Engineeer Khabar

पाँच करोडको इँटा नष्ट

यस वर्ष बाँकेका इँटा व्यवसायीले बनाएको काँचो इँटाको चाङ शुक्रबार दिनभरको वर्षाका कारण गलेर नष्ट भएको छ । मौसमको शुरुमै इँटा गलेपछि बाँकेमा इँटा उत्पादन घट्ने भएको छ । मङ्सिरदेखि जेठ महिना इँटा उत्पादनको समय हो । इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले वर्षातका कारण व्यवसायीले करोडौँको नोक्सान व्यहोर्नु परेको बताउनुभयो । बाँकेमा २० लाख काँचो इँटा काम नलाग्ने भएको अध्यक्ष खाँले बताउनुभयो ।

सङ्घका कार्यालय सचिव सूर्य पौडेलले वर्षातले चाङका इँटा काम नै नलाग्ने गरी नष्ट भएको बताउनुभयो । इँटा व्यवसायी सङ्घले रु तीन करोड वटा इँटा पानीले गलाएको जनाएको छ । “व्यवसायीसँग नोक्सानबारे बुझ्ने काम भइरहेको छ,हालसम्मको नोक्सान हेर्दा रु पाँच करोडभन्दा बढी नोक्सान भएको व्यवसायीको अनुमान छ ।”

हरेक वर्ष अकस्मात हुने वर्षाले इँटा व्यवसायीको करोडौँ नोक्सान हुने गरेको छ । खुला आकाशमुनि बनाइने इँटा नपकाउँदासम्म जोखिम रहन्छ । “काँचो इँटाको बीमा हुँदैन, बीमाको व्यवस्था भए नोक्सान कम हुन्थ्यो, तर हाम्रो सुनुवाई कसैले गर्दैन ।” बाँकेमा ५० बढी इँटा व्यवसायी छन् । इँटा उत्पादकहरुले मौसममा सात पटकसम्म इँटा उत्पादन गर्ने गरेका छन् ।

एक पटकमा ५÷६ लाखसम्म इँटा तयार पारिन्छ । सरकारले विसं २०७० असोजदेखि अनिवार्यरुपमा इँटाको कारोवारलाई मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो ।

किसानलाई वर्षाको पानी धेरै

वर्षाका कारण बाँकेका किसानहरुले लगाएको अन्न तथा दलहन, तेलहन र तरकारी खेतीमा आवश्यकताभन्दा धेरै पानी जमेर नोक्सानी पु¥याएको हो । बाँकेका पानी जम्ने अधिकांश खेतमा लगाइएको बालीमा ९० प्रतिशत बढी क्षति पुगेको किसानले बताएका छन् । उच्च स्थानमा लगाएको बाली ३०÷४० प्रतिशतसम्म नोक्सानी पु¥याएको सीतापुरका किसान यमबहादुर महतराले जानकारी दिनुभयो ।

उहाँले किसानको खेतबारीमा ठूलो नोक्सानी हँुदासमेत कृषि ज्ञान केन्द्रले चासो नदेखाएको गुनासो गर्नुभयो । बाँकेको ८वटै स्थानीय तहका किसानलाई वर्षभरी खान लगाइएको बालीलाई एकैदिन परेको पानीले नोक्सान पारेपछि यो वर्ष दलहन तथा तेलहन बालीको उत्पादन घट्ने बाली वैज्ञानिक रामदास चौधरीले बताउनुभयो । कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले जमेको पानी कटाउन सकिए नोक्सानी कम हुने प्रतिक्रिया दिनुभयो ।

उहाँले शनिबारदेखि घाम लागेकाले गहुँ बालीमा भने कम नोक्सानी हुने बताउनुभयो । वर्षातले मसुरोलगायत अन्य हिउँदे बालीको परीक्षण र बीउ उत्पादनमा प्रतिकूल असर पुगेको कोशेबाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र दराईले जानकारी दिनुभयो । पानीका कारण पुगेको असरले लक्ष्यअनुसार प्रगति नहुने देखिएको संयोजक दराईले बताउनुभयो । बीउ उत्पादनका लागि बनाइएको नर्सरीमा समेत ७० प्रतिशत नोक्सानी भएको उहाँको भनाइ छ ।

अनुसन्धान कार्यक्रममा बीउ उत्पादन कार्यक्रमका लागि चार हेक्टरभित्र ५० वटा व्याडहरु बनाएर अनुसन्धान गरिएको छ । कोशेबाली कार्यक्रमले विशेषगरी दलहनमा चना, राजमा र मसुरोलाई प्राथमिकता दिएर अनुसन्धान गरिरहेको दराईले जानकारी दिनुभयो । जमेको पानीलाई बाहिर फालेको र अब हुनसक्ने ढुसीको प्रभावलाई रोक्न प्रयास थालिएको उहाँले बताउनुभयो ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.