Engineeer Khabar

चार वर्षमै फेरियो मध्यपुरको मुहार

भक्तपुर, १४ साउन : पुरानो नेवार बस्ती, सम्पदाको शहर, जात्रापर्वले सम्पन्न । यति हुँदाहुँदै पनि मध्यपुरथिमि नगरपालिका क्षेत्र सधैँ ओझेलमै थियो । पछिल्लो चारवर्षे अवधिमा भने यसको मुहार फेरिएको छ । यहाँका जीर्ण सम्पदा, भत्किन लागेका दरबार, भत्किएका पाटी, मठमन्दिरले धमाधम परम्परागत स्वरुपमा नयाँ जीवन पाएका छन् । पुरिएका ऐतिहासिक पोखरी, इनार र ढुङ्गेधारा धमाधम उत्खनन हुँदै परम्परागत शैलीमा पुनःनिर्माण भएका छन् ।

फोहर फाल्ने डम्पिङ साइट आकर्षक उद्यानमा परिणत भएका छन् । पन्ध्रदेखि ३० वर्षसम्म बन्द भएको ऐतिहासिक महत्व बोकेका मुर्छित जात्रा, पर्वहरु ब्युँतिएका छन् । यहाँका मूर्त–अमूर्त कला, संस्कृति, जात्रा, पर्व नयाँ पहिचान तर पुरानै स्वरुपमा फर्किएर आन्तरिक पर्यटकको चाप बढेपछि अचेल गौरबले हाँस्न थालेको छ मध्यपुरथिमि ।

जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै भएको छ मध्यपुरथिमिमा अहिले । वर्षौँदेखि स्वरुप परिवर्तन हुन नसकेको यस नगरपालिकामा स्थानीय तहको निर्वाचनसँगै निर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठको इच्छा, काम गर्ने लगनशीलता र अहोरात्र खटाइले मध्यपुरथिमि नगरपालिकाको मुहार फेरिएको बताउँछन् स्थानीयवासी । नगरप्रमुख श्रेष्ठको योजना र कार्यशैलीमा अन्य जनप्रतिनिधि एवं स्थानीय जनताले साथ दिएपछि आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रूपमा नगरपालिकाले नयाँ पहिचान पाउन सफल भएको छ ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा पाएको सफलतालाई आधार मान्दै नेपालको एक मात्र मध्यपुरथिमि नगरपालिका ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै उक्त पुरस्कार दिएपछि यो नगरपालिका नेपाल बाहिर पनि चर्चामा आएको नगरप्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

के भयो चार वर्षमा ?

अरनिको राजमार्गसँगै टाँस्सिएको मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर साख्वाः चोकबाट बालकुमारीतर्फ जाने उकालो सडकको पश्चिमपट्टिको फोहर फाल्ने भिरालो जमिन यतिखेर सुन्दर ‘शङ्खधर पार्क’मा परिणत भएको छ । दुईवर्ष अघिसम्म नाक, मुख थुनेर हिँड्नुपर्ने यो ठाउँ अहिले मर्निङवर्क गर्ने र थकाइ मार्न सुस्ताउने थलो बनेको छ । शङ्खधर चोकबाट बालकुमारीतर्फ जाने ठाडो उकालो ढलान भएको छ । तेत्तीस रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा हरियो दुबो, कलात्मक ढुङ्गाका सिँढी, झरना, ह्याङ्गिङ गार्डेन, लहलहाउँदो विभिन्न जातका बिरुवा, डाँची अप्पा, चुना सुर्कीको प्रयोग गरेर ऐतिहासिक तीनधारा र परम्परागत शैलीको एमपी थियटर बनेको छ ।

नगरप्रमुख श्रेष्ठका अनुसार रक क्लाइम्बिङ, ठूलो शङ्ख र शङ्खधर साँख्वाःको शालिक राख्ने तयारी गरिँदैछ भने परम्परागत पाटी र सूचना केन्द्र निर्माणको काम शुरु भएको छ । काठमाडाँैं महानगरपालिकाको नगर साझेदारी कार्यक्रमबाट आएको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको थप लगानीसहित रु छ करोड ५० लाख बजेट खर्चिएको छ । उता थिमिकै बोडेस्थित कुमारी उद्यान अहिले उपत्यकाका बासिन्दाका लागि आकर्षण बनेको छ । फोहर फाल्ने भिरालो जमिनलाई नगरपालिकाले आकर्षक उद्यान, ढुङ्गेधारा, पोखरीको पुनःनिर्माण मात्रै गरेन, जीर्ण बनेको कुमारी मन्दिर संरक्षण र भत्किनै लागेको फल्चाको पुनःनिर्माणले पर्यटकलाई आकर्षित पार्न सफल भएको छ ।

नगरप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले बोडेमै भैरव उद्यान, वडा नं ४ मा यमा उद्यान, विष्णु कुण्डल उद्यान, नगदेशको सुचुत्वास्थित गयर दोफो उद्यान निर्माण सम्पन्न गरेको छ भने चोडेको निलवर्ण उद्यान, कमेरोटारको तसोताः उद्यान, आलाचको उद्यान, सिद्धिकालीको कुटिंगडाँडामा सञ्जिवनी उद्यान र लोकन्थलीमा बाल उद्यान निर्माण धमाधम भइरहेको छ ।

ठेक्का प्रणाली निरुत्साहित गर्दै सबै उपभोक्ता समितिमार्फत भइरहेका सम्पदा संरक्षणको काममा जनप्रतिनिधि र स्थानीयवासीले सघाइरहेका छन् । सिद्धिकालीमा मात्रै नपाको करिब चार करोडको लागतमा गेट, ढुङ्गा छपाइ, मन्दिरको जीर्णोद्धार, पाटी निर्माण, मन्दिर परिसरको सुधार, मन्दिरको छानो र झलरमा सुनको जलप लगाएर आकर्षक बनाइएको छ ।

पुर्खाले जोडेर गएको महत्वपूर्ण सम्पदाको अस्तित्व जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्न अहोरात्र खटिने नगरप्रमुख श्रेष्ठ सम्पदादेखि उद्यानसम्म, जात्रा, पर्वदेखि जनताको हरेक काममा सघाउन आफैँ पुग्नुहुन्छ । बिहान उठेपछि निर्माण भएका उद्यान र सम्पदा डुल्नुहुन्छ र त्यहाँको अवस्था बुझ्नुहुन्छ । उद्यान, मन्दिर, पोखरी, पाटी निर्माणमा उपभोक्ता र मजदुरलाई हौसला दिन आफैँ इँटा, टायर झिङ्गटी समाएर श्रमदान गर्न पुग्नुहुन्छ भने जात्रा पर्वमा आफैँ स्थानीयवासीसँगै सहभागी हुनुहुन्छ ।

मन्दिरको छानो हाल्दा, छानोमा आफँै उक्लेर स्थानीयवासी र मजदुरलाई सघाउनुहुन्छ । शिलान्यास र उद्घाटन गर्नेमात्रै होइन, निर्माण सम्पन्न नभएसम्म हरेक काममा सघाउन आफँै तम्सिनुहुन्छ । नगरप्रमुख श्रेष्ठको स्थानीयवासीसँग हातेमालो गर्ने यही बानीले स्थानीयवासीको मन जित्दै गएको बताउनुहुन्छ नपाका प्रवक्ता केशव सिलवाल ।

वर्षौँदेखि पुरिएर खेल मैदान र फोहर फाल्ने थलोको रूपमा परिणत भएको मध्यपुरथिमि नगरपालिका–४ इन्द्रायणी पीठमा रहेको प्रसिद्ध धार्मिक एवं मल्लकालीन विष्णुकुण्डको उत्खनन गरी जीर्णोद्धार गरेर मल्लकालीन स्वरुपमै फर्काएपछि यो क्षेत्र आन्तरिक पर्यटकको आकर्षण बनेको छ ।

खेल मैदान बनेको मथिनपा–४ को ‘निगू पुखुः’ अर्थात् दुई पोखरीको मल्लकालीन शैलीमा जीर्णोद्धार भएपछि पानी भरेर आकर्षक बनेको छ । करिब ३०० वर्ष पहिले गङ्गा महारानीले निर्माण गराएको दुई पोखरीले पुनःजीवन पाएसँगै यहाँको मुहार फेरिएको छ । बाँकी केही काम पनि केही महिनाभित्रै सम्पन्न गरिने नगरप्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

सम्पदा संरक्षण अभियानमा मध्यपुरथिमि नगरपालिकाले पुनःनिर्माण गरेको (निगुःपुखु) दुई पोखरी । तस्बिर: रमेश गिरी/रासस

स्थानीयवासीका अनुसार राजा महेन्द्र विसं २०१५ मा भक्तपुर आउँदा राजालाई स्वागत गर्न दुई पोखरीको पानी निकालेर मैदान बनाएदेखि पोखरी मैदानमा परिणत भएको थियो । यो पोखरी आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक बन्न थालेको छ ।

पुरिएर हराएको कयकुता पुखुःको उत्खनन एवं पुनःनिर्माण, बोडे–८ मा पुरिएर पार्किङ बनाएको देबु पुखुःको उत्खनन गरी पुनःनिर्माण गरिएको छ । बोडेकै कुमारी मन्दिर परिसरको पोखरीको पुनःनिर्माण, अतिक्रमणमा परेको पलिस्वाः पुखुः अर्थात् कमलपोखरीको जीर्णोद्धार शुरु भएको छ । वडा नं ७ नगदेशको गुँलापुखुः, दक्षिण बाराहीको क्वाछेँ पुखुः, वडा नं ५ भुँलाखृल पुखुः, वामुने पुखुःलगायतका पोखरीको पुनःनिर्माण एवं जीर्णोद्धार भइरहेको छ ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले चार वर्षको अवधिमा २३ वटा मन्दिर, ३७ वटा पाटी, लोपोन्मुख अवस्थामा पुगेका २५ वटा ढुङ्गेधारा, इनारको संरक्षण गरेका छौँ, १५ वटा पोखरीको पुनःनिर्माण एवं जिर्णोद्धार भएकामा छ वटामा पानी भरिएको र थप १० वटामा काम भइरहेको छ । यहाँका थिमि लायकु, बोडेको लायकु र नगदेशको लायकु गरी तीनवटा दरबार पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ, थप कामहरु गरिरहेका छौँ ।”

सम्पदा संरक्षण अभियानमा मध्यपुरथिमि नगरपालिकाले बोडेमा निर्माण गरेको लायकु दरबार । तस्बिर: रमेश गिरी/रासस

नगरपालिकाले पोखरीको धमाधम उत्खनन, जीर्णोद्धार एवं पुनःनिर्माण थालेर पानी भरेपछि मध्यपुरथिमिका टोलटोलमा पोखरीले सुन्दरता थपेको छ भने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बनेको स्थानीयवासी एवं नगरपालिकाका कानून अधिकृत, सूचना अधिकारी सिलवाल बताउनुहुन्छ ।

त्यस्तै चोरको भयले केही वर्ष अगाडि प्रसिद्ध एवं ऐतिहासिक बालकुमारी, कुमारी, लोकेश्वर मन्दिरलगायतलाई वरिपरिबाट फलामको बार लगाएर राखिएकामा नगरपालिकाले त्यस्ता बार हटाएर खुला बनाएको छ । यहाँका जात्रापर्वमा अत्यावश्यक पर्ने धिमे बाजा, धिमे खल, पुचः, जिब्रो छेड्ने जात्रा, रथ पूजालगायतको संरक्षण गरेको छ ।

नगरपालिकाले थिमिको पाँचवटा विहारको पुनःनिर्माण एवं जीर्णोद्धार गरेको छ भने बोडेको पाँचो गणेशमा जिब्रो छेड्ने पाटी पछाडिको जग्गा खरिद गरी पाटीलाई पछाडि सारेर जात्रास्थललाई फराकिलो पार्ने कार्य शुरु गरेको छ । नगदेशको लायकुलाई नेवाः सङ्ग्रहालय बनाइने तयारी छ ।

सम्पदामा मात्रै नभई स्थानीयवासीको खानेपानी समस्या समाधान गर्दै खानेपानीको पाइप विस्तार र पानी वितरण प्रभावकारी बनाउनुका साथै ढल र सडक निर्माणलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

उहाँले नगरपालिकाको फोहरबाट कम्पोष्ट मल उत्पादन शुरु गर्दै जापानी प्रविधिबाट फोहरबाट मल उत्पादन गर्ने पहिलो पालिका बनेर अरुका लागि नमूना प्रस्तुत गरेको छ । यही मलले अचेल राष्ट्रपति भवनदेखि सर्वसाधारणको आँगनसम्ममा अग्र्यानिक तरकारी फल्न थालेको उहाँ बताउनुहुन्छ ।

मध्यपुरथिमिको बासिन्दालाई सहज र सुलभ स्वास्थ्य सेवा दिन नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई १०० शय्यामा विस्तार गर्दै विभिन्न सेवाहरु सञ्चालन गरेको छ । कोरोना महामारीमा आफ्नो ज्यानको समेत पर्वाह नगरी अस्पतालमै अहोरात्र खटिएर शय्या थप्ने, अक्सिजन, आइसीयूको व्यवस्था गर्ने कार्यमा निरन्तर लाग्नुभएका नगरप्रमुख श्रेष्ठ कोरोनाको तेस्रो लहरको पनि आवश्यक तयारी गरिसकेको बताउनुहुन्छ ।

पालिकाहरुको पहिलो अस्पतालको रुपमा रहेको यस अस्पतालमा पहिलोपटक पिसिआर ल्याब स्थापना गर्दै पिसिआर परीक्षण, अक्सिजन प्लान्ट स्थापनासमेत गर्नुभएको छ । बाँकी एक वर्षको कार्यकालमा आफूले शुरु गरेका काम सम्पन्न गर्ने योजनासाथ खटिने उहाँ बताउनुहुन्छ ।

(रासस)

Comments are closed, but trackbacks and pingbacks are open.