Engineeer Khabar

ई. डा. भेषराज थापा २०७७ सालको ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’ बाट सम्मानित

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को २०७७ सालको ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’ युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका प्राचार्य सह–प्राध्यापक ई. डा. भेषराज थापाले प्राप्त गरेका छन् ।

नास्टले प्रत्येक वर्ष मेरिट अर्थात् अनुसन्धान पेपरको संख्या, इम्प्याक्ट फ्याक्टर र उक्त अनुसन्धानले नेपाल र अन्तर्राष्ट्रिय जगतमा खेलेको भूमिका र पुर्याएको योगदानका आधारमा ४० वर्षमूनिका नेपाली युवा वैज्ञानिकहरूलाई “विज्ञान तथा प्रविधि युवा पुरस्कार” द्वारा सम्मानित गर्ने गरेको छ ।

डा. थापाले जापानको यामान्सी विश्वविद्यालयबाट ‘इन्टिग्रेटेड रिभर बेसिन म्यानेजमेन्ट’मा आफ्नो बिधावारिधि गरेका थिए । उनले आफ्नो सो अध्ययन जापान सरकारद्वारा प्रदान गरिने “मेक्स्ट छात्रवृत्ति” अन्तर्गत सम्पन्न गरेका थिए । जलस्रोत क्षेत्रमा निरन्तर रुपमा अनुसन्धान गर्दै उक्त क्षेत्रमा पुर्याएको प्राज्ञिक–वैज्ञानिक योगदानको कदरस्वरूप डा. थापालाई सो पुरस्कारले सम्मानित गरिएको हो । नास्टको ‘ब्रेन पुलिङ नेपाल कार्यक्रम’ अन्तर्गत गरिएको आह्वानमा प्राप्त वैज्ञानिक, विज्ञ तथा प्राविधिकहरूका प्रस्तावनामध्येबाट डा. थापा उत्कृष्टमा छनोट भएका छन् र उनलाई नास्टको एसोसियट फेलोको आबद्दता समेत दिइएको छ । डा. थापाले द वर्ल्ड बैंक, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युट, सरकारी निकाय लगायतका बिभिन्न संस्थाहरुमा समेत काम गरिसकेका छन् । यस बाहेक उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा दर्जनौँ अनुसन्धान कृतिहरु प्रकाशित भैसकेका छन् ।

मिति २०७७ चैत्र २३ गते सम्माननीय प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति श्री केपी शर्मा ओलीको अधक्ष्यतामा बसेको नास्टको ४४ औं प्राज्ञसभाले २०७७ सालको लागि विभिन्न क्षेत्रको अनुसन्धानमार्फत् योगदान पुर्याइरहेका प्राज्ञिक व्यक्तित्वहरूलाई सम्मान गर्ने निर्णय गरेको छ । डा. भेषराज थापा संगै डा.सुनिता गौतम, डा. आनन्द मिश्र, डा. अनुपमा श्रेष्ठ, डा. सागर रेग्मी, डा. रेश्मा तुलाधर “विज्ञान तथा प्रविधि युवा पुरस्कार” बाट सम्मानित हुने भएका छन् भने कुल ११ भिन्न विधाहरूमा १७ व्यक्ति तथा संस्थाहरू पुरस्कारको लागि छनौट भएका छन् ।

इन्जिनियर खबर परिवार ई. डा. भेषराज थापा लगायत समस्त सम्मानित हुनु हुने व्यक्ति तथा संस्थाहरुलाई हार्दिक बधाई ब्यक्त गर्न चाहन्छ ।

 

Comments are closed, but trackbacks and pingbacks are open.