Engineeer Khabar

पुनःनिर्माणको चार वर्ष ः ४२ प्रतिशत आवास निर्माण सम्पन्न

गोरखा भूकम्पपछि गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको चार वर्ष पूरा हुँदा तनहुँ जिल्लामा ४२ प्रतिशत निजी आवास निर्माण सकिएको छ । तनहुँमा पूर्णतर्फ १३ हजार ९४६ र आंशिकतर्फ एक हजार १८५ गरी कूल १५ हजार १३१ लाभग्राही रहेकामा पुस ११ गतेसम्म छ हजार ४६९ निजी आवास पुनःनिर्माण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ ।

व्यास नगरपालिकामा दुई हजार ३७४ लाभग्राही रहेकामा एक हजार ५३, भानु नगरपालिकामा चार हजार ५९९ लाभग्राही रहेकामा दुई हजार १९१, बन्दीपुर गाउँपालिकामा एक हजार ६४ लाभग्राही रहेकामा ४८६, आँबुखैरेनी गाउँपालिकामा ८९२ लाभग्राही रहेकामा ४५५, देवघाट गाउँपालिकामा ६४८ लाभग्राही रहेकामा २२६, घिरिङ गाउँपालिकामा ३०६ लाभग्राही रहेकामा १२२ निजी आवास निर्माण सकिएको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो ।

भिमाद नगरपालिकामा एक हजार २९६ लाभग्राही रहेकामा ३६२, म्याग्दे गाउँपालिकामा एक हजार ३९५ लाभग्राही रहेकामा ६०७, शुक्लागण्डकी नगरपालिकामा एक हजार ९३९ लाभग्राही रहेकामा ७३७ र ऋषिङ गाउँपालिकामा ६१८ लाभग्राही रहेकामा २३० निजी आवास निर्माण सम्पन्न भएको छ ।

कूल लाभग्राहीमध्ये पूर्ण घर क्षति भएका १२ हजार ९८७ र आंशिक घर क्षति भएका ६२५ गरी १३ हजार ६१२ लाभग्राहीले पहिलो किस्ताबापतको रकम बुझेको एकाइ कार्यालयले जनाएको छ । त्यस्तै आठ हजार २०८ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझेका छन् ।

“तेस्रो किस्ताबापतको रकम बुझ्नेको सङ्ख्या छ हजार ४६९ रहेको छ”, एकाइ प्रमुख गुप्ताले भन्नुभयो, “घर निर्माण सम्पन्न गरेकाले तेस्रो किस्ताबापतको रकम बुझेका हुन्”, गुप्ताका अनुसार जिल्लामा पुनःनिर्माणको काम सन्तोषजनक रहेको पाइएको छ ।

पहिलो किस्ता बुझ्नेमा व्यास नगरपालिकामा दुई हजार १७६, भानु नगरपालिकामा चार हजार २१३, बन्दीपुर गाउँपालिकामा एक हजार २५, आँबुखैरेनी गाउँपालिकामा ७९१, देवघाट गाउँपालिकामा ५५६, घिरिङ गाउँपालिकामा २३५, भिमाद नगरपालिकामा एक हजार १२४, म्याग्दे गाउँपालिकामा एक हजार २७३, शुक्लागण्डकी नगरपालिकामा एक हजार ७२६ र ऋषिङ गाउँपालिकामा ४९३ लाभग्राही छन् ।

दोस्रो किस्ता बुझ्नेमा व्यास नगरपालिकामा एक हजार २२४, भानु नगरपालिकामा दुई हजार ६५८, बन्दीपुर गाउँपालिकामा ६७९, आँबुखैरेनी गाउँपालिकामा ४९५, देवघाट गाउँपालिकामा ३५०, घिरिङ गाउँपालिकामा १४६, भिमाद नगरपालिकामा ५८२, म्याग्दे गाउँपालिकामा ७०९, शुक्लागण्डकी नगरपालिकामा एक हजार ७२ र ऋषिङ गाउँपालिकामा २९३ लाभग्राही छन् ।

जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएकामा ८४४ लाभग्राही थपिएका छन् । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोका आधारमा जिल्लामा गत वैशाख १९ गतेदेखि छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको थियो ।

यसैगरी एकाइमार्फत् नै जिल्लामा चार सरकारी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । रु एक करोड ५९ लाख ४० हजार ८९७ को लागतमा घरेलु तथा साना उद्योग विकास समिति, रु दुई करोड ६५ लाख चार हजार ४११ को लागतमा डिभिजन वन कार्यालय, रु दुई करोड १४ लाख ९० हजार ३७ को लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र रु तीन करोड ३६ लाख ७० हजार ७७५ को लागतमा महिला बन्दीगृह भवनको निर्माण सकिएको छ ।

म्याग्दे गाउँपालिका–७ जिलाङका खिमकुमारी ठकुरीले भूकम्पले क्षतिग्रस्त बनाएको घर पुनःनिर्माणपश्चात् तेस्रो किस्ताबापतको रकम बुझेको जानकारी दिनुभयो । सरकारले दिएको अनुदानले घर निर्माण सम्पन्न हुन नसक्ने भए पनि घर निर्माणका लागि सहयोग पुगेको ठकुरीले बताउनुभयो ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.