Engineeer Khabar

नेपाली र चिनियाँ इन्जिनियरबीच समझदारी पत्रमा हस्ताक्षर (फोटोफिचर सहित)

0

काठमाडौं: उत्तरी छिमेकी राष्ट्र चीनको “चाइना नेसनल एशोसिएसन अफ इन्जिनियरिंग फर्म्स(सिन्यास)” र नेपालको “सोसाइटी अफ कन्सल्टिंग आर्किटेक्चरल एण्ड इन्जिनियरिंग फर्म (स्क्याफ)” बीच शुक्रबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसै संगै प्राविधिकहरुले  विभिन्न विकासनिर्माणका कार्यक्रमहरुको अवलोकण गर्दै सिक्ने वातावरण निर्माण गर्ने तथा एक आपस बीच अनुभव आदान प्रदान गर्दै अघि बढ्ने अवसर प्राप्त भएको छ ।

सोसाइटी अफ कन्सल्टिंग आर्किटेक्चरल एण्ड इन्जिनियरिंग फर्म  (स्क्याफ) को निमन्त्रणालाइ स्वीकार गर्दै चाइना नेसनल एशोसिएसन अफ इन्जिनियरिंग फर्म्सको प्रतिनिधि नेपाल भ्रमण गर्दै उक्त सहमतिमा हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपाली इन्जिनियरहरुका साथै चीनको प्रतिनिधि टोलीतर्फ ५१ जना (२८ पुरुष तथा २३ महिला परामर्शी) इन्जिनियरहरूको सहभागिता रहेको थियो ।

इन्जिनियरिङ परामर्शबाट देशको विकास तिव्र गतिमा सम्भब हुने र चीनको विकास निर्माणबाट धेरै कुरा आदानप्रदान गर्ने हेतुले सम्झौता पत्रमा हस्ताक्षर भएको सोसाइटी अफ कन्सल्टिंग आर्किटेक्चरल एण्ड इन्जिनियरिंग फर्म (स्क्याफ) नेपालका महासचिव ईन्जिनियर कृष्ण प्रसाद सापकोटाले बताउनु भएको छ ।

चाइना नेसनल एशोसिएसन  अफ इन्जिनियरिंग फर्म्सका उपाध्यक्ष चेन जाईजिङ र सोसाईटी अफ कल्सल्टी आर्कीटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स् नेपालका अध्यक्ष राजेश थापाले शुक्रबार कोपुन्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।  सो समझदारी पत्रअनुसार चीनले इन्जिनियरिङ परामर्श क्षेत्रमा प्राप्त गरेका ज्ञान र सीप नेपालको परामर्श क्षेत्रलाई आवश्कयता अनुसार सहयोग गर्नेछन् । त्यस्तै, दुवै देशको संस्थाको प्रतिनिधि हुने गरि २/२ सदसीय प्राविधिक कमिटि गठन  गर्दै अनुसरण गरिएको प्राविधिक ज्ञान हस्तान्तरणको लागि आवश्यक कार्यक्रमहरुको तयारी गरिने समेत उल्लेख गरिएको छ ।

सो समझदारी दुई देश बीचको विकास परामर्शदातृ क्षेत्रको लागि एउटा राम्रो ‘माइलस्टोन’ बन्ने धारणा राख्दै प्रधानमन्त्रीका पूर्वाधार विशेष सल्लाहकार इन्जिनियर घनश्याम भट्राईले निजी क्षेत्रबीच भएका यस्ता महत्वपूर्ण समझदारीहरुले प्राविधिकहरुलाई उत्साहित संग-संगै बिकास निर्माणमा उल्लेखनीय योगदान दिन उत्प्रेरित गर्ने बताउनु भएको छ । सोहि कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)का अध्यक्ष रवि सिंहले दुई पक्षीय समझदारीले समग्र निर्माण क्षेत्रलाई नै नयाँ आयाम दिदै अबका दिनमा निर्माण व्यवसायीहरु, स्क्याफ र सिन्यास बीच राम्रो समझादारी र समन्वय गर्ने अवसर मिलेको बताउनु भएको छ । उक्त समझदारीलाई नेपाल र चिनियाँ विकास संस्कृतिमा नयाँ आयामको संज्ञा दिदै नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष ई. डिल्ली रमण निरौलाले समझदारीले नेपाल र चीनबीच अरनिको र भृकुटी पछिको जनस्तर र विकासस्तरको पहिलो समझदारी रहेको जिकिर गर्नु भएको छ ।

सो समारोहको बिचमा चाइना नेसनल एशोसिएसन  अफ इन्जिनियरिंग फर्म्सका उपाध्यक्ष चेन जाईजिङले दुई देशबीच भएको समझदारी अनुसार चिनिया इन्जिनियरहरू सहकार्य गर्दै पूृर्ण रुपमा अगाडी बढ्न तत्पर रहेको जानकारी दिनुभयो । ‘वान बेल्ट वान रोड’ अन्तरगतको नेपालको पूर्वाधार तथा नेपाललाई विकास निर्माण कार्यमा सहयोग गर्नको लागि समेत  चिनिया प्राविधिकहरु उत्साहित रहेको जानकारी उपाध्यक्ष जाईजिङले दिनुभयो । दुई देशबीच पारवाहन सम्झौता भईसकेको र नेपालमा चिनियाँ रेल तथा ओबिओर जस्ता रणनीतिक विकास परियोजनाका लागि नेपाल सदस्य पक्ष समेत भइसकेको अवस्थामा सिन्यास र स्क्याफ बीच भएको सम्झौताले ऐतिहासिक महत्त्वको राखेको र उक्त सम्झौतालाई अझै सहज तथा परिपक्व बनाउन चिनियाँ पक्ष समेत उतिकै गम्भीर रहेको जानकारी स्क्याफका महासचिव ई. सापकोटाले इन्जिनियरखबरसमक्ष राख्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा सोसाइटी अफ कन्सल्टिंग आर्किटेक्चरल एण्ड इन्जिनियरिंग फर्म (स्क्याफ) नेपालका अध्यक्ष थापाका अनुसार नेपालको विकासको सन्दर्भमा चीन भन्दा धेरै नै पछाडि रहेको अवस्थामा उक्त सम्झौताले नेपाली इन्जिनियरहरुलाई परामर्श क्षेत्रमा अत्यन्त ठुलो सहयोग पुर्याउने बताउनुभएको छ । त्यस्तै दीर्घकालीन योजनाहरुलाई समेत व्यवस्थित गर्दै छोटो समयमा राम्रो उपलब्धि हासिल गर्दै नेपाललाई समृद्धिको यात्रामा लैजान स्क्याफ कटिबद्ध रहेको र यस्ता समझदारीहरु गर्दै त्यसको उचित कार्यन्वयन गर्न स्क्याफ प्रयासरत रहेको जानकारी दिनु भएको छ ।

यसै संगै नेपाली इन्जिनियरहरू चीनको इन्जिनियरिङपरामर्श कम्पनीमा रहेर काम गर्न सक्ने छन् । त्यस्तै, चिनिया परामर्श कम्पनीका प्राविधिकहरु नेपाल आएर नेपालका परामर्श सेवा प्रदान गर्ने  कम्पनीहरुसंग मिलेर अनुभब तथा कार्यशैलीहरु आदान प्रदान गर्न सक्नेछन  ।

सोसाइटी अफ कन्सल्टिंग आर्किटेक्चरल एण्ड इन्जिनियरिंग फर्म (स्क्याफ), नेपाल सरकारद्वारा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परामर्शदाता संस्थाका रुपमा पहिचान प्राप्त पूर्वाधार परामर्शदाता नेपाली इन्जिनियरहरुको साझा संस्था हो भने,  चिनियाँ ‘सिन्यास’ चिनियाँ सरकारद्वारा मान्यता प्राप्त परामर्शदाता इन्जिनियरहरुको राष्ट्रिय संस्था हो ।

[फोटो-फिचर]

 

 

 

Leave A Reply

Your email address will not be published.