Engineeer Khabar

‘पूर्व तयारी बिना पूर्वाधार आयोजना सञ्चालन गर्न नहुने’

0

पूर्वाधार निर्माणमा आयोजनागत तयारी नहुँदा काम समयमा नहुने गरेकाले पूर्व अध्ययन बिना ठेक्का गर्नु नहुनेमा जोड दिइएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा सांसद महेश बस्नेतले रु एक अर्ब लाग्ने आयोजनामा वार्षिक रु एक करोड बजेट हालेर अघि बढाउँदा वर्षौँ अलपत्र हुने गरेको बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनियमितता हुने गरेको बताउनुहुँदै उहाँले निर्माण व्यवसायी लगायतसँग कर्मचारीले वैधानिक जस्तो गरी लिने गरेको ‘पिसी’ हटाइनुपर्नेमा जोड दिनुभयो । आर्थिक वर्ष वैशाखदेखि नै शुरु गर्न पनि सांसद बस्नेतले माग गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले पूर्वाधार निर्माणलगायतमा सुृधारका लागि कार्य सम्पादन करार शुरु गरिएको उल्लेख गर्नुहुँदै पूँजीगत खर्च यस वर्षदेखि २३ प्रतिशतबाट २९ मा वृद्धि गर्न लागिएको बताउनुभयो ।

Hill Side Ad Banner

बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड तयार गर्न लागिएको जानकारी दिनुहुँदै उहाँले कमजोर रहेको मूल्याङ्कन र अनुगमनलाई सुदृढ गरिने प्रतिबद्धता जनाउनुभयो । माथिल्लो तामाकोशी आयोजनामा अनुगमनपछिको छलफलका क्रममा आयोजना व्यवस्थापक महीनामा एक पटक पनि नपुग्ने गरेका गुनासा सुनिएको आयोगका सदस्य ओलीले सुनाउनुभयो ।

पूर्व सचिव सुरेश प्रधानले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा करार प्रशासनमै समस्या रहेको तथ्य सार्वजनिक गरिसकेकाले सुधारको शुरुवात् त्यहीँबाट हुनुपर्नेमा जोड दिनुभयो । हालसम्म ठेक्का प्रशासन सम्बन्धी आर्थिक कार्यविधि तयार नहुँदा पनि पूर्वाधार निर्माण ढिलाइ हुने गरेको उहाँको भनाइ थियो ।

जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था भएपछि असोजसम्ममा ठेक्का लागिसके मात्र काम समयमा हुने पूर्व सचिव प्रधानको धारणा थियो । हरेक ठेक्कामा तोकिने करार प्रशासकलाई जिम्मेवार बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल निर्माण व्यवसायी महासङ्घका उपमहासचिव टङ्क चौँलागाईँले सरोकार भएकासँग सल्लाह नगर्दा सार्वजनिक खरीद नियमावली चार महीनामा तीन पटक संशोधन गर्नुपरेको बताउनुभयो ।

रासस

Leave A Reply

Your email address will not be published.