भद्रपुर, १७ वैशाख : पूर्वी नाका काँकडभिट्टास्थित मेची नदीमा एशियाली राजमार्गको चार लेन सडकसँगै नयाँ पुल निर्माण हुने भएको छ । त्यसअन्तर्गत विस्थापितको सूचीमा परेकामध्ये चार परिवारलाई आज मुआब्जा बापतको रकम वितरण गरिएको छ ।
एशियाली विकास बैंकको रु एक अर्ब ५० करोड लगानीमा एशियाली राजमार्गका साथै मेची नदीमा नयाँ पुल निर्माण हुँदैछ । मुआब्जा निर्धारण समितिको निर्णयअनुसार चार परिवारलाई रु एक करोड १७ लाख २० हजारमध्ये रु दुई लाख ९३ हजार मालपोत कार्यालयबाट निर्धारित पूँजीगत लाभकर कट्टी गरी रु एक करोड १४ लाख २७ हजार मुआब्जा वितरण गरिएको हो ।
नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती र सडक विभागका डिभिजन इञ्जिनीयर श्यामकुमार यादवले संयुक्त रुपमा मुआब्जा रकम प्रदान गर्नुभयो ।
(रासस)