Engineeer Khabar

विकास योजना अनुगमन

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा भए गरेका विभिन्न विकास योजनाको जिल्ला समन्वय समितिको एक टोलीले स्थलगत अनुगमन गरेको छ ।

टोलीले सङ्घ, प्रदेश र स्थानीय सरकारबाट आर्थिक वर्ष २०७५÷७६ मा बजेट विनियोजन गरी निर्माणाधीन एवम् सम्पन्न भइसकेका वडा नं– १ देखि ६ सम्म एक दर्जन भन्दा बढी विकास निर्माण योजनाको अनुगमन गरेको हो ।

सो अवसरमा नाउडाँडा, अधिकारीडाँडा हुँदै कार्कीतहरा सडक, नागडाँडा सेराचौर ग्रामीण सडक, शेराचौर एक घर एक धारा खानेपानी योजना,कांँडे, भदौरे, सल्यान ग्रामीण सडक, विभिन्न वडा कार्यालय भवन, स्वास्थ्यचौकीलगायत शीतल गुफाको समेत अवलोकन गरिएको थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर क्षेत्रीले स्थलगत अनुगमन पश्चात उपभोक्ता समिति एवम् जनप्रतिनिधिसँग विकास निर्माणका बारेमा जानकारी लिँदै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विकास निर्माणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले प्राविधिकले तोकिएको मापदण्डअनुसारको काम भए नभएको निगरानी राख्नुपर्नेमा जोड दिनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पालिकाका सबै वडामा विकास निर्माणको काम तीव्र रहेको उल्लेख गर्दै विनियोजित रकमको ७० प्रतिशत भन्दा बढी खर्च भइसकेको जानकारी दिनुभयो ।

समन्वय सदस्य तोरण बाँनियाका अनुसार प्राविधिकसहितको टोलीले यस अघि जिल्लाका रुपा, मादी, र माछापुच्छे्र गाउँपालिकाको स्थलगत अनुगमन गरिसकेको छ । टोलीमा समन्वयका पदाधिकारी तथा सदस्य, समन्वय अधिकारी, प्राविधिकलगायतको सहभागिता रहेको थियो ।

रासस

Leave A Reply

Your email address will not be published.