Engineeer Khabar

भूकम्प प्रभावित जोरबुद्ध–नेले–बोगल सडक हस्तान्तरण

0

भूकम्पीय आपत्कालीन सडक आयोजनाअन्तर्गत पुनःनिर्माण सम्पन्न गरिएको सोलुखुम्बुको जोरबुद्ध–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ । सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईले प्रदेश नं १ अन्तर्गतको पूर्वाधार विकास कार्यालय ओखलढुङ्गा डिभिजनलाई हस्तान्तरण गर्नुभयो ।

सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–७ जोरबुद्धबाट शुरु हुने २२ किलोमिटर लामो सडक थुलुङ दूधकोशी गाउँपालिका–७ बोगलसम्म पुग्छ । सडक रु ३४ करोड दुई लाख ६९ हजारको लागतमा पुनःनिर्माण भएको हो । सडकको पुनः निर्माणपछि महाकुलुङ, सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाका भूकम्पीडितलाई घर बनाउन निर्माण सामग्री लैजान सजिलो भएको छ ।

आयोजनाका वरिष्ठ इञ्जिनीयर बुद्धिनारायण श्रेष्ठका अनुसार यी गाउँपालिकाका तीन हजार ९८८ क्षतिग्रस्त घरमध्ये दुई हजार ९०७ को पुनः निर्माणका लागि निर्माण सामग्री ढुवानी गर्न यो सडकले मद्दत गर्छ । समितिका प्रमुख राईले सडक निर्माणपछि अन्य स्थानीय पूर्वाधार निर्माण गर्न सहज भएको बताउनुभयो । किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान सजिलो भएको तथा अन्य शाखा सडक निर्माण गर्न सकिने भएको उहाँले सुनाउनुभयो ।

हस्तान्तरण कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना उपनिर्देशक अमृत श्रेष्ठले सडक धेरै बजेटमा बनेको सडकको हेरविचार गर्न सम्बन्धित कार्यालय र स्थानीय तहका पदाधिकारी एवं उपभोक्तालाई आग्रह गर्नुभयो । जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त आयोजना प्रमुख विष्णु लामिछानेले सडकले यस क्षेत्रका भूकम्प प्रभावित लाभग्राही लाभान्वित हुने बताउनुभयो । सडक निर्माण गरेको स्वछन्द–रौताहा जेभीले हस्तान्तरणको एक वर्षसम्म सडकमा निर्माणसम्बन्धी कुनै खराबी आएमा मर्मतसम्भार गर्ने जनाएको छ ।

रासस

Leave A Reply

Your email address will not be published.