Engineeer Khabar

स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत शुरु

0

स्थानीयवासीको दबाबपछि पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्ड मर्मत शुरु भएको छ । उक्त खण्डअन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धुलो र हिलोबाट सास्ती भोगेका स्थानीयवासीले भदौ ४ गते सडक डिभिजन कार्यालयका प्रमुखसहित इञ्जिनीयरलाई कार्यकक्षमै नियन्त्रणमा लिएर दबाब दिएपछि आजबाट राजमार्गको मर्मत कार्य शुरु भएको हो ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्डको हलेदीमा भत्किएको सडक मर्मत गर्ने सहमति कार्यान्वयन नभएको भन्दै शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी क्षेत्रका स्थानीयवासीले कार्यालय प्रमुख विष्णुप्रसाद काफ्लेसहित इञ्जिनीयर सचिन श्रेष्ठलाई एक घण्टा कार्यकक्षमा थुनेका थिए ।

सो क्रममा डिभिजन प्रमुख काफ्लेले भदौ १५ गतेभित्र राजमार्ग मर्मत गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । स्थानीयवासीको दबाबपछि भत्किएको सडकखण्ड मर्मत शुरु भएको शुक्लागण्डकी नगरपालिका–२ हलेदीका हरि रिमालले जानकारी दिनुभयो ।

“सडक कार्यालयमै गएर दबाब नदिएको भए यति चाँडै मर्मत हुने थिएन”, रिमालले भन्नुभयो, “आजबाट मर्मतको काम शुरु भएको छ, गुणस्तरीय कामका लागि अब हामी पनि अनुगमन गर्छांै ।” रिमालका अनुसार राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले गत चैत २४ गते राजमार्ग अवरुद्ध गरेपछि सरोकारवालाको बैठकले तीन महीनाभित्र सडक मर्मतको काम थाल्ने प्रतिबद्धता जनाएको थियो ।

Hill Side Ad Banner

तर, सहमति भएको चार महीना बितेपनि मर्मतको काम शुरु नभएपछि स्थानीयवासी बाध्य भएर आन्दोलनमा उत्रिएका थिए । सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले भदौ १५ गतेभित्रै सडक मर्मतको काम थाल्न निर्माण व्यवसायीलाई निर्देशन दिएपछि आजबाट मर्मतको काम शुरु भएको जानकारी दिनुभयो । “उक्त समयभित्र काम शुरु नभए ठेकेदार कम्पनीलाई कारवाही गरेर अर्को ठेक्का लगाउने तयारी गरेका थियौँ”, काफ्लेले भन्नुभयो ।

सडक डिभिजन कार्यालयले पुनःस्थापना कार्यअन्तर्गत विसं २०७३ साउन १२ गते रोशन सिद्धगढी जेभीसँग कालोपत्रेको सम्झौता गरेको थियो । विसं २०७४ कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने गरी दोस्रो पटक म्याद थप गरिएको थियो । इञ्जिनीयर श्रेष्ठका अनुसार रु दुई करोड ७१ लाख ८८ हजार ८ सय २ मा ठेक्का लागेको उक्त कार्यको रु एक करोड ४१ लाख ५३ हजार ५३० मात्रै भुक्तानी गरिएको छ । “वेस सम्मको काम सम्पन्न भएबापत भुक्तानी भएको छ, कालोपत्रेको कुनै पनि रकम भुक्तानी गरिएको छैन”, उहाँले भन्नुभयो, “काममा कैफियत भएको कारण नै भुक्तानी रोकेका छौँ ।”

श्रेष्ठका अनुसार विसं २०७५ चैत २५ गते ठेकेदार कम्पनीलाई सार्वजनिक सूचना जारी गरेर स्पष्टीकरण माग गरिएको थियो । एक हप्ताभित्र ठेकेदार कम्पनीले स्पष्टीकरण दिँदै वर्षालगत्तै काम गर्ने प्रतिबद्धता जनाएपनि काम शुरु नभएपछि कार्यालयले विसं २०७६ साउन २९ गते पत्र काटेर चाँडो काम गर्न नत्र शर्तअनुसारको कारवाही गरिने ठेकेदारलाई जानकारी गराएको थियो ।

रासस

Leave A Reply

Your email address will not be published.