नेपाल इन्जिनियर्स एशोसिएसन ३ न प्रदेश कार्यकारिणी समितिले इन्जिनियरहरुको पेशागत सुरक्षा र दुर्घटना बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गत शुक्रबार शहरी विकास तथा भवन बिभागको हलमा सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता ने.ई.ए. ३ न प्रदेशका सभापति ई.नन्द लाल बन्जाडेले गरेका थिए भने कार्यक्रम संचालन सचिब ई. प्रदिप अधिकारिले गरेका थिए । कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसनले शुरु गरेको बीमाकार्यक्रमको बारेमा एशोसिएसनका उपमहासचिब ई. कपिल आचार्यले प्रकाश पारेका थिए ।
कार्यक्रमका अतिथि इन्जिनियर्स एशोसिएसनका महासचिब ई. छबि पोख्रेलले आफुहरुले आठ महिनाको कार्यकालमा काम गर्न दृढतापुर्वक इच्छाशक्ति देखाए त्यसलाई हासिल गर्न सकिने रहेछ भन्ने अनुभब गर्न पाएको बताए । सोहि क्रममा इन्जिनियरहरुको पेशागत सुरक्षा संग-संगै दुर्घटना बीमाको कार्यक्रम, इन्जिनियर दिवसको दिन देखि शुरु गरिसकेको ई. पोख्रेलले जानकारी गराएका थिए । त्यस्तै, इन्जिनियरिंग पेशालाई अझ मर्यादित र सुरक्षित बनाउने कुरामा एशोसिएसन गम्भीर रहेको र इन्जिनियरिंग सेवा ऐन लागु गर्न अत्यन्तै गम्भीर हिसाबले ने.ई.ए. लागि परेको बताए । इन्जिनियरहरुको पेशागत अभिवृद्धि तथा व्यक्तित्व विकासको लागि इन्जिनियरिंग स्टाफ कलेजको अवधारणा अघि बढिसकेको र यस वर्ष भित्र कमसे कम इन्जिनियरिंग स्टाफ कलेजको करिकुलम तयार परिसकिने तथा स्टाफ कलेजको संस्थागत खाकाको तयारी गरिसकिने जिकिर गरेका थिए ।
सोहि कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसन ३ न प्रदेश कार्यकारिणी समितिका उपसभापति ई. डिल्लीराम भट्टले ३ न प्रदेश कार्यकारिणी समितिले हालसम्म गरेको कार्यहरु बारे छोटो प्रस्तुति समेत दिएका थिए ।
सो कार्यक्रममा सिडेंन, इन्जिनियर्स समाज भक्तपुर तथा पिनलाइ औपचारिक निमन्त्रणा गरिएको थियो । पिनका अध्यक्ष ई. शम्भु ब. श्रेष्ठ तथा महासचिब ई. डा. हरिराम पराजुलीले नेपाल इन्जिनियर्स एशोसिएसन कार्यसमितिलाई अझ बढी मिहिनेतका समग्र इन्जिनियरिंग पेशाको हकहित तथा गरिमा उच्च राख्नको लागि अनवरत रुपमा लागिरहन सुझाब दिएका थिए । त्यस्तै, बीमा कार्यक्रमलाई पनि अझै बढी समावेश गर्दै आवश्यक सुबिधा थप्दै द्विगो बनाउन सुझाब दिएका थिए ।
कार्यक्रमको प्रमुख आतिथ्यता इन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले ३ नं प्रदेश कार्यकारिणी समितिलाई बिशेष बधाई दिदै आगामी दिनहरुमा पनि सफलताका साथ् कार्यक्रमहरु सम्पन्न गर्न शुभकामना दिए । इन्जिनियरहरुले कठिन क्षेत्रमा कार्य सम्पादन गर्नु पर्ने हुदा, इन्जिनियरिंग बीमा अत्यन्तै आवश्यक रहेको बज्राचार्यले जिकिर गरेका थिए । बीमा कार्यक्रम महत्वपूर्ण भएता पनि इन्जिनियर्स एशोसिएसनले आफ्ना इन्जिनियरहरु सकेसम्म दुर्घटनामा नपर्न र सो बीमा कुबुल गर्न नपरोस भन्ने चाहेको बिचार अध्यक्ष बज्राचार्यले व्यक्त गरेका थिए । हालसम्म करिब १२ हजार इन्जिनियरहरुको बीमा सम्झौता सम्पन्न भैसकेको छ । स्थानीय तहमा इन्जिनियरहरुको समस्याको समाधानलाई इन्जिनियरिंग ऐन अन्तर्गत राख्दै र सरकारसंग गृहकार्य गर्दै इन्जिनियरहरुको मनोबल उच्च राख्न एशोसिएसनले बिशेष भूमिका खेल्ने जानकारी दिएका थिए । इन्जिनियर्स एशोसिएसनले हालसालै राष्ट्रिय सभाको बिधायान समितिमा इन्जिनियरिंग परिषद २०५५ को ऐन संसोधनमा महत्वपूर्ण धारणा राख्दै लाइसेन्स परिक्षाको अबिलम्ब व्यवस्था गर्न पहल गरेको जानकारी समेत बज्राचार्यले दिएका थिए ।त्यस्तै नेपाल इन्जिनियर्स एशोसिएसनको आफ्नै जर्नल निकाल्दै यसको बिश्वशनियता तथा महत्व बढाउन पनि एशोसिएसनले छिटै पहल गर्ने जानकारी अध्यक्ष्य बज्राचार्यले जिकिर गरेका थिए ।
कार्यक्रमको अन्तिम्म्मा नेपाल इन्जिनियर्स एशोसिएसन ३ न प्रदेश कार्यकारिणी समितिका सभापति ई. नन्दलाल बन्जाडेले स्थानीय केन्द्रको गठन बारे जिकिर गरेका थिए । ई. बन्जाडेका अनुसार हालसम्म ३ न प्रदेश अन्तर्गत करिब १३ ओटा स्थानीय केन्द्र खोल्नको लागि निवेदन आइसकेका छन् । जसमध्ये, सिन्धुपाल्चोकबाट ३, सिन्धुलीबाट १, मकवानपुर-हेटौडाबाट १ , दोलखाबाट १ , रामेछापबाट १ , रसुवाबाट १, नुवाकोट बाट १ , काठमाण्डौ-बूढानिलकन्ठबाट १, चितवनबाट १ ओटा निबेदन प्राप्त भएको छ ।इन्जिनियर.आर्किटेक्टहरुको अनुरोध अनुसार स्थानीय केन्द्र खोल्नको लागि थप म्याद आवश्यक भएको ठहर गर्दै, श्रावन मसान्त सम्म म्याद थपिएको जानकारी समेत ई. बन्जाडेले दिएका थिए । त्यस्तै, सभापति बन्जाडेले ने.ई.ए. को बीमा कार्यक्रमलाइ स्थायित्व दिन थप कदम चाल्ने तथा सल्लाह लिने जानकारी दिएका थिए । ३ न प्रदेश कार्यकारिणी समितिले १० ओटा बिजनेश कमिटि गठन गर्ने तयारी समेत भईरहेको जानकारी ई. बन्जाडेले दिएका थिए । त्यस्तै, ३ न प्रदेश कार्यकारिणी समितिले, मेलम्ची आयोजनासम्बन्धि छलफल कार्यक्रम, इन्जिनियरिंग ऐन कस्तो हुनु पर्दछ सम्बन्धमा अन्तरक्रिया कार्यक्रम तथा, सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने तयारी समेत गरेको जानकारी ई. बन्जाडेले दिदै कार्यक्रमको समापन गरेका थिए ।
सोहि कार्यक्रममा उपस्थित इन्जिनियर तथा आर्किटेक्टहरुमध्ये नयाँ दर्ता , नवीकरण साथै आजीवन सदस्यता लिन बाकि रहेकाहरुको लागि समेत छुट्टै कक्ष राखिएको थियो ।
[फोटो ग्यालरी ]