Engineeer Khabar

कृषक समूहलाई हाते ट्र्याक्टर

दमौली, १९ वैशाख : तनहुँको रिसिङ गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको छ । कृषिलाई  व्यावसायीकरण  र यान्त्रिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले १० कृषक समूहलाई ट्र्याक्टर वितरण गरेको हो । खेतबारी जोत्न सहज हुने र श्रम लागत घटाउने उद्देश्यसहित रु ६५ हजार मूल्य बराबरको हाते ट्र्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ । कृषिमा यान्त्रिकीकरण गर्न सके श्रम लागत घट्न गई आम्दानी बढाउन सकिन्छ ।”

गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव खेपिरहेका किसानलाई ट्र्याक्टर पाएपछि सहज हुने विश्वास गरिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार अरु मुलुकमा यान्त्रिकीकरणमार्फत किसानले थोरै लागतमा धेरै उत्पादन लिने गर्छन् । उहाँले भन्नुभयो, “हाम्रो मुलुकमा विकसित प्रविधि किसानको पहुँचमा पु¥याउन नसक्दा निर्वाहमुखी उत्पादनमा अल्झिएका छौँ ।”

रिसिङका अधिकांश भूभाग भिरालो भएकाले साना र हलुङ्गा किसिमका हाते ट्र्याक्टर किसानलाई उपयुक्त हुने बताइएको छ । पहिलो चरणमा १० समूहलाई वितरण गरिएको ट्र्याक्टर किसानको मागअनुसार थप उपलब्ध गराउँदै जाने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयवासी सीता श्रेष्ठले हाते ट्र्याक्टरले थोरै समयमा धेरै काम गर्न सकिने अनुभव बटुलेपछि यसतर्फ आकर्षित भएको बताउनुभयो । काहुँस्थित धनुबास कृषि समूहका अध्यक्ष दुर्गाबहादुर सिञ्जालीले गाउँमा पछिल्लो समयमा हल गोरु पाल्ने र जोत्न खुबी भएका युवाको अभावमा हाते ट्र्याक्टरले राहत मिलेको बताउनुभयो । गाउँपालिकाले उपलब्ध गराएको ट्र्याक्टर समूहमा आवद्ध किसानले पालैपालो प्रयोग गर्नेछन् । पछिल्लो समय गाउँघरमा हल गोरु पाल्ने र जोत्ने युवा विदेश पलायन हुदाँ खेतीयोग्य जमीन बाँझै छन् ।

पराशर आश्रम क्षेत्रमा उद्यान निर्माण

तनहुँको व्यास नगरपालिका–५ स्थित पराशर आश्रम क्षेत्रमा उद्यान निर्माण गर्न थालिएको छ । उक्त ठाउँलाई पर्यटनको आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित उद्यान निर्माण थालिएको हो । शहरी विकास मन्त्रालयको उद्यान निर्माण कार्यक्रमअन्तर्गत निर्माण हुने उद्यानमा विभिन्न संरचनाका लागि धमाधम काम भइरहेको निर्माणको ठेक्का पाएको न्यू ड्रागन एण्ड जेभीका इन्चार्ज विष्णुबहादुर खड्काले जानकारी दिनुभयो ।

न्यू ड्रागनले रु दुई करोड ७३ लाखमा १८ महीनामै उद्यान निर्माण गर्ने सम्झौता गरेको छ । खड्काका अनुसार उद्यानभित्र वनभोजस्थल, पौडीपोखरी, माछापोखरी, मत्स्यकन्याको शालिक, बास्केटबल कोर्ट, प्रतिक्षालय, पार्किङस्थललगायत संरचना निर्माण हुनेछ । भवन डिभिजन कार्यालय गोरखा शाखाले बोलपत्र आह्वान गरेको यो आयोजनालाई भवन डिभिजन कार्यालय कास्की जिल्ला शाखाले प्राविधिक सहयोग गरिरहेको छ । व्यास र पराशर ऋषिको जन्म एवं तपोभूमिमा निर्माण हुने उद्यानलाई पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्य लिइएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यानले आन्तरिक पर्यटन प्रवद्र्धन त गर्छ नै सँगसँगै धार्मिक पर्यटनमा पनि टेवा पुग्छ ।”

व्यास नगरपालिका–५ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पवित्र धार्मिक तीर्थस्थल व्यास र पराशर आश्रमको आश्रम नजिकै निर्माण हुने उद्यानले आन्तरिक पर्यटकलाई दमौलीमै घुम्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यानले यस वडालाई मात्रै नभएर सिङ्गो तनहुँ जिल्लाको पर्यटन प्रवद्र्धनका लागि भूमिका निर्वाह गर्नेछ ।” उद्यान निर्माण शुरु भएपछि यहाँका स्थानीयवासीसमेत हर्षित छन् । स्थानीयवासी रामकृष्ण श्रेष्ठले उद्यान निर्माणसँगै यस ठाउँको विकास हुने बताउनुभयो । स्थानीयवासी अनिता थापामगरले उद्यानले धार्मिकस्थल व्यास र पराशरको प्रचारप्रसारका लागि समेत सहयोग पुग्ने बताउनुभयो ।

(रासस)

Leave A Reply

Your email address will not be published.