Engineeer Khabar

पुल्चोक क्याम्पसलाई ‘उत्कृष्ट आंगिक क्याम्पस’ को उपाधि

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आंगिक, सामुदायिक तथा निजी क्षेत्र गरि ३ ओटा क्याम्पसलाई उत्कृष्टताको आधारमा पुरस्कृत गर्ने भएको छ जसमध्ये  इन्जिनियरिङ अध्ययन संस्थानको केन्द्रीय क्याम्पस, पुल्चोक क्याम्पसलाई उत्कृष्ट आंगिक क्याम्पसको उपाधि प्रदान गरिने भएको छ ।

मन्त्रालयद्वारा भाद्र २२ गते राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा आंगिक, सामुदायिक र निजी क्षेत्रका १,१ वटा गरी जम्मा ३ वटा क्याम्पसहरूलाई उत्कृष्टताको आधारमा नगद पुरस्कार सहित पुरस्कृत गरिने भएको छ ।

सो व्यवस्था अनुरुप यस वर्षका लागि उत्कृष्ट आंगिक क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक क्याम्पस, पुल्चोक, ललितपुर पर्न सफल भएको हो । त्यस्तै उत्कृष्ट सामुदायिक क्याम्पस तर्फ जे.एस.मुरारका बहुमुखी क्याम्पस लाहान, सिराहालाई पुरस्कृत गर्ने भएको छ भने निजी क्याम्पस तर्फ त्रिभुवन विश्वविद्यालय अन्तर्गत बर्नहार्ट कलेज, बाफल, काठमाडौंलाई पुरस्कृत गर्ने भएको छ ।

उत्कृष्टतामा परेका क्याम्पसहरुले नगद पुरस्कार पाउने छन् । मन्त्रालयले छनौटमा परेका तीन क्याम्पसहरुको नाम सार्वजनिक गर्दै पुरस्कारका लागि उच्च शिक्षा शाखामा भाद्र २० गते भित्र सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.