Engineeer Khabar

मेलम्चीका सप्लायर्सद्वारा रु डेढ अर्ब बक्यौता उठाउन माग

मेलाम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी र विभिन्न निर्माण सामग्री आपूर्ति गर्ने स्थानीय व्यवसायीहरुले इटालिएन ठेकेदार कम्पनी सीएमसीसँगको झण्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठाई दिन आयोजनालाई गुहारेका छन् ।

आयोजनामा कार्यरत कर्मचारी, स्थानीय व्यवसायी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलले आज मेलम्ची खानेपानी विकास समितिको कार्यालयमा आफ्ना माग पूरा नभएसम्म आयोजनाको काम अघि बढ्न नदिने चेतावनी दिएको छ ।

प्रतिनिधिमण्डलले समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई भेटेर सीएमसी कम्पनीको धरौटी रकमबाट बक्यौता रकम भराई दिन माग गरेको छ । सीएमसी कम्पनीका प्रतिनिधि अन्तिम समयमा आएर गत डिसेम्बर १५ मा आयोजनमा कार्यरत ८५० जना मजदुरको तलब भत्ता र ५० स्थानीय व्यवसायीको डेढ अर्ब रुपैयाँ बाँकी राखेर अकस्मात सबै काम छोडेर नेपालबाट भागेका थिए ।

सो कम्पनीको नेपालमा हाल धरौटी र भुक्तानी लिनुपर्ने रकम गरी झण्डै रु तीन अर्ब बाँकी रहेको आयोजनाले जनाएको छ । भेटमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्नुहुने सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले स्थानीय व्यवसायीले आयोजनामा नै निर्माण सामग्री आपूर्ति गरेकाले मुख्य ठेकदार भागे पनि आयोजना पक्षसँगै रकम माग राख्नु स्वभाविक भएको बताउनुभयो ।

साथै उहाँले विदेशी ठेकेदार कम्पनीको धरौटी रकमबाट स्थानीय व्यवसायी बक्यौता भराई दिने कानून नभए पनि सरकारले कुनै कानूनी बाटो निकालेर समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । समितिका कार्यकारी निर्देशक कँडेलले मेलम्ची आयोजनाका कर्मचारीको तलब भत्ता र स्थानीय व्यवसायीको बक्यौताको समस्या सम्बन्धमा अध्ययन समिति बनाउने निर्णय भई सकेको बताउँदै स्थानीयका माग र समस्या समाधान गर्न समिति सकारात्मक रहको जानकारी दिनुभयो ।

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति आइतमान तामाङले स्थानीय जनताले काम गरेको भुक्तानी नपाउनु दुःखद् भएको बताउँदै स्थानीयका समस्या समाधान गरेर मात्र आगामी दिनमा आयोजनाको काम अघि बढाउन सरकारलाई सुझाव दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकका क्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालले स्थानीयको समस्याबारे सरकारले हालसम्म आवश्यक चासो नदिएको गुनासो गर्दै यथावस्था मै आयोजनाको काम अघि बढाए मूर्खता हुने विचार व्यक्त गर्नुभयो । स्थानीय व्यवसायी किरण थापा र राजकुमार भट्टराईले आयोजनालाई निर्माण सामग्री आपूर्ति गर्ने क्रममा उपकरण खरिद र मजदुरको पारिश्रमिकका लागि लिएको ऋणको भार थपिँदै गएको गुनासो गर्दै तत्काल बक्यौता रकम उपलब्ध गराउन समितिले पहल गर्नुपर्ने माग गर्नुभयो ।

आयोजनाका कर्मचारी देवीरमण अधिकारीले ८५० कर्मचारीको चार महिनाको तलब भत्ता भुक्तानी लिन बाँकी रहेको बताउँदै आयोजना सम्पन्न गर्न आफूहरु सधैँ तयार रहेको समेत अवगत गराउनुभयो ।

रासस

Leave A Reply

Your email address will not be published.