Engineeer Khabar

सरकार दीर्घकालीन विकासको योजनामा छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकार दीर्घकालीन विकासका योजनामा रहेको बताउनुभएको छ । वालिङ नगरपालिका–१ मा रहेको देवीस्थान शेरा सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उहाँले दिगो विकासका लागि ठूलाठूला योजना अगाडि बढाएको उल्लेख गर्दै सानासाना कामसँगै ठूला काममा पनि सरकारले हात नहाले मुलुकको विकास नहुने बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, “यहाँ विकासका ठूलाठूला योजनाका कुरा गर्दा खिसिटिउरे गरिन्छ, हावामा उडाइन्छ, योजना नबनाईकन सपना नदेखीकन कसरी काम हुन्छ रु” उहाँले नेपालमा पाइपलाइनबाट इन्धन ल्याउने रेल र पानी जहाजका कुरा गर्दा हावामा उडाउने पाइपलाइनबाट इन्धन आउँदा ट्वाल्ल परेको बताउनुभयो । उहाँले पाँच वर्षका लागि निर्माण भएको यो सरकारले विकास निर्माणको जग बसालेर छाड्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले तीनै तहको सहभागिता बिना देशको विकास सम्भव नभएको उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक भवन निर्माणका लागि सरकारबाट रु १२ लाख ३० हजार, चन्दा सहयोगबाट रु १५ लाख ५३ हजार ३४२, देउसीभैलोबाट रु ११ लाख ९५ हजार ३७५ र जनश्रमदानबाट रु आठ लाख ९६ हजार गरी रु ४३ लाख ७६ हजार ७१७ को लागतमा भवन निर्माण गरिएको स्थानीयवासी लक्ष्मीपति पौडेलले जानकारी दिनुभयो ।

Comments are closed, but trackbacks and pingbacks are open.