Engineeer Khabar

मध्यभोटेकोसीको निर्माण ५० प्रतिशत सकियो, बिजुली बल्न अझै १४ महिना लाग्ने

काठमाडौं– सिन्धुपाल्चोकमा निर्माणधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको निर्माण ५० प्रतिशत पूरा भएको छ । निर्माण सुरु भएको करिब साढे ४ वर्षमा आधा मात्र काम सकिएको हो । अहिलेकै गतिमा काम हुँदा अबकाे १४ महिनापछिमात्र आयाेजनाबाट विद्युत उत्पादन हुने देखिन्छ । आयोजनाको सुरुङ खन्ने, बाँध, विद्युतगृहलगायत काम एकसाथ भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले बताए ।

उनका अनुसार ७.१ किलोमिटर लामो सुरुङमध्ये ४.६४ किलोमिटर खन्ने काम सकिएको छ । यसका आधारमा सुरुङको ६५ प्रतिशत काम पूरा भएको छ । ‘विद्युतगृहको जग ढलान सकिएको छ, बाँध क्षेत्रको स्पीलवे खन्ने काम सम्पन्न भई कंक्रिटिङ भइरहेको छ,’ उनले भने, ‘एक सय ७८ मिटर लामो भर्टिकल साफ्टमध्ये ९४ मिटर वाइडिङ पूरा भएको छ ।’

सन् २०१७ जुनमा पूरा गर्ने गरी सुरु गरिएको आयोजना जुरे पहिरो, भूकम्प, बाढी–पहिरो, बाँधस्थलको जग्गा प्राप्तिलगायत कारणले निर्माण प्रभावित भएको थियो । ठेकेदारले अपेक्षाकृत काम गर्न नसक्दा पनि आयोजनाको काममा ढिलाई भएको जनाइएको छ । सन् २०१९ जुनमा आयोजना पूरा हुनुपर्ने भए पनि ठेकेदार चिनियाँ ठेकेदार क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्सट्रक्सन तथा एन्ड्रिज हाइड्रोले थप एक वर्ष समय मागेका छन् ।

नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार विद्युत उत्पादन अवधि २०७६ चैत्र २८ गतेलाई तोकिएको छ । तर, अहिलेकै अवस्थामा आयोजनाले लक्ष्य पूरा गर्ने अवस्था छैन । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको बाह्रबीसे सबस्टेसनमा जोडिनेछ । आयोजनादेखि सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता भइसकेको छ । १२ अर्ब २८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ ।

चिलिमेको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोकका चार इन्भेष्टमेन्ट कम्पनी, सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकबासी, सर्वसाधारणको लगानी छ । आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको विद्युत बिक्रीबाट वार्षिक २ अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी हुने कम्पनीको अनुमान छ ।

Leave A Reply

Your email address will not be published.