Engineeer Khabar

जनता आवासका घर निर्माणले गति लियो

बजेट अभावले लामो समयदेखि रोकिएको जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माणले गति लिएको छ । जिल्लाका फलेबास, कुश्मा, बिहादी, जलजला र महाशिलामा विपन्न समुदायका लागि ११९ घर निर्माणाधीन छन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत निर्माण अगाडि बढेको पोखरास्थित डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख अनुप थापाका अनुसार चालु वर्ष जिल्लामा १५० घर निर्माण गर्ने लक्ष्य छ । “हालसम्म ५० को हाराहारी घर बनेका छन्”, उहाँले भन्नुभयो, “अहिले बजेटको समस्या छैन । यो वर्षभित्रै सबै घर बनाइसक्ने छौँ ।”
जिल्लामा चार वर्षअघिदेखि घर निर्माणको कार्यक्रम शुरु भएको थियो । शुरुको वर्ष १०० घर निर्माण थालिएको थियो । २०७२ मा तत्कालीन सरकारले ल्याएको ‘जनता आवास’ कार्यक्रममार्फत साविकका १० गाविसका १०० घर निर्माण शुरु भएर लामो समय रोकिएको थियो । पटक–पटक सरकार बदलिँदा तत्कालीन सङ्घ सरकारको सहरी विकास मन्त्रालयले बजेट रोकेपछि आवास अधुरै थिए ।

चालु वर्ष उक्त कार्यक्रम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण भएपछि कामले गति लिएको हो । कार्यक्रमअन्तर्गत फलेबास नगरपालिकामा ४१, कुश्मा नगरपालिकामा ३७, बिहादी गाउँपालिकामा २१, महाशिला गाउँपालिकामा ९ र जलजला गाउँपालिकामा ११ घर निर्माणको अन्तिम चरणमा छन् । ४४ परिवारले घर निर्माण सकेका छन । एक सय ११ घरपरिवारले दोस्रो किस्ता रकम लिएको कार्यालयले जनाएको छ ।
यो कार्यक्रमअन्तर्गत प्रतिपरिवारले रु तीन लाखका दरले रकम पाउँछन् । “पैसा नभएपछि लामो समय घर बनाउनै सकिएन”, फलेवास–५ खानीगाउँकी सरला परियारले भन्नुभयो, “अहिले बल्ल पैसा पाएर घर बनाइयो । सरकारी पैसा समयमा पाउनै मुस्किल हुँदोरहेछ ।”
कार्यक्रम सफल भए चालु वर्ष नै अरु घर निर्माण शुरु गरिने डिभिजनका निमित्त प्रमुख थापाले जानकारी दिनुुभयो । सरकारले विपन्न परिवारको सूचीमा परेका परिवारलाई दुई कोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिदिन लागेको हो । यस्ता घर निर्माणको सूचीमा पर्न सम्बन्धित स्थानीय तहले विपन्न प्रमाणित गरिदिनुपर्ने प्रावधान रहेको छ ।
घरेलु मदिरा नष्ट
जिल्ला प्रहरी कार्यालय पर्वतले सदरमुकाम कुश्मा बजारबाट घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । बजार क्षेत्रभित्रै अवैधरुपमा व्यावसायिक प्रयोजनका लागि उत्पादन हुँदै आएको गुनासो बढेपछि प्रहरीले आइतबार बिहानैदेखि छापा मारेको थियो । कुश्माबजारको वडा नं ४ र वडा नं ५ बाट झण्डै आधा दर्जनभन्दा बढी घरबाट चार हजार ५०० लिटर मदिरा बरामद गरिएको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न क्षेत्रमा अवैध र गुणस्तरहीन घरेलु मदिरा उत्पादन, बिक्री वितरण तथा सेवन गरी दैनिकरुपमा घरायसी झैझगडा, सवारी दुर्घटना, लैङ्गिक हिंसाका घटना तथा जघन्य प्रकृतिका घटना घटिरहेको साथै छरछिमेकबाट समेत गुनासा बढेपछि प्रहरीले उत्पादन हुने स्थानको खोजी गरेको हो ।

प्रहरीको टोलीले तयारी अवस्थामा रहेको लोकल मदिरा र मदिरा बनाउने कच्चा पदार्थ गरी झण्डै चार हजार ५०० लिटर र रक्सी बनाउने भाडा बरामद गरेको उहाँले जानकारी दिनुभयो । उक्त मदिरा कुश्मा नगरपालिकाका जनप्रतिनिधि र पत्रकारको रोहबरमा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आइतबारै नष्ट गरिएको थियो । प्रहरीले बजार क्षेत्रमै यसैगरी लुकीछिपी मदिरा उत्पादन गर्नेलाई कडाइ गर्ने जनाएको छ । अन्य स्थानीय तहमा पनि अभियानकै रुपमा मदिरा नष्ट गरिने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.