Engineeer Khabar

‘तराई मधेशमा १२ महिना नै सिँचाइ सुविधा पुर्याइने’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले ऊर्जा क्षेत्रसँगै कृषिउपजको अभिवृद्धिका लागि सिँचाइतर्फ पनि उल्लेख्य ध्यान दिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “सरकारले सिँचाइतर्फ ठूला आयोजना अघि बढाइरहेको छ, तराई मधेशमा बाहै्र महिना सिँचाइ सुविधा उपलब्ध गराउने गरी योजना अगाडि बढेको र पहाडमा लिफ्ट सिँचाइका लागि काम भइरहेको छ ।” शिष्टाचार भेटका लागि पुगेको जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलसँग मन्त्री पुनले सो कुरा बताउनुभएको हो ।

सो अवसरमा जापानी प्रतिनिधिमण्डलले नेपालको सिँचाइ क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको बताएको थियो । नेपालका लागि जापानी राजदूत मसामिची साइगोसमेत सहभागी भेटमा सिँचाइ र जलविद्युत् क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । उपमहानिर्देशक नाकाडाले कृषि, जलस्रोत र सिँचाइको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको बताउनुभएको थियो ।

मन्त्री पुनले जापान–नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । जापानले कन्काई सिँचाइ आयोजनामा पु¥याएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री पुनले सिँचाइको क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

उहाँले जापान सरकारको सहयोगमा मन्त्रालय मातहत अनुसन्धान केन्द्र रहेको र सरकारले त्यसमा पहिलोपटक अनुसन्धानका लागि रु २० करोड बजेटसमेत विनियोजन गरेको जानकारी दिँदै उक्त संस्थासँग सहकार्य गर्न पनि उपनिर्देशकसँग आग्रह गर्नुभयो । त्यसैगरी सिँचाइ क्षेत्रमा जलउपभोक्ता समिति सक्रिय रहेको र काम पनि प्रभावकारी रहेको भन्दै त्यसमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो । त्यस अवसरमा सिक्टा सिँचाइ परियोजनामा देखिएको घुलनशील माटोको समस्या देखिएको भन्दै समाधानका लागिसमेत छलफल भएको थियो । यस्तै नलसिङ्गाड जलविद्युत् आयोजनाको बारेमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.