Engineeer Khabar

त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा

चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार त्रियुगा नदीको बाँध फुटेर पूरै त्रियुगा नदी तपेश्वरी क्षेत्रमा प्रवेश गरेपछि अहिले सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेनाको टोलीले दुई सय जनाको उद्धार कार्य गरिसकेको छ भने अन्यको पनि उद्धार कार्य जारी राखेको छ । तपेश्वरी क्षेत्रमा थप क्षति हुन नदिन नेपाली सेना र सशस्त्र प्रहरी इटहरीबाट समेत थप सामग्री मगाएर उद्धार कार्य शुरु गरिएको प्रजिअ खड्काले बताउनुभयो ।

पूरै तपेश्वरी गाउँनै त्रियुगा नदीको डुबानमा परेको र हेलिकप्टर मगाउन प्रयास गरिए पनि उडान हुन नसक्ने अवस्था रहेका कारण अहिले प्रदेश नं १ इटहरीसहित जिल्लाका सुरक्षाकर्मी ‘जेटबोट’ परिचालन गरेर तपेश्वरीमा उद्धारकार्यमा जुटेका प्रजिअ खड्काले जानकारी दिनुभयो ।

अहिले नै रेडक्रससहित औषधि, लत्ताकपडा खानेकुराका लागि सहयोग गर्ने टोली पनि तपेश्वरीतर्फ पठाउने कार्य भइरहेकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै कटारी नगरपालिकाको कटारी बजारस्थित तावा खोला किनारका पच्चीस घर मुसहरबस्तीसमेत डुबानमा परेपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको प्रजिअ खड्काले बताउनुभयो ।

रासस

Leave A Reply

Your email address will not be published.