Engineeer Khabar

बिआरआई अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि

काठमाडौँ, १२ फागुन : ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल अटोमोबाइल एशोसिएसन (नासा) को संयुक्त आयोजनामा बिआरआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि शुरु हुने भएको छ ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा झण्डै १२ देशका १४० जना सहभागी हुने कुरा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । सडक र सामुृद्रिक मार्गबाट युरोप, एशिया र अफ्रिका जोड्ने बिआरआइ अभियान चिनियाँ अवधारणा हो । उक्त सम्मेलनमा यातायात र भौतिक पूर्वाधारसम्बन्धी विषयमा छलफल हुने युथ कम्युनिटी फर नेपाली कन्ट्रयाक्टरका अध्यक्ष आनन्द सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनमा छलफलका लागि नेपाल र बिआरआई अभियान, पूर्वाधार र विकास, पर्यटन र व्यापार, सुरक्षित यातायातलगायत विषय तय भएका छन् । यातायात क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको सहभागी हुने हुँदा सम्मेलन महत्वपूर्ण हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ सम्मेलनमा नेपालभित्रको सडक र नेपाललाई अन्य देशसँग जोड्ने सडकका विषयमा छलफल हुनेछ ।”

सम्मेलनमा नेपाल, चीन, भारत, संयुक्त अधिराज्य, दक्षिण अफ्रिका, श्रीलङ्का, मलेसियालगायत देशका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.