Engineeer Khabar

सिन्धुलीबारे तस्बीर प्रदर्शनी

सिन्धुलीको ऐतिहासिक महत्व, वर्तमान अवस्था र भविष्यको गन्तव्य देखाउने तस्बीरको प्रदर्शनी आजदेखि पर्यटन बोर्ड भृकुटीमण्डपमा शुरु भएको छ ।

प्रर्दशनीमा विभिन्न पक्ष र विधामा सिन्धुली जिल्लाको महत्व झल्कने ३५ वटा तस्बीर राखिएको छ । आगामी बिहीबारसम्म चल्ने प्रदर्शनीमा सिन्धुलीगढी, हरिहरपुरगढी, सिन्धुलीको पहिचान बनेको जुनार खेती, प्राकृतिक सम्पदा, बिपी राजमार्गसहित त्यहाको भेषभूषा, रहनसहन झल्कने तस्बीर समेटिएको छ ।

समृद्ध सिन्धुली र फोटो नेपालको संयुक्त आयोजनामा भएको प्रर्दशनीको प्रा डा दिनेशराज पन्तले शुभारम्भ गर्दै प्रदर्शनीमा राखिएको जीवन्त तस्बीरले त्यहाँको इतिहास, वर्तमान जीवन्त र आशालाग्दो भविष्यको मार्ग देखाएको छ भन्नुभयो । क्याप्टेन किन लकको नेतृत्वमा रहेको ब्रिटिश सेनालाई असोज १५ गतेको दिन गोर्खाली सेनाले परास्त गरेको हुँदा आगामी दिनमा सोही दिनलाई विजय उत्सवका रुपमा मनाउन सुझाव पनि उहाँले दिनुभयो ।

पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले संसार नै जित्छु भनेर हिडेको बेलायती सेनालाई पहिलो पटक गोर्खाली सेनाले पराजित गरेको इतिहास बोकेको सिन्धुलीगढी र त्यस वरपरको क्षेत्रको महत्वलाई प्रदर्शीत तस्बीरका माध्यमबाट उजागर गरेको बताउनुभयो ।

फोटो नेपालका दीपक श्रेष्ठ र पत्रकार सौरभ ढकालले सिन्धुलीको गौरवपूर्ण गाथाको बारे आम नेपालीलाई जानकारी गराउने उद्देश्यले फोटो प्रदर्शन गरिएको जानकारी दिनुभयो । उक्त प्रदर्शनीका क्रममा पर्यटन, साहित्य, पदयात्रा र साइकल यात्रामा सिन्धुली विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पनि सो अवसरमा जानकारी दिइयो ।

रासस

Leave A Reply

Your email address will not be published.