Engineeer Khabar

पञ्चकोटमा शान्ति कलश निर्माणले गति लियो

आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गरेको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माणलाई निरन्तरता दिइएको छ ।

तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले विसं २०७१ मा शान्ति कलशको शिलान्यास गर्नुभएको थियो । विविध कारणले भौतिक पूर्वाधारको काम राकिएको थियो । शनिबार पञ्चकोटमा पाँचौँ बृहत् श्री सभाका अवसरमा भूमि पुजन गरी विधिवतरूपमा कलश निर्माण शुरुआत गरिएको पञ्चकोट विकास समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्य जानकारी दिनुभयो । उहाँ स्वामी कमलनयनाचार्यका उत्तराधिकारी हुनुहुन्छ ।

उहाँका अनुसार रु ३२ करोडको लागतमा तामा र फलामबाट निर्माण कलश निर्माण हुँदैछ । कलश निर्माणको जिम्मा सनलाइट निर्माण कम्पनी काठमाडौँले लिएको छ । सबै क्षेत्रबाट पर्याप्त रकम जुटेमा आगामी साढे तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

आकर्षक कलशसँगै पञ्चकोटमा अन्य विभिन्न धार्मिक संरचना पनि निर्माण भइरहेका छन् । करीब १०० रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग, गण्डकी माताको मन्दिर र गरुढ शिला, सिसमहल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुनाघर, सभा भवन निर्माण पुरा भएको छ । पाँच हजार ५५५ केजीको महाघण्टाका लागि आवश्यक संरचना तयार छ । पञ्चकोटमा सम्पूर्ण संरचनाको निर्माण पूरा हुँदा रु दुई अर्ब खर्च लाग्ने अनुमान छ । पञ्चकोटसँगै कारिकोट, माझकोट, रायरायकोट र संसारकोटमा विभिन्न संरचनाको निर्माण थालिएको छ । बागलुङ नगरपालिका—५ मालिका र पर्वतको जलजला गाउँपालिका धाइरिङमा गौशाला पनि निर्माण गरिएको छ । हालसम्म पञ्चकोटमा २५ करोड बढीको संरचना निर्माण भइसकेको छ । पञ्चकोटबाट गुर्जा, धवलागिरि, अन्नपूर्णलगायत आधा दर्जन हिमशृङ्खला देख्न सकिन्छ । यहाँबाट कालीगण्डकी नदीसँगै बागलुङ बजारको मनोरम दृश्यावलोकनसमेत गर्न सकिन्छ ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.