Engineeer Khabar

नेपालमै पहिलो पटक ड्रोनबाटै खकार नमुना संकलन 

प्युठान २० जेठ: क्षयरोगको पहिचान र नियन्त्रणका लागि प्युठानका दुई स्थानीय तहमा ड्रोनमार्फत बिरामीको खकार नमुना परीक्षण र औषधी वितरण गर्ने नयाँ ड्रोट्स परियोजना सुरु भएको छ।

अब स्वास्थ्यचौकी घरदेखि टाढा भएर वा जँचाउन लैजाने मान्छे नभएर वा कुनै कारणले परिक्षण गर्न  सकिएन भन्ने गुनासो सुन्न नपर्ने भएको छ । प्यूठानमा ड्रोनले खकारको नमुना स्वास्थ्य संस्थासम्म पुर्‍याउँछ । मानवरहित ड्रोनको प्रयोगद्वारा दुवै नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्रहरुबाट खकारको नमुना संकलन गरेर जिल्ला अस्पताल र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालासम्म पुर्याइ, जिन एक्स्पर्ट मेसिनबाट खकार जांच गरेर क्षयरोग हो या होइन पत्ता लगाउने काम गरिनेछ |  

सन् २०५० सम्म क्षयरोग उन्मुलन गर्ने लक्ष्यले प्यूठान जिल्लाको स्वर्गद्वारी र प्युठान नगरपालिकामा एसीयामै पहिलो पटक जेठ १९ गते एक औपचारिक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवत्ता महेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका छन् ।  क्षयरोग न्यूनिकरणकोलागी स्वास्थ्यकर्मीहरुलाई नयाँ प्रविधिबाट क्षयरोगका विरामीहरु पत्ता लगाउन र बिरामीहरुलाई उचित समयमा उपचार गर्ने उदेश्यले एसीयामै पहिलो पटक प्यूठानबाट यस परियोजना सुरु भएको जिल्ला जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

ड्रोनेपाल प्राइभेट लि., नेपाल फ्लाइंग ल्याब्स, ह्वी रोबोटिक्स, लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिन र स्टोनी ब्रुक युनिभर्सिटीको प्राविधिक सहकार्य तथा निक साइमन फाउन्डेसनको आर्थिक सहयोगमा, बिराट नेपाल मेडिकल ट्रस्टले यस परियोजना सुरु गर्न लागेको हो | बिराट नेपाल मेडिकल ट्रस्ट अन्तर्गत यस परियोजनाको जिल्ला कार्यक्रम संयोजक श्रद्दा आचार्यका अनुसार यस परियोजनामा ३ मुख्य कार्यक्रम संचालन हुदैछन् ;

१ ) ड्रोनको माध्यमले दुर्गम स्थानमा रहेका क्षयरोग संक्रमित व्यक्तिहरुको खकारको नमुना दुईवटा नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य केन्द्रहरुबाट संकलन गरि जिल्ला अस्पतालको प्रयोगशाला र भिंग्री प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालासम्म पुर्याई, अत्याधुनिक जिन एक्स्पर्ट मेसिनबाट खकार जांच गरि क्षयरोग हो या होइन पत्ता लगाउने;

२) दुर्गम स्थानमा बस्ने क्षयरोगका विरामीहरुलाई दैनिक उपचारमा आउन गार्हो हुने कारणले स्मार्ट  पिलबक्स (Smart pillbox) अथवा Medication Event Reminder Monitor System (MERMS) को सहयोगले उपचार गरिने; यो प्रविधि मार्फत बिरामीले औषधी खाएको वा नखाएको निगरानी गर्न सकिनेछ;  

३) स्वास्थ्यकर्मी र बिरामीहरुलाई क्षयरोगको रोकथाम र उपचारमा सचेत गराउन  जनचेतनामुलक भिडियो ट्युटोरियल (video tutorials) हरुको पनि प्रयोग गरिने |

बिराट नेपाल मेडिकल ट्रस्टले बिगत ५० वर्षदेखि नेपालमा राष्ट्रिय क्षयरोग केन्द्र र विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यालयहरुसँगको सहकार्यमा क्षयरोग पहिचान र नियन्त्रण सम्बन्धी विभिन्न कार्यक्रम एवं कृयाकलापहरु गर्दै आइरहेको छ | त्यसैगरी ड्रोनेपाल  प्रा. लि.ले विगत तीन वर्षदेखि ड्रोनको प्रयोग गरी सर्वेक्षण र नक्साङ्कनका साथै विपद् व्यवस्थापनका कार्यहरु गर्दै आइरहेको छ | यस परियोजनामा ड्रोन सम्बन्धित प्राविधिक सहकार्य ड्रोनेपालले गर्नेछ |

नेपालमा दैनिक १२३ जना क्षयरोगबाट संक्रमण हुने गर्दछन र कति स्थानमा भौगोलिक अवस्था र स्वास्थ्य संस्थाको दुरीका कारण रोगको पहिचान तथा सहि समयमा उपचार हुन सकिरहेको छैन | त्यसैले कठिन तथा दुर्गम स्थान लक्षित गरी, नविनतम प्रविधि मध्य एक,ड्रोनको प्रयोगमार्फत क्षयरोग पहिचान र उपचारमा सेवा प्रदान गर्ने उदेश्य सहित यस परियोजनाको सुरुवात गर्न लागिएको हो । यस प्रयासलाई स्थानीय निकायले पनि सकारात्मक रुपमा लिएको पाइएको छ | उद्घाटन सत्रमा उपस्थित स्थानीय निकायका पदआधिकारीहरुबाट पनि यो कुराको पुष्टि हुन्छ | जस अन्तर्गत जिल्ला प्रशासन कार्यालय- प्युठान अन्तर्गत  दुवै नगरपालिकाका मेयर,दुवै नगरपालिकाका पदाधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष, प्युठान जिल्ला प्रहरी, इन्द्रधोज गन्, अनुसन्धान प्रमूख, शसत्र प्रमूख, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थितिमा यस कार्यक्रम सम्पन्न भएको थियो |

परियोजनाको प्रथम चरण, प्रयोगात्मक चरण अन्तर्गत सुरुवाती दिनहरुमा जिल्ला अस्पताल प्युठान र  PHC भिंग्रीबाट ४ स्थानमा रहेका स्वास्थ्य चौकीहरुमा ड्रोन उडाएर औषधी र  खकारको नमुना ढुवानीमा प्रयोग सुरु गरिनेछ | नौलो किसिमको परियोजना र ड्रोनको संवेदनशिलतालाई पनि मध्यनजर गर्दै यस परियोजनामा संलग्न संस्थाहरुले विभिन्न चरणमा नगरवासी र जिल्लावासीहरुमा परियोजनाको जानकारी, ड्रोन उडान र उडान मार्गको बारेमा जानकारी दिने कार्यक्रमहरु पनि संचालन गरिरहेका छन् |

नेपाल फ्लाइंग ल्याब्सका संयोजक उत्तम पुडासैनीका अनुसार “यस परियोजना अन्तर्गत ड्रोन संचालनका लागि स्थानीय सरकार (स्वर्गद्वारी,प्युठान नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय), प्रादेशिक सरकार (सामाजिक विकास मन्त्रालय – बुटवल -प्रदेश ५), सम्बन्धित मन्त्रालयहरु (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय) तथा अन्य सरोकारवाला निकायहरु (नागरिक उड्डययन प्राधिकरण र राष्ट्रिय क्षयरोग केन्द्र) बाट सिफारिस तथा अनुमति प्राप्त गरेर मात्रै परियोजनाको संचालन गरिएको थियो |” ड्रोन आफैमा धेरै नै संवेदनशील प्रविधि भएको र यसको उचित प्रयोग र अनुगमनकोलागी आवश्यक कानुन र प्राविधिक पूर्वाधार निर्माणको क्रममा नै रहेकोले, परियोजनामा संलग्न विभिन्न निकायहरुलाई यस परियोजनाको उपयोगिता बुझाउन र अनुमति प्राप्त गर्न लगभग ६ महिनाको समय लागेको पुडासैनीले बताउनुभयो |

उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्रालय-योजना विभागका प्रमूख महेन्द्र बहादुर श्रेष्ठले नेपालका दुर दराज गाउँ र दुर्गम स्थानमा रहेका जनताहरुलाई स्वास्थ्यको पहुँचमा लिएर आउन ड्रोन निकै नै प्रभावकारी प्रविधि हुनसक्ने र प्रयोगात्मक चरणको नतिजा हेरी यसलाई मन्त्रालय अन्तर्गतको डीजिटल स्वास्थ्य कार्यक्रममा पनि लगेर  ग्रामिण स्वास्थ्य संस्थामा ड्रोनको उपयोगिताको बढावा गर्न सकिने बताउनु भयो | ड्रोन, उचित नियमन र अनुगमनका साथ प्रयोगमा ल्याउन सके नेपाल जस्तो भौगोलिक जटिलता भएको देशमा ग्रामिण स्वास्थ्य, विपद् ब्यवस्थापन, सर्वेक्षण र नक्सांकन, कृषि, सहरी योजना लगायतका विभिन्न उपयोगी कार्यमा प्रयोग गर्न सकिनेछ | नेपाल सरकार- गृह मन्त्रालयले केहि महिना अघि मात्रै ड्रोन उडान सम्बन्धि नयाँ कार्यविधि पनि ल्याएको छ जस अन्तर्गत ड्रोन उडानलाइ नियमित गर्नको लागि सम्पूर्ण ड्रोनहरु नेपालमा रजिस्टर गरि, रजिस्ट्रेसन नम्बर प्राप्त गरेर मात्रै उडाउन पाइने व्यवस्था छ |    

http://www.moha.gov.np/en/post/drone-related-procedure-2019 यस लिंकबाट अझै वृस्तृतरुपमा जानकारी प्राप्त गर्न सकिनेछ |   

Leave A Reply

Your email address will not be published.