Engineeer Khabar

विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजना ४५ औँ विश्व वातावरण दिवसका अवसर पारी आज वृक्षरोपण गरिएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ तल्लो अस्तामस्थित जनकल्याण आधारभूत विद्यालयको प्राङ्गणमा एभोकाडो, चाँप, धुपी, दालचिनीलगायत विभिन्न जातका ८० बिरुवा रोपिएको हो ।

सङ्घले सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपणलगायतका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष हरि भुजेलले बताउनुभयो । वृक्षरोपण गरिएका बिरुवाको संरक्षण गरिएमा यसको औचित्य पुष्टि हुने बताउँदै उहाँले यसको संरक्षण लागि विद्यालय परिवार एवं अभिभावकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले वातावरण संरक्षण मानवीय जीवनका लागि अत्यावश्यक भएको बताउँदै यसका लागि वृक्षरोपणको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो । पर्यटन सम्बद्ध संस्थाले विद्यालय परिसरलाई लक्षित गरी यस किसिमको कार्यक्रम राख्दा भविष्यको कर्णधार विद्यार्थीमा पर्यटनप्रतिको अभिरुचि बढेर जाने उहाँले बताउनुभयो ।

कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष दीपकराज अधिकारी, कार्यक्रम संयोजक चन्द्र भुजेल, विद्यालयका प्रधानाध्यापक रुद्रनाथ अधिकारी, वडा सदस्य लोकराज अधिकारी, माछापुच्छ«े पर्यटन समितिका सल्लाहकार विश्वराज अधिकारी, संघका सचिव जीवन सापकोटालगायतले वृक्षरोपणको महत्व सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको थियो । उक्त अवसरमा टानका तर्फबाट विद्यालयलाई डस्बिन, शैक्षिक सामग्री एवं आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

रासस

Leave A Reply

Your email address will not be published.