Engineeer Khabar

वीरेन्द्रनगरमा चिस्यान केन्द्र

0

प्रदेश राजधानी वीरेन्द्रनगरमा तरकारी तथा फलफूलको सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरिएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु ५६ लाख, वीरेन्द्रनगर नगरपालिकाको रु ५० लाख र सहकारी संस्थाको रु २६ लाख गरी रु एक करोड ३२ लाख लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जिल्ला सहकारी सङ्घलाई कोल्ड स्टोर सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिएको बताउनुभयो । “वीरेन्द्रनगरमा तरकारी, फलफूल भण्डारण गर्न कोल्ड स्टोर थिएन, सुरक्षितरुपले लामो समयसम्म भण्डारण नहुँदा कृषक र व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको थियो”, उहाँले भन्नुभयो, “प्रदेश राजधानीकै मुुटुमा कोल्ड स्टोर निर्माण गरिएकाले पूर्ण उपयोग आउने विश्वास छ ।”

जिल्ला सहकारी सङ्घका व्यवस्थापक ढाकाराम न्यौपानेले वायरिङको काम बाँकी रहेको बताउनुभयो । सङ्घले भदौ महीनाभित्र वायरिङलगायतका कोल्ड स्टोरका लागि आवश्यक सरसामानको व्यवस्थापन गरी सक्ने जनाएको छ । राजिता निर्माण सेवाद्वारा निर्मित चार कोठे उक्त चिस्यान केन्द्रमा २०० मेट्रिक टन तरकारी तथा फलफूल भण्डारण गर्न सकिनेछ ।

रासस

Leave A Reply

Your email address will not be published.