Engineeer Khabar

कञ्चन नदीमा पक्की पुल निर्माण

विश्व शान्तिको मुहान लुम्बिनीसँगै जोडिएका विभिन्न गाउँलाई जोड्दै रुपन्देहीको कञ्चन नदीमा पक्की पुल निर्माण भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज गाउँपालिकामा निर्माण भएको पुलको शुभारम्भसँगै त्यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । कञ्चन गाउँपालिका, गैडहवा, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका तथा कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिकामा रहेका विभिन्न गाउँलाई जोड्ने गरी गाउँपालिकाको भैरवघाटमा पुल निर्माण भएको हो ।

मन्त्री नेम्वाङले पूर्वाधार विकासका कामलाई गुणस्तरीय र टिकाउ बनाउने कामलाई प्राथमिकतामा राखिएको बताउनुभयो । निर्माणकार्यको निरन्तर निगरानी र अनुगमन गर्न स्थानीयलाई आग्रह गर्दै भौतिक पूर्वाधारको विकाससँगै आर्थिक विकासलाई जोड दिन आवश्यक भएको बताउनुभयो ।

राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले लुम्बिनीसँग जोडिएका पालिकालाई एउटै सर्किटमा जोडेर विकास गरिने बताउनुभयो । उहाँले यी पालिकाका बीचमा पर्ने सबैजसो नदीमा पुल, कल्भर्ट र व्यवस्थित सडक निर्माणका कामलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

प्रदेश नं. ५ को प्रदेशसभाका नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकारसँगको समन्वयमा लुम्बिनीसँग जोडिएका गाउँहरुको यथोचित विकास गर्न लागिएको उल्लेख गर्नुभयो ।

विसं २०७१ मा तीन वर्षमा सम्पन्न गर्ने गरी रायमाझी कन्ट्रक्शनले सो ठेक्का पाएको थियो । ६२ मिटर लामो ११ मिटर चौडाइको उक्त पुल रु छ करोड पाँच लाख ५० हजार बराबरको बजेटमा निर्माण भएको हो ।
एउटै गाउँको दूरी कम

पुल बनेपछि कञ्चन गाउँपालिकाका तीन वडालाई गाउँपालिकासँग जोडिएको छ । गाउँपालिका कार्यालय आउजाउ गर्न र गाउँमा जानका लागि पहिला २४ किलोमिटर लामो हिँड्नुपर्ने बाध्यता अहिले आठ किलोमिटरमा छोटिएको कञ्चन गाउँपालिका प्रमुख गोकर्णराज क्षेत्रीले बताउनुभयो । “एउटै भएर पनि भौगोलिक हिसाबले दुई गाउँजस्तो बनेको पालिकालाई पुुलले जोडेर सहज बनाएको छ”, अध्यक्ष क्षेत्रीले भन्नुभयो ।

कन्चन गाउँपालिकाका ३, ४ र ५ नं वडाका २५ हजारभन्दा बढी बासिन्दालाई यसले सहज बनाएको छ । पुल भएपछि बुटवल–सैनामैना–गैंडहवा–कञ्चन–लुम्बिनीसम्म सार्वजनिक यातायातका सवारी साधन चलाउने तयारी भइरहेको छ । करीब दुई महिनापछि यसलाई छिमेकका पालिकाका चक्रपथहरु जोड्ने गरी सार्वजनिक यातायात सञ्चालनको तयारी भइरहेको बताइएको छ ।

कञ्चन गाउँपालिकाको वडा नं १ र २ कञ्चन नदीपूर्वका ३, ४ र ५ नं वडा कञ्चन नदी पश्चिममा थिए । पुल निर्माणपछि कञ्चन नदी पश्चिमका बासिन्दालाई गाउँपालिका जान कम्तीमा १२ किलोमिटर दूरी कम भएको स्थानीय युवा जगिलाल थापाले बताउनुभयो ।

लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले पुल नहुँदा वर्षाको समयमा रुद्रपुर, हरैया, गरगरे क्षेत्रका बासिन्दा सालझण्डी बासगडी हँुदै २३ किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता अहिले हटेको छ । आर्थिक वर्ष २०७६÷७७ मा सरकारले रुपन्देहीमा ३० पुल निर्माण गर्ने लक्ष्य लिएको छ ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.