Engineeer Khabar

पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुका समस्याबारे पिनद्वारा ध्यानाकर्षण

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको उचित व्यवस्थापन तथा यस दौरानमा हासिल भएका ज्ञान तथा सीपलाई राष्ट्रले सदुपयोग गर्ने बिषय लगायत विभिन्न बिषयमा प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपाल(पिन) ले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. सुशील ज्ञवालीसमक्ष ध्यानाकर्षण गरेको छ ।

बुधबार सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा पिनका उपाध्यक्ष ई. सुरज लामिछानेको नेतृत्वमा सचिव ई. संजिव रोकाहा, कार्यालय सदस्य ई. अर्जुन पौडेल, केन्द्रीय सदस्य ई. सुरज गौतमको उपस्थितिमा ध्यानाकर्षण पत्र पेश गरिएको छ । पुनर्निर्माणमा कार्यारत इन्जिनियरहरुको सेवा सुबिधा तथा भत्ता, प्राधिकरणको समय समाप्ती पश्चात् यस अभियानको दौरानमा हासिल भएका ज्ञान, कार्यरत इन्जिनियरहरुको सीपलाई राष्ट्रले सदुपयोग गर्ने विभिन्न बिषयमा छलफल भएकाे छ ।

ध्यानाकर्षणसंगै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भत्ता सुबिधालगायत व्यवस्थापनका बिषयमा प्राधिकरण सकारात्मक रहेको र साथै यहि बजेट बक्तब्य मार्फत प्रत्येक पालिकामा बिपद र पुनर्निर्माणका लागि इन्जिनियरहरुको ब्यवस्थापन गर्ने पहल समेत गरिसकेको जानकारी दिएका छन् । त्यस्तै गरि, पुनर्निर्माणमा काम गरिएका बाहेकका अन्य जिल्लाहरुमा बिद्यालय तथा स्वास्थ्य संस्थाहरूको भवनको स्ट्रक्चर एनेलाइसिस तथा थप अध्ययन गर्न अत्यावश्यक रहेको सन्दर्भमा हाल कार्यरत इन्जिनियरहरुलाई प्राथमिकतामा राख्दै देशैभरि महाभियान चलाउने तर्फ समेत प्राधिकरणले आवश्यक पहल गरिसकेको जानकारी ज्ञवालीले दिएका छन् । अन्तिममा गोर्खा भूकम्प पश्चातको पुनर्निर्माणको महाभियानको अन्तिम चरणमा भुकम्प पिडितले अन्तिम किस्ता लिने संवेदनशील समयमा प्राविधिकहरुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नेमा प्राधिकरण बिश्वस्त रहेको समेत जनाएका छन् ।

त्यस्तै, भुकम्प पिडितको अन्तिम किस्ता लिने समय भएकाले सबै इन्जिनियरहरुलाई यस पक्षको सम्बेदनसिलतालाई बुझ्दै आ-आफ्नो कार्यक्षेत्रमा फर्किदै यस महाभियानलाई सफल पार्नका लागि पिनले समेत आह्वान गरेको छ।

Comments are closed, but trackbacks and pingbacks are open.