Engineeer Khabar

ढलरहित शहरको रुपमा विकास हुँदै रामपुर

पाल्पाको रामपुर नगरपालिकालाई ढलरहितको शहर बनाइने भएको छ ।

दैनिक निस्कने फोहरजन्य पदार्थलाई प्रशोधन गरी जैविक मल उत्पादन गरेर सफा सुन्दर रामपुर नगरपालिका बनाउने सङ्कल्पका साथ अगाडि बढेको नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिकाहँुदै वगेका पवित्र कालीगण्डकी नदीलाई विष्णुमती र वाग्मती जस्तै दुर्गन्धित नभई सफा र स्वच्छ बनाउने तथा नगरपालिका भित्रका फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गरेर आयस्रोत बढाउने योजना कार्यान्वयनमा ल्याएको बताइएको छ ।

यहाँका खोला नदीनालामा फोहरजन्य ढल मिसाएर दुर्गन्धित बनाउन नदिने, सफा स्वच्छ रुपमा नदी खोलालाई आफ्नै बहावमा वग्न दिने र रामपुर नगरलाई नेपालकै नमूना ढलरहितको शहर बनाउने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । “खोला नदीनालालाई ढल मिसाएर दुर्गन्धित नबनाउने भनी घोषणा पत्रमा पनि उल्लेख गरेका छौँ, यस क्षेत्रको वातावरणलाई स्वच्छ र सफा बनाउने विषय कार्यपालिकाको बैठकले समेत पारित गरिसकेको छ, यसमा सबैको प्रतिबद्धता र सहमति आवश्यक छ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख थापाले यहाँको फोहरमैलालाई व्यवस्थापन गर्न भ्याकुमको माध्यमबाट प्रशोधन गरी उत्पादन गरिएको जैविक मल तरकारी, फलफूल र बालीमा प्रयोग गराएर यहाँका जमीन हराभरा बनाउने बताउनुभयो । फोहरमैला व्यवस्थापनका लागि केन्द्रीय सरकारबाट रु दुई करोड रकम प्राप्त भएको छ । रामपुरको मुख्य बजार बेझाड बजारबाट मात्रै दैनिक करिब तीन टिपर जति फोहरजन्य पदार्थ सङ्कलन हुन्छ । बेझाड बजारका अलवा विजयपुर, किसानबारी, इस्लामपुर बजार क्षेत्रबाट यहाँ दैनिक करिब पाँच टिपरसम्म फोहरजन्य सामग्री निस्कने गर्दछ ।

दैनिक घर, बजार क्षेत्रबाट निस्कने फोहर तथा ढलजन्य पदार्थको उचित प्रशोधन गरेर नगरपालिकाले राम्रो आम्दानीको स्रोत बनाउने नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो । “सफा र सुन्दर नगर, ढलरहितको शहर बनाएर नेपालकै नमूना नगरपालिकाका रुपमा रामपुरलाई चिनाउने छौँ, जहाँ यो क्षेत्र ढलरहित शहरको अवलोकन योग्य बन्नेछ”, उहाँले भन्नुभयो ।

रामपुर नगरपालिकामा औद्योगिक ग्रामका लागि रु ९२ लाख रकम आएको छ । यसका लागि नगरपालिका भित्र ठाउँ पहिचान गर्ने कार्य हँुदैछ ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.