Engineeer Khabar

पुल्चोक क्याम्पसकी अनुशा ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को ब्लाइन्ड अडिसनमा चुनिन सफल

काठमाडौं : गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को ब्लाइन्ड अडिसनमा पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इजिनियरिंग अध्ययनरत अनुशा आचार्य चयन भएकी छिन । शुक्रबार सार्वजनिक गरिएको ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को एपिसोड नम्बर ५ मा उक्त प्रस्तुति प्रस्तुत गरिएको छ ।

प्रतियोगिताको ब्लाइन्ड अडिसनको क्रममा अनुशाले बच्चु कैलाशका एकदमै चर्चित गीत “टाढा टाढा जानु छ साथी” प्रस्तुत गरेकी छिन । ब्लाइन्ड अडिसनमा अनुशाले कोच राजु लामालाई आफ्नो आवाजले प्रभावित पार्दै कुर्सी घुमाउन सफल भएकी छिन ।  यसै संगै अनुशा आगामी यात्राका लागि प्रतिस्पर्धीको रुपमा छनौट भएकी छिन र छिटै नै ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछिन् ।

को हुन् अनुशा आचार्य ?

सन् २००० मार्च १ मा पाल्पामा जन्मिएकी अनुशा आचार्यले कक्षा ६ देखि गीत गाउन शुरु गरेकी थिईन । अनुशाले क्लासिकल, ज्याज लगायत बिभिन्न विधाका गीतहरु गाउने गरेकी छिन । सेन्ट जेभियर्सबाट एस.एल.सी तथा १०+२ बिज्ञान तर्फ उतिर्ण गरेकी अनुशा हाल पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिंगमा स्नातक तहको दोश्रो बर्षमा अध्ययन गर्दै छिन । उनले लिओ क्लब लगायत पुल्चोक क्याम्पसका बिभिन्न क्लबका कार्यक्रमहरुमा सक्रिय रुपले सहभागिता जनाउने गरेकी छिन ।

उनले क्लासिकल संगीतको साधना र ज्ञान सुरशाला म्युजिक एकेडेमीका गुरु अमृत क्षेत्रीसंग लिएकी थिईन भने वेस्टर्न ज्याजको सिकाई काठमाडौं ज्याज कन्जरभेटरीका स्प्यानिश गुरु मारिया फजारडोसंग लिएकी थिईन । हालसम्म उनले दुईवटा ओरिजिनल गीत र थुप्रै कभर गानाहरु गाइसकेकी छिन । उनले हालसालै गएको साझ परेपछिको कभर गीतले युट्युबमा निकै राम्रो भिउज समेत प्राप्त गरेको छ ।

यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन् जसमा कोच राजु लामा र कोच आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् । उक्त रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ हरेक शुक्रबार र शनिवार हिमालय टीभी एचडीमा प्रसारण हुने गरेको छ ।

यस अघिको  ‘भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले कतारको दोहामा आयोजना गरिएको थियो जसको बिजेता टिम दिपका सिडी बिजय अधिकारी छनौट भएका थिए ।

Comments are closed, but trackbacks and pingbacks are open.