Engineeer Khabar

इन्जिनियरिंग स्टाफ कलेजको अवधारणापत्र पेश: पुरा हेर्नुहोस [अवधारणापत्र सहित]

जेष्ठ ५ , काठमाण्डौ ।  नेपाल इन्जिनियर्स एशोसिएसनले प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायत सरोकारवाला मन्त्रालयका मन्त्रीहरुलाई भेटी इन्जिनियरिङ स्टाफ कलेजको अवधारणा पत्र पेश गरेको छ ।

गुणस्तरीय पूर्वाधार विकासको लागि इन्जिनियरहरुको क्षमता, दक्षता एवं सीपको अभिबृद्धि गर्न विभिन्न तालिम तथा प्रशिक्षणका लागि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्नुपर्ने भएकाले एशोसिएसनले अवधारणापत्र बनाएर पेश गरेको हो ।

निजामति सेवामा प्रवेश गरेपछि नयाँ कर्मचारी तथा पूरानालाई समेत प्रशिक्षण गराउन जावलाखेलमा नेपाल प्रशासनिक प्रक्षिक्षण प्रतिष्ठान अवस्थित छ । प्रशासन तर्फ यस्तो व्यवस्था भएता पनि प्राविधिक जनशक्तिहरुका लागि भने खोलिएको छैन । तसर्थ इन्जिनियरहरुलाई बिज्ञान तथा प्रविधिमा लगातार भइरहेको आविस्कार, अनुसन्धान र विकाससँगै उपलब्ध नयाँ नयाँ उपायहरुको प्रशिक्षक प्रशिक्षण गराई अद्यावधिक गराई राख्न इञ्जिनियरिङ स्टाफ कलेजको आवश्यकता परेको हो ।

 

इन्जिनियरिंग स्टाफ कलेज स्थापना सम्बन्धि अवधारणापत्र

भूमिका

“समृद्ध नेपाल – सुखी नेपाली” को नारालाई साकार रुप दिन र देशलाई अति कम विकसित मुलुकको स्तरबाट मध्यम आय मुलुकको दर्जामा स्तरोन्नति गर्ने वर्तमान नेपालको महाअभियानलाई सफल पार्न नेपालको हालको प्राविधिक र व्यबस्थापकीय क्षमतामा सामान्य सुधारमात्र होइन कि गुणात्मक फड्को नै मार्नु पर्ने आवश्यकता छ | लामो समयको राजनीतिक अस्थिरता, सामाजिक द्वन्द द्वन्द र आर्थिक पछौटेपन बेहोरेका नागरिकले देशको सामाजिक र आर्थिक क्षेत्रमा आमूल परिवर्तन र सामाजिक न्याय सहितको दिगो विकास र आर्थिक समृद्धिको तीव्र अभिलाषासँगै सुमधुर सपना देखेका छन् | देश र देशवासीको यो सपनालाई मूर्त रुप दिन देशको प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि र विकास व्यबस्थापनमा युगान्तकारी परिवर्तन आवश्यक छ | सोहि आवश्यकतालाई दृष्टिगत गर्दै नेपाल सरकारले पनि आफ्ना अल्पकालीन तथा दीर्घकालीन नीतिहरूमा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि र विकास व्यबस्थापनमा मानवीय संसाधन विकासको अपरिहार्यतालाई समावेश गरेको छ | नेपाल सरकारद्वारा हालै सम्माननीय राष्ट्रपति मार्फत संसदमा प्रस्तुत आ.व. २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रममा मानवीय क्षमता विकास तथा पूर्वाधार निर्माण (बुँदा नं. ४२); रेल, पानीजहाज, सुरुंग प्रविधि, खनिज अन्वेषण, जलाशययुक्त जलविद्युत जस्ता आयोजनालाई आवश्यक पर्ने प्राविधिक तथा व्यावसायिक दक्ष जनशक्ति विकास (बुँदा नं. १६५) ; प्राविधिक  शिक्षामा  नेपालको मौलिक कला, संस्कृति र ज्ञानको संरक्षण तथा प्रवर्द्धन गर्ने सीपयुक्त जनशक्ति विकास (बुँदा नं. १६६) ; असल, सीपयुक्त र सिर्जनशील जनशक्ति विकास गर्न विज्ञान, प्रविधि र अनुसन्धानमा लगानी वृद्धि (बुँदा नं. १६७) जस्ता नीतिगत विषयहरू समावेश गरिएका छन् , जसले देशको विद्यमान प्राविधिक र विकास व्यबस्थापनको क्षमतामा उल्लेख्यमात्रामा वृद्धि गर्नु पर्ने टड्कारो आवश्यकतालाई औंल्याएको छ |

माथि उल्लेख भएका प्राविधिक जनशक्तिको विकास र क्षमता अभिवृद्धिको आवश्यकतालाई  केवल विद्यालय, तथा विश्वविद्यालयका औपचारिक शिक्षाले मात्र पूरा गर्न सक्दैनन् | विज्ञान तथा प्रविधिमा लगातार भैरहेको आविष्कार, अनुसन्धान र विकाससँगै उपलब्ध नयाँ नयाँ उपायहरूको समय सापेक्ष उपयोग र दिनदिनै सामना गर्नु परिरहेका नयाँ नयाँ समस्याहरू हल गर्न सक्षम दक्ष मानवीय संसाधनको विकासको लागि प्राविधिक जनशक्तिलाई निरन्तर र नियमित रुपमा प्रशिक्षित र अद्यावधिक गराइ राख्नु जरुरी हुन्छ | नेपालमै पनि प्रशासनिक क्षेत्रमा सो आवश्यकतालाई सम्बोधन गर्न नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान कार्यरत छ | प्राविधिक क्षेत्रमा भने सडक, विद्युत, खानेपानी, सिंचाई, दूरसंचार जस्ता क्षेत्रका प्राविधिक निकायले आ-आफ्नै पहलमा तालिम, प्रशिक्षण, क्षमता अभिवृद्धि र निरन्तर शिक्षाको आवश्यकतालाई जसोतसो काम-चलाउ ढंगबाट संचालन गरिरहे पनि प्राविधिक जनशक्तिको निरन्तर शिक्षा, तालिम-प्रशिक्षण, क्षमता अभिवृद्धि र ज्ञान-सीप लाई निरन्तर अद्यावधिक गराई राख्ने एउटा स्थायी र एकिकृत संरचना नेपालमा अझै अस्तित्वमा आइसकेको छैन | राष्ट्रिय योजना आयोगले आ.व. २०६६/६७ मा इन्जिनियारिंग स्टाफ कलेजको स्थापनाको आवश्यक तयारीको लागि कार्यदल बनाई काम शुरु गरेको र भवन विभागमार्फत सम्भाव्यता अध्ययन गराइएको भए पनि सरकार परिवर्तनसँगै सरकारी प्रतिबद्धताको अभावमा सो प्रयासले निरन्तरता पाउन सकेन | अन्तर्राष्ट्रिय तहमा समेत यस सम्बन्धि निरन्तर शिक्षाको आवश्यकतालाई सम्बोधन गर्न अन्य विकासशील तथा विकसित देशमा पनि इन्जिनियरिंग स्टाफ कलेजको व्यबस्था गरिएको हुन्छ, जसमार्फत प्राविधिक जनशक्तिहरू निरन्तर तथा नियमित रुपमा प्रशिक्षित र अद्यावधिक भइरहन सक्छन् |

इन्जिनियरिंग स्टाफ कलेज स्थापनाको औचित्य

नेपाली जनताको आजको चाहना भनेको आर्थिक उन्नति, राष्ट्रिय समृद्धि, उँचो स्वाभिमान हो | विगतमा ३ तहको निर्वाचन सम्पन्न भई मुलुकमा नयाँ राजनीतिक वातावरण बनिसकेको हालको अवस्थामा दिगो शान्ति स्थापना गर्नु, संविधान कार्यान्वयन गर्नु, राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु, न्यायपूर्ण विकासको अग्रगामी मार्ग तयार गर्नु, अन्तर्राष्ट्रिय स्तरका भौतिक संरचनाहरू निर्माण गर्नु जस्ता अहम् दायित्वहरू हाम्रा काँधमा छन् | यसका लागि अझ बढी सिर्जनशील भई नेपाली इन्जिनियरिंग पेशाकर्मी समुदायलाई सक्षम नबनाई हाम्रो उक्त दायित्व पूरा गर्न सम्भव छैन | नेपालले विकास व्यबस्थापनमा सामना गर्नु परेका प्रमुख समस्याहरू मध्ये वार्षिक बजेटले निर्दिष्ट गरेको पूँजीगत खर्च ज्यादै न्यून हुनु पनि एक हो, जसको अर्थ हो आयोजनाको पूर्व सम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन, बिस्तृत सम्भाव्यता अध्ययन, कार्यान्वयन र प्राविधिक परीक्षण जस्ता आयोजना चक्रका हरेक तहमा हाम्रा विकास व्याबस्थापक र अझ विशेषगरी प्राविधिक जनशक्तिले ज्ञान, क्षमता र दक्षतामा सुधार्नु पर्ने थुप्रै ठाउँहरू विद्यमान छन् |  विकास निर्माण कार्यमा विज्ञ समुदाय सहित संलग्न प्राविधिक जनशक्तिले योजना निर्माण; प्राथमिकीकरण; छनौट; आवश्यक साधन स्रोतको पहिचान र परिचालन; प्राप्त हक अधिकारको संरक्षण-उपभोग; अल्पकालीन, मध्यकालीन र दीर्घकालीन माग र आपुर्तिको विश्लेषण जस्ता विषयहरूमा इन्जिनियरिंग पेशाकर्मीहरूको हालको ज्ञान, सीप, क्षमता र दक्षतामा उल्लेख्यमात्रामा अभिवृद्धि गर्न अनिवार्य छ, जसको माध्यमबाटमात्र तीव्र आर्थिक विकास र न्यायोचित वितरण सहितको “समृद्ध नेपाल र सुखी नेपाली” को लक्ष्य हासिल गर्न सकिन्छ | देशका सामु रहेका यी विहंगम कर्यभारको सफल नेतृत्व दिन र गुणस्तरीय भौतिक संरचनाहरूको निर्माण र संचालनको सुनिश्चितता गर्न नेपालमा एउटा इन्जिनियरिंग स्टाफ कलेज स्थापना गर्न आवश्यकता छ | संक्षिप्तमा निम्न उद्देश्यहरूका लागि इन्जिनियरिंग स्टाफ कलेज स्थापना जरुरी छ :

– समयासापेक्ष तथा गुणस्तरीय पूर्वाधार विकासको सुनिश्चितताको लागि आवश्यक जनशक्ति तयार गर्न

– विज्ञान प्रविधिको विकाससँगै नयाँ तथा आधुनिक आयोजना, परियोजना निर्माण तथा संचालन गर्न सक्षम प्राविधिक जनशक्ति देशभित्रै तयार गर्न

– राष्ट्रिय गौरव तथा बृहत्तर महत्वका ठूला आयोजना कार्यान्वयन गर्न सक्षम विकास व्यवस्थापक र दक्ष प्राविधिक जनशक्तिको दिगो आपूर्ति गर्न

– नेपालको आफ्नो स्रोत, साधन, र आवश्यकताको आधारमा अन्तर्राष्ट्रियस्तरमा प्राप्त सूचना, ज्ञान, सीप र प्रविधिको उपयोग गर्न सक्ने दक्ष जनशक्ति विकास गर्न

– नेपालको वस्तु तथा सेवाको उत्पादनलाई थप दक्ष, स्तरीय र प्रतिस्पर्धी बनाई उच्च उत्पादकत्व र उच्चतम प्रतिफल दिन सक्ने बनाउन

– क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा भएका ज्ञान, सीप, नवीनतम आविष्कार तथा अनुभवलाई नेपालको आवश्यकता अनुसार प्रयोग गर्न सक्ने बनाउन

– नयाँ नयाँ रोजगारीको अवसरको सम्भावना र सिर्जनाको लागि तालिम तथा क्षमता विकासको आवश्यकता पूरा गर्न

– नेपाल सरकारले अवलम्बन गर्नु पर्ने नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी इन्जिनियरिंग क्षेत्रका विविध बिधामा अध्ययन अनुसन्धान गर्न

– देशको लागि आवश्यक मानवीय संसाधन र प्राविधिक जनशक्तिको अल्पकालीन तथा दीर्घकालीन आवश्यकताको अनुमान तथा प्रक्षेपण गर्न

– नेपालबाट विविध कारणले बिदेशिएका नेपाली इन्जिनियरिंग पेशाकर्मी युवाहरूलाई नेपालमै फर्कन प्रोत्साहन गरी युवा स्वरोजगार कार्यक्रम, बिना धितो ऋणको व्यवस्था मार्फत स्वयम् व्यवसायको सिर्जना जस्ता आकर्षक उपायहरूमार्फत देशलाई औद्योगीकरणतर्फ उन्मुख गराई देशमै रोजगारीको सिर्जना गर्न |

– अत्याधुनिक सूचना प्रविधिमा आधारित ज्ञान, सीप, क्षमताको विकाससँगै औद्योगीकरण र रोजगारीको अवसर तयार गर्न |

 इन्जिनियरिंग स्टाफ कलेज स्थापनाको विधि 

नेपाल सरकारले विकास समिति ऐन २०१३ को परिधिभित्र रही तत्कालको लागि गठन आदेश मार्फत इन्जिनियरिंग स्टाफ कलेजको स्थापना गर्न सक्ने छ | सो संस्था नेपाल सरकारकै कुनै एक प्राविधिक मन्त्रालयको संरक्षकत्वमा रहने तथा सम्बन्धित सरकारी, गैर सरकारी तथा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संचालक समितिको निर्देशनमा संचालन हुने एउटा अर्ध स्वायत्त निकाय हुने छ | गठन आदेश मार्फत स्थापित निकायले एउटा स्थायी र दिगो इन्जिनियरिंग स्टाफ कलेज स्थापनाको लागि आवश्यक कानूनी तथा संस्थागत संरचनाको लागि आवश्यक आधारभूत कार्यहरू गर्ने छ र अन्तत: उक्त स्थायी निकायमा आफूलाई रुपान्तरणको लागि आवश्यक गृहकार्य गर्ने छ |

संस्थागत संरचना

विद्यमान नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको संरचनालाई नै सन्दर्भको रुपमा लिई संस्थागत संरचना र संचालनको विधि तय गरिने छ , साथै प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिको लागि सरकारी,, निजी र सहकारी सबै क्षेत्रलाई मागको आधारमा सेवा दिन सक्षम निकायको रुपमा विकास गर्ने लक्ष्य राखिने छ | भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको अध्यक्षतामा बन्ने संचालक समितिमा राष्ट्रिय योजना आयोग, अन्य प्राविधिक मन्त्रालयहरू, निजी क्षेत्र, निर्माण व्यबसायी, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, नेपाल इन्जिनियरिंग एशोसियसन, इन्जिनियरिंग प्राज्ञ / विश्वविद्यालय , इन्जिनियरिंग परिषद, प्राज्ञिक तथा गैर सरकारी निकायको प्रतिनिधित्व रहने गरी गठन गरिनेछ | विभिन्न प्राविधिक मन्त्रालय, बिभाग तथा प्राधिकरण अन्तर्गत हाल संचालन भई अस्तित्वमा रहेका तालिम केन्द्र तथा क्षमता अभिवृद्धि एकाइहरूलाई आवश्यक समन्वय र सबलीकरण गर्दै यसै स्टाफ कलेजको कार्यक्षेत्रभित्र समाहित गर्न सकिनेछ | कलेज संचालनको आर्थिक व्ययभार यथासक्य कम राख्न न्युनतम आवश्यक कर्माचारीमात्र कलेजको संरचनाभित्र राखिने छ र आवश्यक विज्ञहरूको रोस्टरबाट मागअनुसारको सेवा लिन सकिने गरी विज्ञ समूह तयार गरिने छ | नेपाल सरकारको सहमति लिएर आवश्यक पर्दा वाह्य संस्था वा निकायको सेवा पनि खरीद गर्न सकिने छ |  नेपाल सरकारको निर्णय अनुसार प्रस्तावित कलेज नेपाल सरकारको मातहतका कुनै निकाय वा संस्थाको स्वामित्वमा रहेका भौतिक संरचनाहरू नै सदुपयोग गर्ने गरी स्थापना सकिने छ |

 इन्जिनियरिंग स्टाफ कलेजको कार्यक्षेत्र  

नेपालमा विद्यमान र भविष्यमा हुन सक्ने इन्जिनियरिंग विधाका सबै बिषयगत क्षेत्रहरू र तहहरू अन्तर्गतको  निरन्तर शिक्षा र क्षमता अभिवृद्धि यस कलेजको कार्यक्षेत्रभित्र पर्नेछ |

इन्जिनियरिंग स्टाफ कलेजको दिगोपनाको लागि संचालन कार्यविधि   

कलेजको दिगो संचालनको लागि व्यावसायिक योजना मुताविक सरकारी, गैर सरकारी, सहकारी र निजी सबै क्षेत्रलाई आवश्यकताको सिद्धान्त बमोजिम प्रतिस्पर्धात्मक सेवा प्रवाह गर्ने र सो वापत शुल्क लिने व्यवस्था मार्फत कलेजको दिगोपानाको सुनिश्चितता गरिनेछ | तथापि, शुरुका दिनहरूमा नेपाल सरकारको आर्थिक, प्राविधिक र समन्वयकारी सहयोगको आवश्यकता पर्छ |

इन्जिनियरिंग स्टाफ कलेज स्थापनापछि अपेक्षित प्रतिफल

– कलेजको स्थापना पछि देशले निम्न बमोजिमको प्रतिफल हासिल गर्ने छ :

– देशको पूर्वाधार विकास लगायत सम्पूर्ण विकास निर्माणका क्षेत्रमा हाल कार्यरत तथा भविष्यमा संलग्न हुन सक्ने सम्पूर्ण इन्जिनियरिंग पेशाकर्मीहरूको प्राविधिक ज्ञान, सीप, दक्षता र क्षमता अभिवृद्धिको लागि एउटा दिगो र स्थायी संरचना बन्नेछ

– राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा इन्जिनियरिंग प्रविधिको क्षेत्रमा भएका नवीनतम उपलब्धिहरूको बारेमा देशको इन्जिनियरिंग पेशाकर्मीहरू जानकार हुनेछन् |

– देशको “समृद्धि नेपाल: सुखी नेपाली” को राष्ट्रिय सपनालाई साकार बनाउन आवश्यक सक्षम प्राविधिक जनशक्ति देशभित्रै तयार हुने छ, त्यसमा कार्यरत प्राविधिक जनशक्तिले निरन्तर शिक्षा, पेशागत क्षमता अभिवृद्धि, वृत्ति विकास र पेशागत प्रगतिको अवसरहरू देशभित्रै प्राप्त गर्ने छ |

– देशभित्र कार्यरत प्राविधिक जनशक्तिको सीप, दक्षता र क्षमता अभिवृद्धिको अवसर देशभित्रै प्राप्त हुँदा सोको लागि देश बाहिर जान सक्ने सम्भावित वित्तीय स्रोतलाई कम गर्न सकिनेछ, जसले केहि हदसम्म वैदेशिक मुद्रा संचितिमा सहयोग पुर्याउने छ |

– प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिबाट प्रतिस्पर्धी क्षमता र रोजगारी प्राप्त गर्न सक्ने सम्भावनामा वृद्धि हुने, उत्पादकत्व बढ्ने, कार्य-कुशलता थपिने, कामको गुणस्तरमा बढोत्तरी आउने छ |

Leave A Reply

Your email address will not be published.