जाले थप आम्दानी गर्नेछ । प्लान्ट सञ्चालन गर्न महानगरपालिकाबाट दैनिक उत्पादन हुने फोहोरको खपतसमेत गर्न सकिन्छ । तर, महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याउने गरेको र बिक्रीदर पनि उच्च राखेकाले गोबर, सुली र बंगुरको लिदी प्रयोग गरिएको उनले बताए । प्लान्टमा उखु मिलबाट उत्पादन हुने फोहोर पनि उपयोग हुनेछ ।

प्लान्टबाट उत्पादन हुने बायोग्यासमा ९० प्रतिशत मिथेन हुनेतथा आयातित एलपि ग्यासको तुलनामा किफायती र बढी ज्वलनशिल हुने कम्पनीको दाबी छ । २०७४ वैशाखबाट निर्माण सुरु भएको प्लान्ट पूरा गर्न २२ करोड रुपैयाँ खर्च हुने अनुमान छ । अहिलेसम्ममा २० करोड रुपैयाँ खर्च भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.