Engineeer Khabar

लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, ६ घर उच्च जोखिममा   

मध्यपुरथिमि, १५ भदौ : मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ ।
मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो ।
पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ ।
पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो । पहिरो दुई वटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै बासिन्दासमेत अन्यत्र बसी घर खाली गरेको छ ।
खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो ।

सोहि क्षेत्रमा प्रारम्भिक अध्ययनमा पुगेका ई. प्रवीण आचार्यकाअनुसार सुरुमा भत्किएको ठाउँमामा घरायसी पानीको निकासका कारण सो क्षेत्र ओशिलो रहेको थियो । उक्त  ठाउँ एकदम भिरालो क्षेत्रमा अवस्थित रहेको र उक्त ठाउमा ढुंगाको ठुलो गाह्रो लगाई बाटो निर्माण गरिएको थियो । उक्त गाह्रोको गहिराई थोरै रहेको हुदा त्यस्तो घटना घटेको हुन सक्ने जानकारी ई. आचार्यले दिएका थिए । भर्खरै गएको पहिरोको पश्चिमतर्फको भाग जोखिमपूर्ण रहेको र त्यसको जोखिम न्यूनीकरण गर्न नसकेमा त्यसले मानवीय जोखिम समेत थप्ने सम्भावाना रहेको छ।

३ गतेको पहिरोमा चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनःपहिरो गएको उहाँले जानकारी दिनुभयो । यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उहाँले ३ गते भएको सहमतिअनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताउनुभयो । ३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको हो ।

 

Comments are closed, but trackbacks and pingbacks are open.