Engineeer Khabar

ने.ई.ए. ३ नं. प्रदेशको सम्पर्क कार्यालय उद्घाटन- “प्रगति बिवरण, गुनासो फारम देखि इन्जिनियरिंग गान सम्म” [पुरा हेर्नुहोस]

काठमाडौँ, १२ वैशाख:काठमाडौ – नेपाल इन्जिनियर्स एशोसिएसन, ३ नं. प्रदेश कार्यकारिणी समितिले प्रदेश कार्यालय हेटौडाको सितलमहलचोक संगसंगै सम्पर्क कार्यालय कुपन्डोलमा समेत स्थापना गरेको छ ।

मिति २०७६ बैशाख १२ गते, बिहिबार आयोजित कार्यालय उद्घाटन समारोहमा नेपाल ईन्जिनियर्स एशोसिएसन केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष एवं प्रमुख अतिथि प्रा.डा. त्रिरत्न बज्रचार्यले कुपन्डोल स्थित ने.ई.ए ३ नं. प्रदेशको सम्पर्क कार्यालयको उदघाटन गर्नुभयो । समितिले हेटौंडाको शितलमहल चोकमा यस अघि नै आफ्नो कार्यालय स्थापना गरिसकेको छ ।

कार्यक्रमको उद्घाटनमा बोल्दै अध्यक्ष बज्राचार्यले नेपाल इन्जिनियर्स एशोसिएसनले नेपाल पुनःनिर्माण प्राधिकरण मातहतमा कार्यरत इन्जिनियरहरुको समस्या समाधानका लागि समन्वयकारी भूमिका खेलेको बताउनुभयो । उहाँले केन्द्रिय समिति र प्रदेश समिति मिलेर सम्पूर्ण इन्जिनियरहरुको हकहीत र देश विकासका लागि काम गर्ने भएकाले सबै इञ्जिनियरहरुको साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यालय उदघाटन समारोहमा ३ नं. प्रदेश कार्यकारिणी समितिका सहसचिव ई. शरद पण्डितले गत चार महिनामा १५ वटा कार्यहरु सम्पादन गरेको प्रगति प्रतिवेदनमार्फत  प्रस्तुत गर्नुभयो । यस प्रथम प्रादेशिक कार्यकारिणी समितिले नियमित बैठक बस्दै आफ्नो कार्यहरु सम्पादन गर्दै आएको र आगामी दिनमा अझ सक्रिय रुपमा इन्जिनियरहरुप्रति उत्तरदायी रहनेगरि काम गर्न प्रतिबद्ध रहेको जानकारी सहसचिब पण्डितले  दिनुभयो  ।एशोसिएसनमा काम गर्ने दौरानमा हालसम्म आगलागीमा परेका इञ्जिनियरहरुको उपचारका लागि सहयोगार्थ ५० हजार, प्रस्तावित संघीय निजामति सेवा विधेयकका सम्बन्धमा प्राविधिकहरुको व्यवस्थापन बिषयमा अन्तरक्रिया कार्यक्रम, विभिन्न विभागहरु गठन गरिएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएको रिकु जलविद्युत आयोजनामा काम गर्ने कर्मचारीहरु प्रति गरिएको दुव्र्यवहारको बिषयमा आवाज उठाएको, इञ्जिनियरमाथि हातपात गर्नेलाई कानुनी कार्वाहीका लागि मुद्दा समेत चलाएको , इञ्जिनियर एसोसिएसनका सदस्य ई. समुन्द्र खड्कालाई उपचार स्वरूप ५० हजार रुपैयाँ सहयोग गरेको र ३ नं. प्रदेशको कार्यालय तथा सम्पर्क कार्यालय स्थापना गरिएको, र बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएको लगायत विवरणहरु समेत ई. पण्डितले  प्रस्तुत गर्नुभएको थियो  ।

कार्यक्रममा स्वागत मन्तब्य ने.ई. ए. प्रदेश न ३ का उपसभापति ई. डिल्लीराम भट्टले दिनु भएको थियो भने वर्तमान महासचिब ई. छबि पोख्रेल, ने.ई. ए. केन्द्रका  निवर्तमान अध्यक्ष ई. हरेराम श्रेष्ठ, पिनका अध्यक्ष ई. सम्भु श्रेष्ठ, सिडेनका महसचिब ई.बिनोद प्रकाश पण्डित लगायतका अतिथिहरुले शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।

सोहि अवसरमा ३ नं. प्रदेश कार्यकारिणी समितिले आफुले प्रकाशन गरेको क्यालेन्डरको बिमोचन समेत गरेको थियो ।

३ नं. प्रदेश कार्यकारिणी समितिका आगामी कार्यक्रमहरु 

विजनेस कमिटी यथासिघ्र गठन गरिने – सभापति नन्द लाल बञ्जाडे 

नेपाल इन्जिनियर्स एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले यथासिघ्र नै १० वटा विजनेस कमिटी गठन गर्ने भएको छ । उक्त कमिटीमा सबै पक्षलाई समेट्दै उल्लेखनीय कार्यक्रमहरु गर्ने लक्ष्य ३ नं. प्रदेश कार्यकारिणी समितिले राखेको छ । त्यस्तै गरि अब छिटै नै स्थानीय केन्द्रहरुको स्थापनाको लागि समेत तयारी हुदै गरेको जानकारी सभापति बन्जाडेले दिनु भयो । कार्यक्रम समापन गर्दै सभापति बन्जाडेले “हामीले दश वटा बिजनेस कमिटीहरु बनाउने निर्णय गरिसकेका छौं । चुनावको बेला कोहि पक्ष विपक्षमा बाँडिएता पनि यो कमिटी सबै पक्षलाई समेट्दै मिलेर सहकार्य  गर्दै अगाढी बढ्नेछ ।” भन्ने जानकारी समेत सभापति बन्जाडेले दिनुभयो ।

गुनासो फारम मोडेल 

नेपाल इन्जिनियर्स एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले गुनासो फारम मोडेल बनाएको छ  जसअनुरुप कुनै पनि इन्जिनियर/आर्किटेक्टले आफुले कार्यरत कुनै संस्था वा क्षेत्रमा कुनै समस्या भोग्नु परेको अवस्थामा, त्यस्ता गुनासोहरु ३ नं. प्रदेश कार्यकारिणी समितिको कार्यालयमा इमेल मार्फत वा गूगल डक्स मार्फत वा लेखेर वा फोनमार्फत समेत टिपाउनसक्नेछन । प्रचारप्रसार बिभाग अन्तर्गत संकलित गुनासोहहरु क्रमश बैठकमा पेश गरिने जानकारी प्रचारप्रसार बिभाग सदस्य ई. सुरज गौतमले इन्जिनियरखबरसमक्ष  जानकारी दिनुभयो ।

इञ्जिनियरिङ गान

त्यस्तै एशोसिएसनले नेपालको परिपेक्ष अनुरुपको इञ्जिनियरिङ गान तयार गर्ने र सोको  लागि इच्छुक श्रष्टाहरुलाई गीत रचना गर्न समेत आव्हान गरेको छ । यसअघि पनि इन्जिनियरिंग गानहरु बनेता पनि सो गीतहरु साधारण सभालबाट अनुमोदन नभएको हुदा  अब श्रष्टाहरुलाई रचना गर्न लगाई विज्ञहरुको टोलीबाट छनौट गरी साधारण सभाले अनुमोदन गरेर गानलाई अन्तिम रुप दिने जानकारी सभापतिले इन्जिनियरखबरसमक्ष दिनुभयो ।

त्यस्तै ने.ई.ए. ३ न प्रदेशका कोषाध्यक्ष तथा प्रचारप्रसार बिभाग संयोजक ई. राजन थापाले सो आवहान संग-संगै निश्चित मापदण्ड तथा उत्कृष्ट गानलाई पुरस्कृत समेत गरिने जानकारी दिनु भयो ।

 स्थानीय केन्द्रहरुमा सीप अभिबृद्धिका तालिमहरु सञ्चालन गर्ने ।

 कार्ययोजना तयार पार्ने ।

स्थानीय केन्द्र गठन गर्ने सम्बन्धी गृहकार्य गर्ने ।

 केन्द्रसँगको समन्वयमा अन्य राष्ट्रिय महत्वका बिषयहरुमा आवश्यक पहलकदमी लिने ।

 

[प्रेश बिज्ञप्ति]

[फोटो फिचर ]

Leave A Reply

Your email address will not be published.