Engineeer Khabar

गोरखा दरबारको पुनः निर्माणले गति लिँदै

गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त गोरखा दरबारको पुनः निर्माणले गति लिएको छ ।

गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करीब चार सय वर्ष पुरानो यो दरबार क्षतिग्रस्त भएका कारण जगदेखि नै पुनःनिर्माण कार्य अघि बढाइएको हो ।

विसं १९९० को भूकम्पले समेत खासै क्षति नपुगेको यो दरबारमा गोरखाको बारपाक केन्द्र भई २०७२ वैशाख १२ मा गएको भूकम्पले ठूलो क्षति पु¥याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले जानकारी दिनुभयो । पुरातात्विक महत्वको दरबारको इतिहास, गरिमा र महत्वलाई दृष्टिगत गरी यसको प्राचीनस्वरुप र आकर्षणलाई कायम राख्दै पुरानै स्वरुपमा पुनः निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

कूल रु चार करोड ३७ लाखको लागतमा पचली सिभा जेभीले दरबार पुनःनिर्माणको ठेक्का पाएको छ । दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलका अनुसार विसं २०७२ को भूकम्पले दरबारको पूर्वी भागमा सबै भन्दा बढी क्षति पु¥याएको थियो । त्यस्तै ९० सालको भूकम्पमा पनि पूर्वी भागमा नै केही क्षति भएका कारण यो भागको भूगोल अन्य भन्दा कमजोर रहेको अनुमान गरिएको उहाँले बताउनुभयो । यस बीचमा दरबार क्षेत्रस्थित गोरखानाथ मन्दिर, श्रीविद्या मन्दिर, चौघेरा दरबार, दमाइँ पाटीलगायतका स्थान मर्मत भइसकेको कट्टेलले जानकारी दिनुभयो ।

सम्झौता अनुसार आगामी मङ्सिरको अन्तिम सातासम्म दरबारको पुनःनिर्माण सकिसक्नुपर्ने छ । निर्माण सामग्री राख्ने स्थान अभाव आदिका कारण दरबारसँगै रहेको कालिका मन्दिरको पुनःनिर्माण शुरु हुन नसकेको जानकारी दिँदै उहाँले दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै मन्दिरको पुनःनिर्माण कार्यले गति लिने बताउनुभयो ।

अड्डा प्रमुख भुषालका अनुसार कालिका मन्दिरलाई पूरै भत्काएर भन्दा ‘रेट्रोफिटिङ’का माध्यमबाट सवलीकरण गर्न सकिने वा नसकिने सम्बन्धमा पनि अध्ययन भइरहेको छ । भूकम्पले क्षतिग्रस्त भएपनि मन्दिरमा दर्शनार्थी आउने क्रममा भने कुनै कमी नआएको मन्दिरका पुरेत हरिबाबु अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कालिका मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । मन्दिरको नियमित पूजाआजाका लागि पाँच जना पूरोहित र १३ जना सुसारे रहनुपर्ने व्यवस्था छ । हाल तीन पूरोहित र सात सुसारे कार्यरत छन् । बिहान १०.०० बाट दिउँसो ३.०० बजेसम्म पूजाआजा हुने यस मन्दिरमा विशेष गरी बडादशैं र चैते दशैंमा विशेष पूजा हुने गर्दछ ।

पुरातत्व विभाग अन्तर्गत नै पूजारी तथा कर्मचारी राखिने र मन्दिरमा चढाइने दान तथा भेटी सङ्कलन गरी आम्दानी बाँध्ने गरिएको छ । दर्शनार्थीले चढाएको दान तथा भेटिबाट वार्षिक लगभग रु छ लाखसम्म आम्दानी हुने गरेको अर्का पूरेत लीलाबहादुर बोहोराले जानकारी दिनुभयो । मन्दिरमा भक्तजन भाकलका साथै सामान्य पूजाका लागि देशका विभिन्न स्थानबाट आउने गर्छन् ।
राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाले यही दरबारमा राज्य गरेका कारण यसलाई नेपाली इतिहासको जीवन्त साक्षीसमेत मानिन्छ ।

भूकम्पले यहाँस्थित पशुपति मन्दिर, गुह्ेश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्र्चिल नगरा बजाउने दमाइँपाटी, बडादसैँमा पुरोहितलाई बरणी ‘निम्ता’ दिने पण्डितपाटीलगायतका संरचनामा क्षति पु¥याएका कारण केहीको निर्माण गरिसकिएको छ भने केही निर्माणका क्रममा छन् ।

झण्डै पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रमा रहेका सांस्कृतिक एवं ऐतिहासिक संरचना भूकम्पका कारण क्षतिग्रस्त भएका कारण यिनीहरूको पुनःनिर्माण कार्य क्रमिकरुपमा बढिरहेको प्रमुख भुषालले जानकारी दिनुभयो ।

पुरातात्विक महत्वका यस्ता सम्पदा इतिहासको साक्षी भएको र यी स्थलले पर्यटकीय रुपमा समेत अत्यन्त महत्व राख्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलिया बताउनुहुन्छ ।

ऐतिहासिक एवं सांस्कृतिकस्थल आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यिनीहरूको संरक्षण र प्रवद्र्धनका माध्यमबाट पर्यटकको बसाइँ लम्ब्याउन सकिने उहाँले बताउनुभयो ।

रासस

Comments are closed, but trackbacks and pingbacks are open.