Engineeer Khabar

एउटै मन्दिरमा १४ करोडको पूर्वाधार

धार्मिक गन्तव्यका रुपमा विकास भएको बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित श्री रगवेंकटेश मुक्तिनारायण मन्दिरमा रु १४ करोड बराबरको पूर्वाधार निर्माण गरिएको छ ।

मन्दिर परिसरमा पछिल्लो १० वर्षमा लिच्छिविकालीन प्यागोडा शैलीमा आकर्षक तिरुपती बालाजिधाम मन्दिर निर्माण गरिएको छ । भू–गर्भभित्र ७६ मिटर लामो शालिग्राम सङ्ग्रहालय, गरुड स्तम्भ तथा ताम्रा पत्रले छाएको सभाहल निर्माण, मुक्तिनाथ वेदविद्याश्रम, आवास, शौचालय लगायतको दर्जनौँ संरचना अहिले तयार छन् । केही संरचना अब निर्माणको अन्तिम चरणमा छन् । शून्यताबाट शुरु भएको अभियानमा सरकारीस्तरबाट रु तीन करोड र अरु दाताबाट स्वतःस्फूर्त प्राप्त सहयोगबाट यति बृहत्तर संरचना निर्माण गर्न सफल भएको श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । करिब २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा शुरुमा एक मन्दिर, एक सभाहल र मुक्तिनाथ वेद विद्याश्रम मात्र थिए ।

श्रीधराचार्यले तपस्या गरेको स्थानमा २०४० सालमा मन्दिर स्थापना भएको थियो । मन्दिर धार्मिक तथा पर्यटकीय हिसावले महत्वपूूर्ण मानिँदै आएको छ । पछिल्लो समय श्रीधराचार्यको नाममा झण्डै रु छ करोड खर्च गरेर निर्माण गरिएको शालिग्राम सङ्ग्रहालय हेर्न आउने पर्यटक बढ्का छन् । शनिबार १०० देखि २०० हाराहारी शालिग्राम सङ्ग्रहालय तथा कलात्मक शैलीमा निर्माण गरिएको बालाजीधामको मन्दिर हेर्न आउने गरेको प्रपन्नाचार्यले जानकारी दिनुभयो । रु पाँच करोडको लागतमा श्रीराम लेखेको ढुङ्गा तथा कलात्मक काठबाट नौ वर्ष लगाएर बालाजीधामको मन्दिर निर्माण गरिएको छ । जहाँ १०० किलोग्रामको शालिग्राम राखेर पूजा आरधना गरिँदै आइएको छ ।

विश्वमै दुर्लभ मानिने शालिग्राम शिलाको संरक्षणको लागि सङ्ग्रहालय निर्माण गरिएको हो । “हामीले पछिल्लो १० वर्षमा रु १४ करोडको संरचना तयार पारेका छौँ”, प्रपन्नाचार्यले भन्नुभयो, “जसमध्ये नेपाल सरकारका विभिन्न तहमार्फत रु तीन करोड सहयोग भएको छ अन्य दाताकै भरमा संरचना निर्माण गरेका छाँै, पछि फर्किएर हेर्दा हामी दङ्ग पर्ने गरेका छौँ ।” मन्दिर परिसरमा अत्यन्तै कलात्मक तरिकाले ताम्रापत्रले छाएको २०० भक्तजन क्षमताको सभाहल निर्माण भएको छ । बागलुङका समाजसेवी सहदेव राजभण्डारीका परिवारले रु एक करोड ५० लाख खर्चेर निर्माण गर्नुभएको थियो । सभाहल छेउमै १५ लाख रुपैयाँको लागतमा २५ फिट अग्लो गरुढ स्तम्भ निर्माण गरिएको छ ।

मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यहाँ सवा लाख शालिग्राम, दामोदर कुण्डदेखि त्रिवेणीधाम सम्मको कालीगण्डकी सभ्यताको नमूना चित्रणसमेत गरिएको छ । “कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम चोरी पैठारी हँुदा भविष्यमा यो हराउँदै जाने भन्दै संरक्षण गरिएको हो”, प्रपन्नाचार्यले भन्नुभयो, “सबैको सहयोगले यस्तो पवित्र कार्य सम्पन्न भएको छ ।”

हिन्दू धर्मालम्बीका लागि कालो रङ्गको बाटुलो शिला (ढुङ्गा) शालिग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । वैष्णव र सनातनीले शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिन्छन् । सङ्ग्रहालय नामकरण गरिएका स्वामी श्रीधरचार्य शालिग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका एक अभियन्ता मानिन्छन् । उहाँको २०५६ सालमा ३९ वर्षको अल्पायुमै निधन भएको थियो । आचार्यका मुक्तिक्षेत्र महात्माय, शालग्राम महात्माय, गोदा सप्तरीलगायत दुई दर्जन बढी कृति प्रकाशित छन् ।
रासस

Comments are closed, but trackbacks and pingbacks are open.