Engineeer Khabar

नागरिक एप फुल भर्सन: सम्भव हुने सम्पूर्ण सरकारी सेवा अब एउटै एपमार्फत [बिवरण सहित]

नेसनल आईसीटी डेको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नागरिक एपको फुल भर्जनको औपचारिक शुभारम्भ गरेका छन । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने गरी सो एपको फुल भर्सन सार्वजनिक गरेको छ ।

यसअघि परीक्षणका रूपमा (बेटा भर्सन) सार्वजनिक गरिएको थियो । बेटा भर्सनकै क्रममा उक्त एप करिब सवा पाँच लाखभन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ताले आफूलाई दर्ता गराइसकेको मन्त्रालयले जनाएको छ। हालसम्म करिब तीन हजार प्रयोगकर्ताले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट समेत प्राप्त गरिएको जानकारी उल्लेख गरिएको छ । त्यस्तै प्यान नम्बर लिने प्रयोगकर्ताको संख्या १० हजारभन्दा बढी रहेको छ । नेसनल आईसीटी डेको अवसरमा बोल्दै ओलीले नागरिक एपले नेपालको सार्वजनिक सेवामा एउटा युगान्तकारी परिवर्तन निम्त्याउने जीकिर गरेका छन् ।

बिशेषत: नागरिकलाई प्रत्यक्ष रुपमा प्रदान गर्ने सरकारी सेवा तथा सूचनाहरुमा सर्वसाधारणको पहुँच सरल तथा सहज बनाउन सबैजसो सरकारी तथा सार्वजनिक निकायहरुले सूचना प्रविधिको माध्यमद्वारा सेवा तथा सूचना प्रदान गर्न शुरु गरिसकेका छन्। यसरी सञ्चालनमा रहेका सूचना प्रणाली तथा मोवाइल एपहरु निकायगत रुपमा छुट्टाछुट्टै रुपमा सञ्चालनमा रहेका र तिनको अन्तरआवद्धता नहुदा अनलाइन प्रणालीले लोकप्रियता नपाइरहेको अवस्थामा नागरिक एपले आफ्नो सार्थकता प्रमाणित गर्न खोजेको मन्त्रालयको दाबि छ । नागरिक एपले फरक फरक सेवाहरु फरक फरक प्रणाली वा ती प्रणालीसँग छुट्टाछुट्टै रुपमा सम्बन्धित भई बनेका छुट्टाछुट्टै मोवाइल एपको एकीकृत मोडलको निर्माण गर्ने लक्ष्य राखेको छ ।

यस एपको माध्यमबाट विभिन्न सरकारी तथा सार्वजनिक निकायका अनलाइन सेवा एउटै एपबाट सहज रुपमा प्राप्त गर्न सकिनुका साथै यस एपले Service Delivery Gateway को रुपमा समेत कार्य गर्नेछ जसले गर्दा सरकारी तथा सार्वजनिक निकायका विद्युतीय प्रणालीहरु छुट्टै एक आपसमा अन्तरआवद्ध गर्नु पर्ने बाध्यता नहुनुको साथै एपमा जोडिने सबै प्रणालीहरुले एक आपसमा सम्पर्क स्थापित गर्न सक्दछन् ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि नागरिक एपमा उपलब्ध छ । एसईई र प्लसटु तहका शैक्षिक विवरणसमेत एपमा राखिएका छन् । प्रयोगकर्ताले ईमेल भेरिफाई गरेर आफ्नो नागरिक एपमा लिङ्क गराउन सक्छन् । नेपालका जुनसुकै मोबाइल नम्बरबाट नागरिक एपको खाता खोल्न सकिने भएको छ । तर, मोबाइल नम्बर भने अनिवार्य रुपमा आफ्नै नामको हुनुपर्ने छ ।

नागरिक एपमा हाल प्यान दर्ता, TDS बिवरण हेर्ने, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष र सामाजिक सुरक्षा कोषको (statement) योगदान हेर्ने, नागरिकताको विवरण हेर्ने, राहदानीको विवरण हेर्ने, मतदाता नामावलीमा रहेको विवरण हेर्ने, एसईई र प्लसटु तहका शैक्षिक विवरण हेर्ने, हेल्लो सरकारमा गुनासो दर्ता गर्ने, आफूले गरेका तथा सार्वजनिक गुनासोहरू हेर्ने, प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने, लालपूर्जा र जग्गाको कित्ता हेर्न सकिने, स्वास्थ्य विमा बोर्डको विवरण हेर्न सकिने, बैंक खाता खोल्न सकिने व्यवस्था राखिएको छ ।

यसको अतिरिक्त प्रयोगकर्ताले ईमेल भेरिफाई गरेर आफ्नो नागरिक एपमा समेत लिङ्क गराउन सक्छन् । नेपालका जुनसुकै टेलिकम सेवाग्राहीको  मोबाइल नम्बरबाट नागरिक एपको खाता खोल्न सकिनेछ तर, मोबाइल नम्बर भने अनिवार्य रुपमा प्रयोगकर्ताको आफ्नै नामको हुनुपर्ने छ ।

लालपूर्जा र जग्गाको कित्ता बिवरण, राजश्व अनलाइन तिर्ने सुविधा

नागरिक एपमार्फत जग्गा धनीले आफ्नो लालपूर्जा र जग्गाको कित्ता हेर्नुका साथै प्रिन्ट गर्न समेत सक्नेछन् । यसका साथै जग्गाको कर तिर्ने सुविधा समेत नागरिक एपमै उपलब्ध हुने जनाइएको छ । त्यस्तै गरि, मालपोत, नापी र राजस्व कार्यालयको सेवा नागरिक एपमा जोड्ने काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

नागरिक एपबाट बैंकमा खाता खोल्न सकिने, केवाइसी भर्न सकिने

चौंथो राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सुरु गरिएको नागरिक एपमार्फत प्रधानमन्त्री ओलीले क्यूआर कोड स्क्यान गरी अनलाइन माध्यमबाट बैंकिङ खाता खाेलेका छन् । पहिलो चरणमा यो सिस्टममा नेपाल बैंक, नेपाल वाणिज्य बैंक तथा सिद्धार्थ बैंक जोडिएका छन् र संग-संगै केवाइसी समेत अनलाइन बाटै भर्न व्यवस्था मिलाइएको छ । अब यसै संगै बैंक अकाउन्ट खोल्न ग्राहक बैंकमै पुग्नुपर्ने बाध्यता अन्त्य हुने आंकलन गरिएको छ ।

नागरिक एपको सेवा अब वेबसाइटबाट पनि

वेबसाइटको नाम नागरिक एप डट जीओभी डट एनपी (https://nagarikapp.gov.np) हुने भएको छ । वेबसाइट डेभलपमेन्टको काम भइरहेकाले हाल त्यसमा नागरिक एपको डिजाइन मात्र राखिएको छ । अबका दिनमा वेबसाइटमा नागरिक एपमा उपलब्ध सेवा समेत लिन सकिने बताइएको छ ।

स्थानीय तहको सिफारिस लिने र कर तिर्ने सुविधाको तयारी तिब्र 

नागरिक एपमा देशका सबै ७५३ वटै स्थानीय तहलाई जोड्ने काम भइरहेको सरकारले जनाएको छ । नागरिक एपमा स्थानीय तहको सुविधा उपलब्ध भएसँगै त्यसबाटै स्थानीय तहमा बुझाउनुपर्ने कर रकम समेत तिर्न सकिनेछ । यसका लागि कनेक्ट आईपीएस सहितका भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकलाई नागरिक एपमा जोडिने बताइएको छ ।

सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत एपबाटै तिर्न सकिने तयारि 

नागरिक एपबाट यातायातको राजस्व तथा नवीकरण शुल्क तिर्न सकिने गरी यातायात व्यवस्था विभाग अन्तर्गतका यातायात कार्यालयहरुमा आवश्यक सिस्टम राख्ने काम भइरहेको छ । अब उक्त सिस्टमलाई सोझै नागरिक एपमा जोडिने बताइएको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवाप्रदायकलाई नागरिक एपमा जोड्ने तयारी भइरहेको छ । यससँगै सवारी साधन नवीकरण गराउने क्रममा नागरिकले  भोग्दै आएका समस्याहरुको अन्त्य हुने अपेक्षा गरिएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.