Engineeer Khabar

पानीको स्रोत पहिचान र सम्बद्र्धन

0

नेपालमा खानेपानीको व्यवस्थापनमा कमजोरी हुँदा स्वच्छ पानीको अभाव भएको विज्ञहरुले बताएका छन् ।

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘पानीको स्रोत पहिचान र सम्बद्र्धन’ विषयक छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वलीले ज्ञानलाई कार्यान्वयन नगर्दा खानेपानीको समस्या भएको बताउनुभयो । पानीको अभाव हुने गरेको स्थानमा वर्षाद्को पानी सङ्कलन गरी उपयोग गरिनुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौँ विश्व विद्यालयका कुलसचिव डा सुबोध शर्माले घनाबस्ती रहेको राजधानीमा पानीको सतह र जमिनमुनिको पानी प्रदूषित भएकाले वर्षाद्को पानी सङ्कलन गरेर प्रशोधन गरी पिउनयोग्य हुने बताउनुभयो । शिवपुरी संसारकै उत्कृष्ट जलाधार क्षेत्र भएकाले संरक्षण गर्नुपर्ने उहाँको धारणा थियो । त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञानका प्रा डा मदन कोइरालाले विश्वमै नेपाल प्रतिव्यक्ति पानी उपलब्धतामा तेस्रो स्थानमा परे पनि प्रयोगमा सातौँमा रहेको जानकारी दिनुभयो । पानीको स्रोत भए पनि त्यसको उपयोग गर्न नसकिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभाका सांसद विमला राई पौड्याल, प्रदेशसभा सदस्य वेदमाया घले, विपद् व्यवस्थापन विज्ञ डा मीना अधिकारी, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाल, फाउण्डेशनका कार्यक्रम संयोजक सुशील प्याकुरेल, सचिव पेम्बा तामाङलगायतले पानीको स्रोेत संरक्षण र सम्बद्र्धनमा तीनै तहका सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

रासस

Leave A Reply

Your email address will not be published.