Engineeer Khabar

पुनःनिर्माणमा तीव्रताः छिटो सकाउने सम्मानित

जिरी, ११ वैशाख :

दोलखामा निजी आवास पुनःनिर्माण ७२ प्रतिशत सम्पन्न भएको छ । गोरखा भूकम्पले भत्केका घरको निजी आवासतर्फ चार वर्षमा यी घर पूरा भएका हुन् । अब २८ प्रतिशत मात्र निजी आवास निर्माण हुन बाँकी छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार दोलखाका अनुसार चैत मसान्तसम्म ४८ हजार ७४६ जनाले निजी आवास निर्माण पूरा गरी तेस्रो किस्ता अनुदानसमेत लिएका छन् । त्यसैगरी जग हालेर ५६ हजार ११९ जनाले जनाले दोस्रो किस्ता लिएका छन् । जिल्ला कार्यान्वयन एकाइ दोलखाका कम्प्युटर अपरेटर टीका जोशीका अनुसार ६७ हजार २९४ जनाले पहिलो किस्ता लिएका छन् ।

उहाँका अनुसार भूकम्प प्रतिरोधी घर बनाउन पहिलो किस्ता प्राप्त गर्ने ९७.२७, दोस्रो किस्ता प्राप्त गर्ने ८३.३९५ र तेस्रो किस्ता प्राप्त गर्ने ७२.४४ प्रतिशत छन् । दोलखामा जम्मा लाभग्राही सङ्ख्या ७२ हजार ७८२ जना छन् । निर्माण भएका निजी आवासमध्ये दुई हजार २९ जनाको गैरसरकारी संस्थाको सहयोगमा निजी आवास पुनःनिर्माण भएको छ ।

पहिला अनुदान सम्झौता गरे तापनि २३ जनाले भने अनुदान फिर्ता गरेका छन् । विसं २०७५ चैत २१ गते पनि गुनासो सम्बोधन भएर आएका पाँच हजार ४८८ जनाको सम्झौता गर्न बाँकी रहेको एकाइले जनाएको छ । अहिलेसम्म ५३७ जनाले मात्र भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् । सरकारले विसं २०७६ असार मसान्तसम्म निजी आवास सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सिन्धुपाल्चोकमा ६३ हजार आवास

मेलम्ची – सिन्धुपाल्चोकमा निजी आवास निर्माणले तीव्रता पाएको छ । पुनःनिर्माण प्राधिकरणले समयसीमा तोकेर नै लाभग्राहीलाई अनुदान उपलब्ध गराएपछि हालसम्म ६३ हजार २७० भूकम्प प्रभावितले नयाँ घर बनाएका छन् । सिन्धुपाल्चोकमा मात्रै ८८ हजार २४९ भूकम्प प्रभावित लाभग्राही पहिचान भएका छन् भने अझै सात हजार ८०० को गुनासो सम्बोधन हुन बाँकी रहेको छ । पहिचान गरिएका लाभग्राहीमध्ये ६३ हजार २७० लाभग्राहीले तेस्रो अथवा अन्तिम किस्तावापतको रकम बुझेका छन् ।

प्राधिकरण, जिल्ला अयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख जयप्रकाश गुप्ताले तोकिएको समय सीमाभित्रै निजी आवास निर्माण सकिने गरी काम भइरहेको बताउनुभयो । अठासी हजार २४९ लाभग्राहीमध्ये ८५ हजार १७२ लाभग्राहीले पहिलो किस्तावापतको रु ५० हजार अनुदान लिइसकेका छन् । पहिलो किस्ता लिएको अनुदानको अनुपात हेर्दा अब जम्मा तीन हजार लाभग्राहीले मात्रै घर निर्माण शुरु गर्न बाँकी छ । उनासी हजार ७४१ लाभग्राहीले दोस्रो किस्तावापतको अनुदान लिएका छन् । तेस्रो किस्ताका लागि धेरै लाभग्राहीले कागजपत्र बुझाएकाले सो सङ्ख्या अझै बढ्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ सिन्धुपाल्चोकका प्रमुख गुप्ताले जानकारी दिनुभयो । भूकम्पले जिल्लाका विद्यालय, गुम्बा, मठ, मन्दिरलगायत ऐतिहासिक संरचनालाई पनि ध्वस्त बनायो । पाँच सय ४७ विद्यालयका चार हजार ७०० कक्षा कोठा ध्वस्त भए । अन्य सार्वजनिक भौतिक संरचना पुनःनिर्माणको प्रक्रियामा छन् भने विद्यालय पुनःनिर्माणले तीव्रता पाएको छ ।

हालसम्म ५४७ विद्यालयका तीन हजार २०० सुविधायुक्त र अपाङ्ग बालमैत्री १०० कक्षा कोठा निर्माण सम्पन्न भइसकेका छन् । बाँकी रहेका विद्यालय कक्षा कोठा पुनःनिर्माण अबको दुई वर्षभित्र पूर्ण रुपमा सम्पन्न गरिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख गौरीशङ्कर पाण्डेले बताउनुभयो ।

बलेफीको अन्तिम, मेलम्चीमा सुस्तता

जिल्लाका १२ स्थानीय तहमध्ये बलेफी गाउँपालिकाको पुनःनिर्माण अन्तिम अवस्थामा पुगेको छ । छ हजार ५४ कूल लाभग्राहीमध्ये पाँच हजार ९६४ ले पहिलो किस्ता र पाँच हजार ८१९ ले दोस्रो किस्ता अनुदान लिएका छन् । पहिलो किस्ताको अनुदान लिनेमध्ये घर निर्माण सम्पन्न गरेर पाँच हजार २०० लाभग्राहीले अन्तिम किस्ताको अनुदान लिइसकेका छन् । बलेफीमा अब ९० घर मात्रै निर्माण सम्झोता हुन बाँकी रहेको तथ्याङ्कले देखाएको छ ।

मेलम्ची नगरपालिकामा निजी आवास पुनःनिर्माण एकदमै सुस्त देखिएको छ । तेह्र हजार ४२१ पहिचान भएका लाभग्राहीमध्ये १३ हजार ६३ ले पहिलो किस्तावापतको अनुदान लिएका छन् । तीमध्ये आठ हजार ९९४ ले मात्रै घर निर्माण सकेर अन्तिम किस्ता लिएका छन् । त्यस्तै भोटेकोशी गाउँपालिकाका जम्मा लाभग्राही चार हजार २२६ मध्ये एक हजार ७९५ ले मात्रै घर निर्माण गरेर अन्तिम किस्ता अनुदान लिएका छन् । बाह्रबीसे नगरपालिकामा सात हजार ९९४ मध्ये पाँच हजार ८५६, चौतारा साँगाचोकगढी नगरपालिकामा १३ हजार ९४९ मध्ये १२ हजार ९८ र हेलम्बु गाउँपालिकामा पाँच हजार ४२२ मध्ये तीन हजार ८४० लाभग्राहीले अन्तिम किस्ता लिएका छन् ।

त्यस्तै इन्द्रावती गाउँपालिकाका आठ हजार ३८९ मध्ये छ हजार १७१ र जुगल गाउँपालिकामा पाँच हजार ६५६ मध्ये चार हजार ५७३ लाभग्राहीले घरनिर्माण सम्पन्न गरेका छन् । त्यस्तै लिसङ्खुपाखर गाउँपालिकाका पाँच हजार ३७६ लाभग्राहीमध्ये तीन हजार पाँच, पाँचपोखरी थाङ्पाल गाउँपालिका सात हजार ३५९ मध्ये तीन हजार ७६१, सुनकोशी गाउँपालिकामा पाँच हजार ७४९ मध्ये चार हजार ४०५ र त्रिपुरासुन्दरी गाउँपालिकामा चार हजार ५९४ मध्ये तीन हजार ५७३ ले घर निर्माण गरेर अन्तिम किस्तावापतको अनुदान रकम लिइसकेका छन् ।

पुनः सर्वेक्षण टोली स्थानीय तहमा

प्राधिकरणले अन्तिम पटक लाभग्राहीको पुनःपहिचानका लागि प्रत्येक स्थानीय तहमा तीन जनाको दरले प्राविधिक टोली खटाएको छ । गुनासो सम्बोधन र विभिन्न कारणले छुट भएका लाभग्राहीलाई अन्तिम मौका दिन प्राविधिक टोली सर्वेक्षणमा गाउँ गाउँमा पठाइएको प्राधिकरणले जनाएको छ ।

चार वर्षमा ३० प्रतिशत घर चितवन :

घरविहीन ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण जिल्लाका सात हजार ३३५ घर पूर्ण रुपमा क्षति भएका थिए । तीमध्ये दुई हजार २१५ घर मात्रै बन्न भ्याएका छन् । भूकम्पबाट क्षति भएका घर निर्माण गर्दै आएको प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार घर निर्माणले गति लिन सकेको छैन ।

कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार जिल्लामा रहेका लाभग्राहीमध्ये पहिलो किस्ता सम्झौता गर्नेमा पाँच हजार ८१० घरधुरी छन् । उनीहरुले पहिलो किस्तावापतको रु ५० हजार लगिसकेका छन् । यस्तै पहिलो किस्ता लानेमध्ये तीन हजार ८४२ घरधुरीले दोस्रो किस्तावापतको रु एक लाख ५० हजार लगेका छन् । तेस्रो किस्तावापत लाभग्राहीलाई सरकारले निर्माणको काम सम्पन्न प्रमाणित भइसकेपछि रु एक लाख दिने प्रावधान बनाएको छ । जिल्लामा विसं २०७४ साउनमा कार्यालय स्थापना भए पनि प्राविधिक पुस महीनादेखि मात्रै कार्यक्षेत्रमा आएका कारण कामलाई चुस्त बनाउन नसकिएको नेपालले बताउनुभयो ।

प्राविधिक कार्यक्षत्रमा जानु अगाडि नै प्राधिकरणको मापदण्डविपरीत घर बनाउनु तथा वन क्षेत्रमा रहेका लाभग्राही र ऐलानी जग्गामा रहेका घरधुरीका विषयमा सरकारले निर्णय गर्न ढिलाइ गर्नुले कामलाई प्रभावकारी रुपमा अघि बढाउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

गोरखा भूकम्पका कारण जिल्लामा ५९३ घरधुरी आंशिक रुपमा क्षति भएका थिए । तीमध्ये ४३१ जनाले मात्र पहिलो किस्ता सम्झौता गरे पनि दोस्रो किस्ताका लागि कोही नआएकोजानकारी दिनुभयो । गोरखा भूकम्पका कारण जिल्लामा ५९३ घरधुरी आंशिक रुपमा क्षति भएका थिए । तीमध्ये ४३१ जनाले मात्र पहिलो किस्ता सम्झौता गरे पनि दोस्रो किस्ताका लागि कोही नआएको बताइएको छ ।

सिर्जनकुमार घिमिरे, देवराज सुवेदी र नारायण अधिकारी

रासस

Leave A Reply

Your email address will not be published.