Engineeer Khabar

सिनो-नेपाल रोड कोरिडोर अध्ययन हुँदै

छेन्ग्दु, चीन अवस्थित सिचुवान युनिभर्सिटीले नेपाल अवस्थित त्रिभुवन बिश्वबिद्यालय र इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनको सहकार्यमा सिनो-नेपाल सडक कोरिडोरमा पहिरो अध्ययन गरिरहेको छ । यस अध्ययनमा चीन तर्फको कोरिडोरको अध्ययन डा. बिंग वेई टियानको समन्वयमा भईरहेको छ भने अर्को तर्फको कोरिडोरको अध्ययन भूगर्भ तथा विपद जोखिम न्यूनीकरण विद्, डा. बसन्त राज अधिकारीको समन्वयमा  भईरहेको छ ।

के हो सिनो-नेपाल कोरिडोर पहिरो अध्ययन ?

बिभिन्न किसिमका विपद र त्यसको जोखिमलाई कुनै पनि देशको भौगोलिक सिमानाले छुट्याउन सक्दैन । नेपाल र चीनको सिमानामा बिधमान रहेका प्रकोप र तिनका जोखिमले दुवै देशलाई उतिकै असर पार्ने सम्भाव्यता राखेको हुन्छ । त्यसकारण यस्ता प्रकृतिका जोखिमहरुलाई न्यूनीकरण गर्न दुवै पक्ष उत्ति नै गम्भीर एवं जिम्मेवार भएर लाग्न अत्यावश्यक छ । त्यस्तै गरि, यस्ता किसिमका अध्ययन र तिनका निष्कर्ष-निचोढ़ले समाधानको बाटो केलाउदै दुवै देशलाई सहकार्य गराउने बाटोमा डोर्याउन मद्दत गर्दै दुई देशबीचको सम्बन्ध बिस्तारमा समेत महत्वपूर्ण सहयोग पुर्याउने यस अध्ययनका बैज्ञानिकहरु बताउछन ।

सिनो-नेपाल कोरिडोर पहिरो अध्ययन अन्तर्गत पहिरोको विश्लेषण अध्ययन, पहिरो जोखिम मुल्यांकन , सडक र पहिरोबीचको सम्बन्ध, रिमोट सेंसिंग टेक्नोलोजी, ग्राउण्ड ट्रुथ भ्यालीडेसन, स्याटेलाइट इमेज र गुगल अर्थ म्यापिंग लगायतका कामहरु भईरहेको जानकारी डा.बसन्त राज अधिकारीले इन्जिनियरखबर समक्ष राखेका छन् ।

नेसनल साइन्स फाउन्डेसन अफ चाइना अन्तर्गतको यो अनुसन्धानात्मक अध्ययनमा नेपाल र चीन दुवै तर्फ संयुक्त रुपमा अध्ययन भईरहेको छ । बिशेषत: नेपाल-चीन नाका र त्यस अन्तर्गतको ३ ओटा कोरिडोर (काठमाण्डौ-कोदारी- झान्गमु कोरिडोर, काठमाण्डौ-रसुवागढी- जिलोंग कोरिडोर र पोखरा- मुस्तांग- लोमान्थाङ- कोराला कोरिडोर)मा पहिरोको अध्ययनको भईरहेको छ ।

 सिनो-नेपाल पहिरो अध्ययन पश्चात ?

यस अध्ययनको दौरानमा त्रिभुवन बिश्वबिद्यालय र सिचुवान बिश्वबिद्यालयका बिद्यार्थीहरु बीच एक्सचेन्ज कार्यक्रम गर्ने अवसर मिलेको र यसले बिश्वबिद्यालयका बिद्यार्थीहरु को क्षमता अभिबृद्धि गर्नेमा समेत सहयोग पुर्याएको दाबि दुवै विश्वबिधालयका प्राध्यापकहरुले गरेका छन् । जनमानिसको अनुभब, जोखिम सम्बन्धि धारणा र प्राविधिक पक्षको अध्ययन हुने हुँदा यस अध्ययनले एकेडेमिक्सलाई मात्र प्रबर्धन नगरी सामाजिक एक्सचेन्ज र सांस्कृतिक एक्सचेन्जमा समेत जोड दिनेछ ।

नेपाल र चीनतर्फ संयुक्त रुपमा एकै तरिकाले अध्ययन भईरहेको हुँदा यो अध्ययन निकै नै सान्दर्भिक र सापेक्षिक रहनेमा प्राध्यापकहरु बिश्वस्त छन् । त्यस्तै गरि यस अध्ययनसंग-संगै  ल्याण्डसकेप डाईनामिक्स, ल्याण्डसकेप इभोल्युसन र भू-परिवेशको जानकारी हुने हुदा आगामी दिनमा सडक निर्माण लगायत अन्य पूर्वाधारविकास गर्नको लागि बलियो आधार समेत निर्माण हुनेछ ।

[फोटो ग्यालरी ]

Comments are closed, but trackbacks and pingbacks are open.